close

भारतमा अनलाइन पोर्टल ‘द वायर’ माथि प्रतिबन्ध, संस्थापक सम्पादक भन्छन्- भीपीएनबाट हेर्नुहोस्

टेकपाना टेकपाना

बैशाख २६, २०८२ १७:१

भारतमा अनलाइन पोर्टल ‘द वायर’ माथि प्रतिबन्ध, संस्थापक सम्पादक भन्छन्- भीपीएनबाट हेर्नुहोस्

काठमाडौँ । भारत सरकारले चर्चित अनलाइन मिडिया ‘द वायर’ को वेबसाइटमाथि देशव्यापी प्रतिबन्ध लगाएको छ । शुक्रबारदेखि भारतभरबाट thewire.in वेबसाइटमा पहुँच अवरुद्ध गरिएको हो ।

इन्टरनेट सेवा प्रदायकहरूले भारतको सूचना प्रविधि ऐन, २००० अन्तर्गत सूचना तथा प्रविधि मन्त्रालयको आदेशअनुसार उक्त वेबसाइट ब्लक गरिएको जनाएका छन् । द वायरले सरकारको यो कदमलाई संविधानले प्रत्याभूत गरेको प्रेस स्वतन्त्रताको स्पष्ट उल्लंघन भन्दै सामाजिक सञ्जालमा कडा विरोध जनाएको छ ।

द वायरले वक्तव्यमा लेखेको छ, “भारतका लागि अत्यन्तै संवेदनशील समयमा सत्य, विवेकपूर्ण, निष्पक्ष र तर्कसंगत आवाजहरूलाई दबाउने यस्तो सेन्सरशिपको हामी विरोध गर्छौं ।”

भारतमा वेबसाइट ब्लक गरिएको यो घटना पछिल्ला महिनामा सञ्चारमाध्यममाथिको प्रतिबन्धको तेस्रो उदाहरण हो । यसअघि फेब्रुअरीमा तमिल भाषाको म्यागेजिन विकटन (Vikatan) को वेबसाइट प्रधानमन्त्री मोदीमाथि व्यङ्ग्यात्मक कार्टुन प्रकाशन गरेपछि बिना पूर्वसूचना ब्लक गरिएको थियो । सो कदमविरुद्ध विकटनले मद्रास उच्च अदालतमा मुद्दा हालेपछि प्रतिबन्ध हटाउने आदेश आएको थियो ।

त्यस्तै, केही दिनअघि मात्रै केरलामा आधारित स्वतन्त्र मिडिया संस्था ‘Maktoob Media’ को एक्स अकाउन्ट कानुनी मागका आधारमा भारतमा रोकिन पुगेको थियो । यसको विरोधमा संस्थापक सम्पादक अस्लाह कायालक्कथले यसलाई ‘प्रेस स्वतन्त्रतामाथिको हमला’ भन्दै सामाजिक सञ्जालमा प्रतिक्रिया दिएका थिए ।

द वायरले सरकारको प्रतिबन्धविरुद्ध आवश्यक कानुनी कदम चाल्ने बताएको छ । “हामी सत्य र तथ्यमा आधारित समाचार सम्प्रेषणबाट विचलित हुने छैनौं,” उसले वक्तव्यमा लेखेको छ ।

यसैबिच द वायरका संस्थापक सम्पादक सिद्धार्थ वरदराजनले भीपीएन पहुँच गरी आफ्नो पोर्टल हेर्न सकिने बताएका छन् । उनले एक्स पोस्टमा भनेका छन्, “कम्तीमा दुई ओटा इन्टरनेट सेवा प्रदायकले आफ्ना ग्राहकहरूलाई द वायर वेबसाइट पहुँच गर्न नसकिने कारण सरकारले उक्त साइट ब्लक गर्न आदेश दिएको जनाएका छन् । भारतका केही पाठकहरूले भने ब्लक गर्ने आदेश पूर्ण रूपमा लागू नहुन्जेलसम्म thewire.in सिधै पहुँच गर्न सक्ने सम्भावना छ । द वायर भारतमा भीपीएनमार्फत पूर्ण रूपमा पहुँचयोग्य छ । त्यसैले ‘मोदीको महान पर्खाल’ पारि पनि जीवन सम्भव छ । विदेशमा रहेका पाठकहरूले पनि हामीलाई सजिलै पहुँच गर्न सक्छन् । र, हामी चाँडै नै एउटा मिरर साइट सुरु गर्दैछौं ।”

पछिल्लो अध्यावधिक: बैशाख २६, २०८२ १७:२५