काठमाडौं । कार निर्माता फक्सवागनले आफ्नो सबैभन्दा सानो र सस्तो विद्युतीय कार ल्याउने भएको छ । ‘आईडी वान’ नाम दिइएको यो कार फक्सवागनले उत्पादन गरेको अहिलेसम्मकै सानो र सर्वसुलभ विद्युतीय कार हुने कम्पनीको भनाइ छ ।
२० हजार डलर (२६ लाख रुपैयाँभन्दा बढी) मूल्य पर्ने यो कार सन् २०२७ सम्ममा सार्वजनिक हुने कम्पनीको भनाइ छ । गत बुधबारमात्रै कम्पनीले आफ्नो अहिलेसम्मकै सस्तो विद्युतीय कारको अवधारणा सार्वजनिक गरेको थियो ।
‘आईडी टु’ नाम दिइएको उक्त कारको मूल्य २७ हजार डलर रहने कम्पनीको भनाइ छ । यसको घोषणा गरेको केही दिन पनि नहुँदै कम्पनीले नयाँ कारको विषयमा पनि खुलासा गरेको हो ।
कम्पनीले पछिल्लो समयमा सस्तो कार निर्माणमा काम गरिरहेको छ । यसका लागि एउटा छुट्टै टोली नै बनाएर काम गरेको कम्पनीको भनाइ छ ।
बाहिरिएको जानकारी अनुसार फक्सवागनको ‘आईडी वान’ ३८ किलोवाट प्रति घण्टा र ५८ किलोवाट प्रति घण्टा ब्याट्रीको भेरियन्टमा उपलब्ध हुनेछ । कारको विषयमा अन्य जानकारी भने बाहिरिन बाँकी नै छ ।