close

त्रिविको एमआईटीले बजारमा बिक्ने विद्यार्थी उत्पादन गर्न सक्ला ?

टेकपाना टेकपाना

चैत १६, २०७९ ११:५१

त्रिविको एमआईटीले बजारमा बिक्ने विद्यार्थी उत्पादन गर्न सक्ला ?

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले यसै शैक्षिक सत्रदेखि स्नातकोत्तर तहमा सुरु गर्ने 'मास्टर्स इन इन्फर्मेसन टेक्नोलोजी' (एमआईटी) को सम्भावना र चुनौति कस्तो होला ? त्रिविकाे कम्प्युटर विज्ञान तथा सूचना प्रविधि विभाग (सीडीसीएसआईटी) मा सोमबार यही विषयमा छलफल थियो । 

उद्योग र शिक्षण संस्थाबीचको अन्तर कम गर्न एमआईटीले खेल्नसक्ने भूमिकाबारे केन्द्रित उक्त छलफलमा एमआईटीका अध्यापक, आङ्गिक कलेजका प्राचार्य, आईटी उद्योगका प्रतिनिधि र सूचना प्रविधि विभागका कर्मचारीहरूको उपस्थिति थियो । 

कार्यक्रमको सुरुमा सीडीसीएसआईटीका प्रमुख सर्विन सायमीले एमआईटी अध्ययनको अहिलेको आवश्यकता बारे प्रकाश पारे । "अहिलेको आईटी उद्योग परिवर्तनशील छ । उद्योगले सधैं नयाँ सीप र ज्ञान भएको जनशक्ति खोज्छ  । यो आवश्यकता एमआईटीले पूरा गर्ने अपेक्षा लिएका छौं," उनले भने । 

कार्यक्रममा बोल्दै सूचना प्रविधि विभागका महानिर्देशक प्रेमशरण श्रेष्ठले अहिले उद्योगमा दक्ष जनशक्ति नपाउने समस्या रहेको र एमआईटीले त्यो समस्याको समाधान गर्न सक्ने धारणा राखे ।

“उद्योगले कामका लागि जहिले पनि दक्ष जनशक्ति खोज्छ । तर यहाँका उत्तीर्ण अधिकांश विद्यार्थीले त्यो आवश्यकता पूरा गर्न सक्दैनन्,” उनले भने, “यसले गर्दा एमआईटी अध्यापन गराउने कलेज तथा प्राचार्यहरूले यसको समाधानमा ध्यान दिनुपर्छ । पढेको कुरालाई विद्यार्थीले कसरी व्यवहारिक रूपमा लागु गर्न सक्छन् भन्ने कुरा सिकाउन जरुरी छ ।”

आईटी कम्पनी क्लाउड फ्याक्ट्रीका विष्णु सुवेदीले एमआईटीको पाठ्यक्रममा नवीनतम कुराहरू समेटिएको बताए । यद्यपि पाठ्यक्रमको कोरा विषयवस्तु भन्दा शिक्षकहरूले उद्योगमा के भइरहेको छ, कसरी काम हुन्छ, कसरी आफ्नो सीप उद्योगमा बिक्ने बनाउन सकिन्छ जस्ता कुरामा समेत ध्यान दिनुपर्ने उनको भनाई थियो ।

आफ्नो कम्पनीमा पहिलो पटक कामका लागि आउँदा 'टपर' पनि 'जिरो' हुने भएकाले अन्य सीप विकास गराउनुपर्ने उनको जोड थियो । त्यस्तै अर्को आईटी कम्पनी लिपफ्रगका सिनियर प्रोडक्ट म्यानेजर सङ्गीता शर्माले पाठ्यक्रमबारे छलफल गर्नु राम्रो पक्ष भएको बताउँदै स्नातकोत्तर र स्नातक तहमा पढाइ हुने एमआईटीमा भिन्नता हुनुपर्ने बताइन् ।

साथै उनले यो विषय अध्ययन गर्ने विद्यार्थीहरूलाई अन्तर्राष्ट्रिय नेटवर्क बनाउन सहयोग गर्नुपर्ने सुझाव समेत दिइन् । “यसका लागि विदेशी प्राचार्यलाई 'गेस्ट लेक्चर'को रुपमा ल्याउन सकिन्छ,” उनले भनिन् ।

लिपफ्रगकै सिनियर प्रोडक्ट म्यानेजर पुनम श्रेष्ठले थेसिसको समय बढाउनु पर्ने र विद्यार्थीलाई प्रिजेन्टेसन सीप, संचार सीप जस्ता अपरिहार्य सीप सिकाउनु पर्ने सुझाव दिइन् । छलफलमा शिक्षण संस्था र उद्योगको सहकार्यबारे समेत बहस भएको थियो ।

सो छलफलमा विज्ञान तथा विज्ञान तथा प्रविधि अध्ययन संस्थानका डीन प्राडा विनिल अर्याल, सहायक डीन डा खगेश्वर मण्डल, सहायक डीन डा सुरेन्द्र गौतम, प्राडा सुवर्ण शाक्य, दिनेश घिमिरे, डा उपेन्द्र सुवेदी, लगायतका व्यक्तिको उपस्थिति रहेको थियो ।

पछिल्लो अध्यावधिक: चैत १७, २०७९ १०:१०