close

फ्रि वाईफाईको सङ्ख्या दोब्बर बनाउँदै वर्ल्डलिङ्क, अनलिमिटेड चाहनेलाई छुट्टै प्याकेज

टेकपाना टेकपाना

चैत १२, २०७९ १४:३१

फ्रि वाईफाईको सङ्ख्या दोब्बर बनाउँदै वर्ल्डलिङ्क, अनलिमिटेड चाहनेलाई छुट्टै प्याकेज

काठमाडौं, २९ फागुन । देशकै ठूलो इन्टरनेट सेवाप्रदायक कम्पनी वर्ल्डलिङ्क कम्युनिकेसन्स लिमिटेडले आफ्नो वाईफाई एक्सप्रेस सेवाका लागि देशभर हटस्पटको सङ्ख्या ३० हजार पुर्‍याउने भएको छ । कम्पनीले सन् २०२४ सम्म ‘माई वर्ल्डलिङ्क वाईफाई’ तथा ‘फ्रि वर्ल्डलिङ्क वाईफाई’ नेटवर्कको पहुँच दोब्बरले विस्तार गर्ने भएको हो ।

कम्पनीले हाल देशका १४ हजार २४५ भन्दा बढी स्थानमा वाईफाई एक्सप्रेस विस्तार गरिसकेको छ । जसका लागि  १८ हजार राउटर डिभाइस जडान गरिएका छन् ।

होटेल, रेस्टुरेन्ट, सरकारी निकाय, वर्कशप, विमानस्थल, अस्पताल, सम्पदा क्षेत्र, बैंक लगायतका स्थानहरूमा कम्पनीले वाईफाई एक्सप्रेस अन्तर्गत ‘फ्रि वाईफाई’ तथा ‘माई वर्ल्डलिङ्क वाईफाई’ उपलब्ध गराएको छ । 

सन् २०२४ भित्र वाईफाई एक्सप्रेस विस्तार गरी कूल ३० हजारभन्दा बढी सार्वजनिक स्थलमा यस्तो सेवा दिने कम्पनीको लक्ष्य छ । यस बाहेक ठूला सहरका व्यस्त सडकमा समेत कम्पनीले मेट्रो वाईफाईको नाममा यो सेवाको पहुँच विस्तार गरिरहेको छ । 

मेट्रो वाईफाई अन्तर्गत औसत १५० मिटरको दूरीमा वाईफाई राउटरहरू राखिएका छन् । यसबाट काठमाडौं, ललितपुर र भक्तपुरका करिब ३०० किमि मुख्य सडक तथा चोकहरूमा वर्ल्डलिङ्कको वाईफाई सेवा विस्तार भइसकेको छ । 

मेट्रो वाईफाईका लागि मात्रै उत्यकाका मुख्य सडक र चोकहरूमा २६०० भन्दा बढी राउटरहरू जडान गरिएको कम्पनीले जनाएको छ । काठमाडौं बाहिर पोखरा, बुटवल, चितवन र धरान जस्ता सहरमा पनि मेट्रो वाईफाई विस्तार गर्ने कार्य भइरहेको छ । 

केही समय कुर्नुपर्ने वा बस्नुपर्ने स्थानमा सञ्चार सम्पर्क, मनोरञ्जन तथा अन्य काममा सहजता ल्याउने उद्देश्यका साथ वर्ल्डलिङ्कले वाईफाई एक्सप्रेस ल्याएको हो । 

 

अनलिमिटेड वाईफाईका लागि नयाँ प्याकेज

वर्ल्डलिङ्कले वाईफाई एक्सप्रेसको ‘फ्रि वाईफाई’ उपलब्ध हटस्पटमा अनलिमिटेड डेटा चलाउन मिल्ने छुट्टै सशुल्क प्याकेज समेत ल्याएको छ । जसमा एक दिनका लागि २० रुपैयाँ, तीन दिनको ४० रुपैयाँ, सात दिनका लागि ८० रुपैयाँ र १५ दिने प्याकेजका लागि १५० रुपैयाँ शुल्क तोकिएको छ । 

यस्तो अनलिमिटेड वाईफाई प्याकेज लिने ग्राहक कम्पनीको हटस्पट कभरेज भएका स्थानमा पुग्दा स्वतः वाईफाई कनेक्ट हुनेछ । यतिसम्म कि काठमाडौं उपत्यकाका मुख्य सडक तथा चोकहरूमा समेत वाईफाई एक्सप्रेस राउटरहरू राखिएकाले यात्राका क्रममा नियमित वाईफाईको लाभ लिन सकिनेछ ।

 

के हो फ्रि वर्ल्डलिङ्क वाईफाई ?

वर्ल्डलिङ्कले देशभरका मुख्य सार्वजनिक स्थलमा उपलब्ध गराइरहेको  निःशुल्क वाईफाई सेवा नै ‘फ्रि वर्ल्डलिङ्क वाईफाई’ हो । कम्पनीले आफ्नो हटस्पट रहेका स्थानमा सबै प्रयोगकर्तालाई दैनिक ५०० एमबीदेखि एक जीबीसम्म निःशुल्क डेटा उपलब्ध गराउँदै आएको छ ।

त्यसपछि कम्पनीको एउटा विज्ञापन भिडिओ हेर्दा थप ५०० एमबी डेटा चलाउन पाइन्छ । हाल दैनिक एक लाख १० हजार जना तथा साप्ताहिक चार लाख ९० हजार जना प्रयोगकर्ताले वर्ल्डलिङ्कको ‘फ्रि वाईफाई’ प्रयोग गर्दै आएका छन् ।

कम्पनीका अनुसार त्यस बाहेक उपत्यकाका मुख्य सडक तथा चोकहरूमा राखिएका मेट्रो वाईफाईमा चलाउन मिल्ने थप १०० एमबी डेटा समेत निःशुल्क पाउन सकिन्छ  । 

 

के हो माई वर्ल्डलिङ्क वाईफाई ?

वर्ल्डलिङ्कको वाईफाई एक्सप्रेस सेवा उपलब्ध भएका स्थानमा ‘फ्रि वर्ल्डलिङ्क वाईफाई’ जस्तै समानान्तर रुपमा अर्को ‘माई वर्ल्डलिङ्क वाईफाई’ नामक एसएसआईडी उपलब्ध गराइको हुन्छ । यो वाईफाई भने कम्पनीको इन्टरनेट सेवा लिएका ग्राहकले मात्रै निःशुल्क तथा एक्सक्लुसिभ रुपमा चलाउन पाउँछन् । 

एक पटक ‘माई वर्ल्डलिङ्क वाईफाई’मा कनेक्ट गरिसकेपछि वर्ल्डलिङ्क एक्सप्रेसका कुनैपनि हटस्पट नजिक पुग्दा आफैँ वाईफाई कनेक्ट हुन्छ । राजधानीका मुख्य सडक तथा चोकहरूमा राखिएका मेट्रो वाईफाई राउटरको वाईफाई समेत यात्राका क्रममा स्वतः कनेक्ट हुन्छ । 

वर्ल्डलिङ्कको वार्षिक इन्टरनेट प्याकेज लिएका ग्राहकले पाँच ओटा डिभाइसमा (मोबाइल तथा ल्यापटप) र त्यस भन्दा कम अवधिको प्याकेज लिएका ग्राहकले दुई ओटा डिभाइसमा यस्तो सुविधा पाउँछन् ।

पछिल्लो अध्यावधिक: चैत १२, २०७९ १४:३७