close

वनएक्स बेटमार्फत सट्टेबाजी गराउने ६ एजेन्ट पक्राउ, देखियो ९ करोड बढीको कारोबार

टेकपाना टेकपाना

चैत ८, २०७९ १५:१

वनएक्स बेटमार्फत  सट्टेबाजी गराउने ६ एजेन्ट पक्राउ, देखियो ९ करोड बढीको कारोबार

काठमाडौं । वनएक्स बेटमार्फत सट्टेबाजी गराएको आरोपमा ६ जना व्यक्ति पक्राउ पक्राउ परेका छन् । नेपालमा प्रतिबन्धित बेटिङ एप्लिकेसन वनएक्स बेटमार्फत सट्टेबाजी लगाउन रकम संकलन गर्ने गराउने कार्यमा एजेन्टहरू सक्रिय रहेको सूचनाको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको अनुसन्धान टोलीले उनीहरूलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा जुम्ला जिल्ला चन्दननाथ नगरपालिका वडा नं. ६ खलङ्गा घर भई हाल जिल्ला भक्तपुर लोकन्थली बस्ने २३ वर्षीय दिलीप सिंह कठायत, जुम्ला चन्दननाथ नगरपालिका वडा नं. १० गैरीगाउँ घर भई हाल जिल्ला भक्तपुर लोकन्थली बस्ने २३ वर्षीय भुपालराज न्यौपाने, जुम्ला चन्दननाथ नगरपालिका वडा नं. ५ तलिवाडा घर भई हाल जिल्ला भक्तपुर गठ्ठाघर बस्ने १९ वर्षीय नयनराज भण्डारी, सर्लाही बलरा नगरपालिका वडा  नं. ५ घर भई हाल काठमाडौं महानगरपालिका वडा न. ३२ बस्ने २८ वर्षीय वरुणकुमार सिंह, काठमाडाैं महानगरपालिका वडा नं. ३२ बस्ने ३२ वर्षीय वासुदेव पाण्डे र काभ्रेपलाञ्चोक मादनकुडारी गाउँपालिका वडा नं. १ घर भई हाल काठमाडौं बालुवाटार बस्ने २६ वर्षीया शिवानी तामाङ रहेका छन् ।

पक्राउ परेका व्यक्तिहरूबाट विभिन्न टेलिकम सेवाप्रदायकका ३४६ थान सिमकार्ड बरामद गरिएको प्रहरीले जनाएको छ । अनुसन्धानको क्रममा उनीहरूबाट विभिन्न ३५ व्यक्तिको नाममा खोलिएको डिजिटल वालेटहरूमा रु. ४१ करोड १५ लाख ८९ हजार २७६ बराबरको बेटिङ कारोबार देखिएकोमा सो वालेटहरूको समेत कारोबार रोक्का राखी थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ ।

त्यस्तै १५ जना व्यक्तिको ३४ ओटा बैंक खातामार्फत् जम्मा रु. १२ करोड २५ लाख ३५ हजार ९११ बराबरको रकम बेटिङ कारोबार देखिएकोमा सो बैंक खातासमेत रोक्का गरिएकाे पनि प्रहरी जनाएकाे छ ।

प्राप्त भएका विवरण अनुसार पक्राउ परेका व्यक्तिहरुबाट हालसम्म जम्मा रु. ९ करोड ८ लाख १३ हजार १०८ बराबरको रकम बेटिङमार्फत कारोबार भएको देखिएको छ ।  

उनीहरूलाइ मुलुकी अपराध संहिता २०७४ को दफा १२५ को उपदफा ४ बमोजिम सट्टेबाजी गर्न गराउन नहुने कसूर अन्तर्गत थप अनुसन्धान एवं कारबाहीका लागि जिल्ला प्रहरी परिसर भक्तपुर र जिल्ला प्रहरी परिसर टेकु काठमाडौं पठाइएको कार्यालयले जनाएको छ ।

पछिल्लो अध्यावधिक: चैत ८, २०७९ १५:१