close

‘खल्ती प्रो’ र ‘खल्ती क्लब’ सार्वजनिक, ग्राहकलाई यस्ता छन् सुविधा

टेकपाना टेकपाना

माघ १९, २०७९ १६:१९

‘खल्ती प्रो’ र ‘खल्ती क्लब’ सार्वजनिक, ग्राहकलाई यस्ता छन् सुविधा

काठमाडौँ । डिजिटल वालेट खल्तीले आफ्ना ग्राहकका लागि प्रिमियम फिचर सार्वजनिक गरेको छ । दैनिक खल्तीबाट कारोबार गर्ने ग्राहकलाई लक्षित गर्दै प्रिमियम फिचर सार्वजनिक गरिएको कम्पनीले जनाएकाे छ ।

'खल्ती मेम्बरशिप' यसअन्तर्गत 'खल्ती प्रो' र 'खल्ती क्लब' गरी दुई प्रिमियम फिचर ल्याइएकाे छ । खल्ती क्लबका लागि वार्षिक ३९९ रुपैयाँ र खल्ती प्रोका लागि वार्षिक ५९९ रुपैयाँ शुल्क ताेकिएकाे छ ।

यी फिचर उपयोग गर्ने प्रयोगकर्ताले खल्तीको नयाँ यूआई (युजर इन्टरफेस) अनुभव गर्न पाउनेछन् । अर्थात् अहिले खल्ती एपभित्र जस्तो डिजाइन देखिन्छ, प्रिमियम ग्राहकले त्योभन्दा भिन्नै डिजाइन अनुभव गर्न पाउनेछन् ।

"यो फिचर ल्याउन हामी विगत आठ महिनादेखि सक्रिय थियौँ । विभिन्न परीक्षण गरेर अन्ततः फेब्रुअरी १ मा सार्वजनिक गरेका हौँ । यसअन्तर्गत प्रयोगकर्ताले थप सुविधा र नयाँ यूआई अनुभव गर्न सक्नुहुनेछ," खल्तीका सीईओ विनय खड्काले भने ।

 

खल्ती क्लबमा के छ फिचर ?

'खल्ती क्लब'को सब्स्क्रिप्सन लिएको खण्डमा प्रयोगकर्ताले फिल्म टिकटमा १० महिनासम्म मासिक १०० रुपैयाँको कुपन पाउनेछन् । त्यस्तै हरेक भुक्तानीमा दुई गुणा बढी खल्ती पोइन्ट्स पाउन सकिनेछ ।

एक पटकका लागि ब्लु बुक नवीकरण गर्दा १०० रुपैयाँ क्याशब्याक पाउन सकिने सुविधा यो मेम्बरशिप प्लानमा रहेको छ । त्यसबाहेक पनि विभिन्न कार्यक्रम वा मर्चेन्टमा खल्तीका एक्सक्लुसिभ फिचर तथा अफर पाउन सकिने कम्पनीले जनाएको छ । 

'खल्ती प्रो' के हो ? 'खल्ती क्लब'भन्दा के कति भिन्न छ ?

'खल्ती प्रो' पनि कम्पनीले उपलब्ध गराएको प्रिमियम फिचरमध्येको एक हो । यसका विशेषता र शुल्क 'खल्ती क्लब'को भन्दा बढी छ । वार्षिक ५९९ रुपैयाँ तिरेको खण्डमा 'खल्ती प्रो'को सदस्य हुन सकिन्छ ।

यस्तो सब्स्क्रिप्सन लिएको खण्डमा प्रयोगकर्ताले आफ्नो मोबाइलमा टपअप गर्दा २ प्रतिशत क्याशब्याक पाउँछन् ।

त्यस्तै सेभ गरिएका बैंकमा निःशुल्क रकम पठाउन सकिने सुविधा यो सेवाअन्तर्गत रहेको छ ।

यो सब्स्क्रिप्सन प्लान लिएको खण्डमा १० महिनासम्म मासिक १०० रुपैयाँ बराबरको 'मुभी कुपन' पाउने कम्पनीले उल्लेख गरेको छ । त्यसबाहेक पनि हरेक भुक्तानीमा दुई गुणा बढी खल्ती पोइन्ट पाउन सकिन्छ ।

त्यसबाहेक खल्तीबाट कुनै पनि बैंकमा मासिक पाँच पटकसम्म निःशुल्क पठाउन सक्नेछन् । यो सब्स्क्रिप्सन प्लान अन्तर्गत ब्लुबुक नवीकरण गर्दा एक पटकका लागि १०० रुपैयाँ क्याशब्याक पाउन सकिनेछ ।

त्यसबाहेक पनि विभिन्न कार्यक्रम वा मर्चेन्टमा खल्तीका एक्सक्लुसिभ फिचर तथा अफर पाउन सकिने कम्पनीले उल्लेख गरेको छ । 

 

खल्ती प्रिमियमको सब्स्क्रिप्सन लिँदा निम्नानुसारका सर्त पालना गरेको हुनुपर्छ

१. यो सेवा खल्तीको केवाईसी भेरिफाइड प्रयोगकर्ताले मात्र लिन पाउनेछन् ।

२. सब्स्क्रिप्सन लिएको एक वर्षसम्म मान्य हुनेछ ।

३. एकपटक सब्स्क्रिप्सन लिइसकेपछि पैसा फिर्ता हुने छैन ।

 

पछिल्लो अध्यावधिक: माघ १९, २०७९ १७:२९