close

फोन पुरानो भएपछि तपाईँ के गर्नुहुन्छ ? यसो भन्छ रिपोर्ट

टेकपाना टेकपाना

चैत १०, २०७९ १३:३

फोन पुरानो भएपछि तपाईँ के गर्नुहुन्छ ? यसो भन्छ रिपोर्ट

काठमाडौं । धेरैलाई पुरानोभन्दा नयाँ चिज नै मन पर्छ । नयाँ किताब, नयाँ लुगा, नयाँ घर । ओहो ! हामी नयाँ चिजप्रति कति धेरै आकर्षित हुन्छौं !

तर हामी पुराना मोबाइल फोन के गर्छौं ? तपाईं के गर्नुहुन्छ ? मान्छेले पुराना फोन के गर्छन् भन्ने विषयमा हालै कन्जुमर इन्टेलिजेन्स रिसर्च पार्टनर्स (सीआईआरपी) एलएलसीले एक अध्ययन प्रतिवेदन सार्वजनिक गरेको छ ।

आईफोन र एन्ड्रोइड दुवै प्रयोगकर्ताबीच गरिएको अध्ययनमा ट्रेड इन (Trade-in) सोल्ड (Sold), केप्ट (Kept), फ्रेन्ड/फ्यामिली (Friend/family), लस्ट/स्टोलन/ब्रोकन (Lost/stolen/broken) र रिसाइकल्ड (Recycled) गरी छ ओटा विकल्प राखिएको थियो ।

अध्ययनमा सहभागी कूल आईफोन प्रयोगकर्तामध्ये ४३ प्रतिशतले बिक्रेतालाई आफ्नो पुरानाे फोन दिएर नयाँ आईफोन कम पैसामा (ट्रेड-इन) खरिद गर्ने गरेको बताउँदा एन्ड्रोइड प्रयोग गर्ने १४ प्रतिशतले मात्र त्यसो गर्ने बताएका छन् ।

त्यस्तै सात प्रतिशत आईफोन प्रयोगकर्ता र चार प्रतिशत एन्ड्रोइड प्रयोगकर्ताले पुरानो फोन बिक्री गर्ने उत्तर दिए ।

 

 

सीआईआरपीको रिपोर्टअनुसार पुराना फोन आफूसँगै राख्नेमा एन्ड्रोइड प्रयोगकर्ताहरू बढी देखिएका छन् । सहभागीमध्ये ५४ प्रतिशत एन्ड्रोइड प्रयोगकर्ताले पुराना फोन आफूसँगै राख्ने देखिएको हो । पुराना फोन आफूसँगै राख्नेमा आईफोन प्रयोगकर्ताको संख्या पनि बढी नै देखिन्छ । यसअन्तर्गत २१ प्रतिशत आईफोन प्रयोगकर्ताले पुरानाे फाेन आफूसँगै राख्छन् ।

तथ्याङ्क हेर्दा आफ्नो परिवार वा साथीभाइहरूलाई पुराना फोन दिनमा भने आईफोन प्रयोगकर्ता अगाडि देखिएका छन् । १३ प्रतिशत आईफोन प्रयोगकर्ताले परिवार वा साथीभाइहरूलाई पुराना फोन दिने बताउँदा ११ प्रतिशत एन्ड्रोइड प्रयोगकर्ताले मात्र अरुलाई पुरानो फोन दिने गरेको उत्तर दिए ।

तर फोन हराउने, चोरी हुने वा क्षति पुग्ने जस्ता घटना भने यी दुवै प्रकारका फोनमा उस्तै हुने ‍तथ्याङ्कमा छ । यसको अर्थ आईफोन र एन्ड्रोइड प्रयोग गर्ने बराबर प्रयोगकर्ताले आफ्नो पुरानो फोन हराउने, चोरी हुने वा क्षति पुग्ने बताएका हुन् । 

पुराना फोन पुनःप्रयोग गर्ने अर्थात् रिसाइकल गर्नमा एन्ड्रोइड प्रयोगकर्ता अगाडि भएको तथ्याङ्कले देखाएको छ । सीआईआरपीसँग नौ प्रतिशत एन्ड्रोइड प्रयोगकर्ता र छ प्रतिशत आईफोन प्रयोगकर्ताले पुराना फोन रिसाइकल गर्ने बताएका हुन् ।

पछिल्लो अध्यावधिक: चैत १०, २०७९ १३:३४