close

५०० जनालाई आईटी क्षेत्रमा रोजगार बनाउने बागमती सरकारको तयारी

टेकपाना टेकपाना

बैशाख ३०, २०८२ १५:५३

सांकेतिक तस्बिर सांकेतिक तस्बिर

काठमाडौँ । बागमती प्रदेश सरकारले सूचना प्रविधि क्षेत्रमा पाँच सय जनालाई रोजगारी उपलब्ध गराउने उद्देश्यले प्रक्रिया अघि बढाएको छ । प्रदेशको श्रम, रोजगार तथा यातायात मन्त्रालयले यसका लागि आवश्यक तालिम प्रदान गर्न सहुलियतपूर्ण ऋण उपलब्ध गराउने सम्बन्धमा निक्षेप तथा कर्जा सुरक्षण कोषसँग सम्झौता गरेको छ ।

आइतबार सम्पन्न सम्झौता अनुसार मन्त्रालयले तोकेको सूचना प्रविधि सम्बन्धी तालिम लिन इच्छुक विद्यार्थीहरूलाई निक्षेप तथा कर्जा सुरक्षण कोषको रकमबाट न्यूनतम ब्याजदरमा ऋण उपलब्ध गराइनेछ ।

श्रम मन्त्रालयका सचिव वीरेन्द्रदेव भारतीले यस सम्झौताको मुख्य उद्देश्य ५०० जनालाई सूचना प्रविधि क्षेत्रमा रोजगार बनाउनु रहेको बताए । तालिममा सहभागी हुनका लागि कम्तीमा कक्षा १२ उत्तीर्ण गरेको हुनुपर्नेछ ।

सचिव भारतीले यो पहलले सूचना प्रविधिमा रुचि भए पनि आर्थिक अभावका कारण पढ्न समस्या भएका विद्यार्थीहरूलाई ठूलो सहयोग पुग्ने विश्वास व्यक्त गरे । मन्त्रालयले प्रदान गर्ने यो तालिम कम्तीमा ६ महिनाको हुनेछ ।

हाल तालिम प्रदान गर्ने विश्वविद्यालय तथा पाठ्यक्रम छनोट र तालिमपछि विद्यार्थीहरूलाई रोजगारी दिलाउन रोजगारदाताको खोजी कार्य बाँकी रहेको सचिव भारतीले जानकारी दिए ।

उनले भने, “हामी यही आर्थिक वर्ष २०८१/०८२ भित्र विश्वविद्यालय र रोजगारदातासँग सम्झौता गर्ने गरी काम गरिरहेका छौँ। आगामी आर्थिक वर्षबाट तालिम सञ्चालन गर्ने योजना छ।”

हालको बजारको मागलाई ध्यानमा राखेर सूचना प्रविधि क्षेत्रका विभिन्न विधामा तालिम सञ्चालन गरिने मन्त्रालयले जनाएको छ । सचिव भारतीले पहिलो चरणमा ६ महिनाको तालिम सम्पन्न भएपछि ५०० जनालाई रोजगारी दिने लक्ष्य राखिएको र यो योजना सफल भएमा बजारको आवश्यकता अनुसार अन्य विषयमा पनि युवाहरूलाई रोजगारीमूलक तालिम प्रदान गरिने बताए ।

पछिल्लो अध्यावधिक: बैशाख ३०, २०८२ १५:५३