close

आईटीका १५० जना विद्यार्थीलाई इन्फोडेभलपर्सको करियर विकास तालिम

टेकपाना टेकपाना

चैत ८, २०७९ १२:३४

आईटीका १५० जना विद्यार्थीलाई इन्फोडेभलपर्सको करियर विकास तालिम

काठमाडौं । फिनटेक कम्पनी इन्फोडेभलपर्सको ‘क्लिक टु करिअर’ कार्यक्रम सम्पन्न भएको छ । कम्पनीले  सूचना प्रविधि विषय पढ्दै गरेका विद्यार्थीहरूको करियर विकास गर्ने उद्देश्यसहित आयोजना गरेको कार्यक्रम मङ्गलबार राजधानीमा सम्पन्न भएको हो । 

बजारमा देखिएको दक्ष आईटी जनशक्तिको अभावलाई पूर्ति गर्न सीपयुक्त आईटी तालिम दिने उद्देश्यले ४५ दिने लामो क्लिक टु करियर  कार्यक्रम आयोजना गरिएको इन्फोडेभलपर्सका सीईओ उमेश रघुवंशीले बताए ।

“आईटी क्षेत्रमा आउन चाहने नयाँ प्रतिभाहरूलाई आईटी उद्योगमा आवश्यक पर्ने सीप प्रशिक्षणका साथै संस्थागत नेटवर्क विकास गर्न यो कार्यक्रम आयोजना गरिएको हो,” उनले भने । 

असोजदेखि सुरु भएको क्लिक टु करियरमा करिब १५० जना विद्यार्थीहरू कार्यक्रममा सहभागी भएका थिए । सहभागीमध्ये ३३ जनाले इन्फोडेभलपर्समै ट्रेनी तथा इन्टर्नशिपको मौका पाउनेछन् । 

कम्पनीका सीओओ तथा कार्यक्रम संयोजक डा. राजिव सुब्बाले उद्योगलाई आवश्यक पर्ने दक्ष जनशक्ति बजारमा पाउनै मुस्किल रहेको बताए । उनले भने, “त्यसकारण आवश्यक परेको बेला दक्ष जनशक्तिको अभाव नहोस् र विद्यार्थीहरूलाई पनि रोजगारी पाउन समस्या नहोस् भन्ने उद्देश्यले यो कार्यक्रम सञ्चालन गरिएको हो ।”

कार्यक्रममा रियाक्ट, भ्यू, एङ्गुलर, नेड, जाभा, एआई, क्यूए, डेटा बेस, एन्ड्रोइड, रियाक्ट नेटिभ, पीएचपी, डटनेट, आईओएस, यूआई/यूएक्स डिजाइन, ग्राफिक डिजाइन, बिजनेस एनालिस्ट र फ्लटर लगायत तालिम प्रदान गरिएको थियो ।

सन् २००२ मा स्थापना भएको इन्फोडेभलपर्स प्रालिले सरकारी, बैंक तथा वित्तीय संस्था, गैरसरकारी संस्था, सहकारी तथा लघुवित्तका लागि विभिन्न प्रोडक्ट र परियोजनामा काम गर्दै आइरहेको छ । कम्पनीमा हाल ३५० जनाभन्दा बढीले प्रत्यक्ष रोजगारीको अवसर पाएका छन् । 

 

पछिल्लो अध्यावधिक: चैत ८, २०७९ १२:३४