close

के टिकटक सुरक्षित छ ?

टेकपाना टेकपाना

फागुन ७, २०८० १५:२५

के टिकटक सुरक्षित छ ?

काठमाडौं । एलन मस्कको सामाजिक सञ्जाल एक्सपछि टिकटक सबैभन्दा विवादित मूलधारको सामाजिक सञ्जाल हो । 

केही मानिसले टिकटकले किशोरकिशोरीको छवि बिगारेको आरोप लगाउने गरेका छन् । केहीले भने टिकटकलाई प्रयोगकर्ताले गलत तथा भ्रामक सूचना फैलाउन प्रयोग गरिरहेको बताएका छन् ।

केहीले भने चिनियाँ सरकारले सम्भावित आक्रमणका लागि टिकटक प्रयोग गरिरहेको भन्नेसम्मका आरोप पनि लगाउँछन् । त्यसोभए टिकटक प्रयोग गर्नु कत्तिको सुरक्षित छ त ? 

यसको उत्तर निकै जटिल छ । सामान्य तवरबाट प्रयोगकर्ताको सुरक्षाबारे विश्लेषण गर्ने हो भने डराइहाल्ने अवस्था छैन । दिनहुँ जसो लाखौं प्रयोगकर्ताले सुरक्षित रूपमा टिकटकमा भिडिओ हेरिरहेका हुन्छन् ।

यसबाट मालवेयर फैलिने वा डेटा चोरी हुने भन्ने घटना त्यति देखा परेका छैनन् । प्रयोगकर्ताले झुक्याएर अर्कै लिङ्कमा पुर्‍याए छुट्टै कुरा, नभए त्यही प्लेटफर्मबाट मालवेयर फलाउन गाह्रै छ । 

तर, यो विषयलाई पाखा लगाएर यसको अर्को पक्ष हेर्ने हो भने डरलाग्दो अवस्था रहेको विज्ञहरू बताउँछन् । विशेषगरी कुनै पनि बाधा बिना लगातार चलिरहने छोटा भिडिओ लत बसाउने किसिमका हुने विज्ञहरूको तर्क छ ।

यसरी लत बसाउने किसिमको एल्गोरिदम भएकाले बालबालिकाहरू आफ्नो अध्ययनमा एकाग्र भएर लाग्न नसक्ने र वयस्क व्यक्ति काममा केन्द्रित हुन नसक्ने विज्ञहरूको तर्क छ । 

त्यस्तै कतिपय प्रभावशाली व्यक्तिहरू सामाजिक सञ्जालमा आफ्नो वास्तविक जीवनभन्दा भिन्न जीवनशैली प्रदर्शन गरिरहेका हुन्छन् । उनीहरू आफूलाई आकर्षक, सफल र सुखी देखाउन कुनै कसुर बाँकी छोड्दैनन् भन्ने कुरा थुप्रै घटनाले पुष्टि गरिसकेको छ । 

त्यसो त टिकटकमा भ्रामक तथा गलत सूचना नियमन गर्ने छुट्‍टै मोडरेसन छ । तर, त्यसका बाबजुद पनि टिकटकमा  थुप्रै भ्रामक सूचना फैलिरहेका हुन्छन् ।

टिकटक विशेषगरी ठूलो सङ्ख्यामा व्यक्तिहरू माझ भ्रम छर्नका लागि चुनाव सम्बन्धी गलत दाबी, हत्या हिंसाका घटना, पुराना समाचार, अफवाह फैलाउन प्रयोग भइरहेको देखिन्छ ।

नेपालको सन्दर्भमा भने विभिन्न व्यक्तिहरूको अन्तर्वार्ताको छोटो टुक्रा काटेर भ्रम फैलाउने, पुराना समाचार पुनः पोस्ट गरेर अतिरञ्जित गराउने, कसैको निधनबारे गलत समाचार फैलाउने, अवैज्ञानिक भविष्यवाणी गरेर त्रसित बनाउने जस्ता घटना बढी देखिन्छन् । 

तपाईंले टिकटकमा जस्तो भिडिओ लाइक, कमेन्ट, पोस्ट वा डुएट गर्नुभयो, टिकटकले त्यस्तै भिडिओ फिडमा देखाइदिन्छ । त्यसैले कसैले फिडमा देखिएको भ्रामक समाचारलाई पूरा सुन्यो वा लाइक कमेन्ट गर्‍यो भने उसको फिडमा त्यस्तै किसिमका भिडिओ बढी देखिन्छन् ।

जसले गर्दा अत्यधिक भ्रामक सूचनाको बाढी आउन थाल्छ र व्यक्ति भ्रामक सूचनालाई नै वास्तविकता ठानेर विश्वास गर्छ ।

कतिपय देशले टिकटकको स्वामित्वको विषयलाई लिएर समेत चिन्ता व्यक्त गरेका छन् । टिकटक चीनमा प्रयोग गर्न सकिंदैन । जबकी चिनकै बेइजिङमा रहेको कम्पनी बाइटड्यान्ससँग यसको पूर्ण स्वामित्व छ ।

बाइटड्यान्समा पनि विभिन्न क्षेत्रका मानिसहरूको लगानी छ । चीनमा चिनियाँ कम्युनिस्ट पार्टीको शासन भएकाले उक्त पार्टीले जुनसुकै बेला प्रयोगकर्ताको डेटामा पहुँच पुर्‍याउन सक्ने जोखिम पनि उत्तिकै छ ।

अमेरिका लगायत विश्वका केही देशले यही विषयलाई मध्यनजर गर्दै सरकारी प्रयोजनमा टिकटकमाथि पूर्ण प्रतिबन्ध लगाएका छन् । तर, बाइटड्यान्सले भने त्यसरी चिनियाँ कम्युनिस्ट पार्टीले प्रयोगकर्ताको डेटा लिन नसक्ने दाबी गर्दै आएको छ । 

टिकटक डेटा सङ्कलन गर्ने सन्दर्भमा पनि अगाडि नै छ । विशेषगरी फेसबुक र एक्स जस्ता सामाजिक सञ्जालले तपाईंको व्यक्तिगत जानकारी, सर्च तथा ब्राउजिङ हिस्ट्री, लोकेसन र कन्ट्याक्ट लिस्टको पहुँच पाएका हुन्छन् ।

यी कम्पनीहरूले विज्ञापनका लागि त्यस्ता डेटा सङ्कलन गरिरहेका हुन्छन् । त्यसैले गोपनीयताको लागि तपाईंले फेसबुक प्रयोग गर्न छोड्नुभएको छ भने त्यो सूचीमा टिकटक पनि अटाउनु पर्छ ।

त्यसबाहेक ठगीका घटनाका सन्दर्भमा पनि तपाईंले सामाजिक सञ्जालका विभिन्न पक्षहरू विश्लेषण गर्नुपर्ने हुन्छ । त्यसैले यस्ता सामाजिक सञ्जालका माध्यमबाट हुने विभिन्न किसिमका ठगीका घटनाहरूको बारेमा पनि यहाँ चर्चा गर्दैछौं । 

टिकटक लगायतका सामाजिक सञ्जालमा हुने ठगीका घटनाहरूः 

 

१) नक्कली चिठ्ठा, गिभअवे र अन्य पुरस्कारको प्रलोभन

स्क्यामरले यस्ता प्लेटफर्मको प्रयोग गरी प्रयोगकर्ताहरूलाई विभिन्न पुरस्कार परेको भन्दै गलत दाबी गरेर प्रभावित पार्छन् । त्यसका लागि उनीहरूले कुनै वेबसाइट भिजिट गरेर आफ्ना विवरण राखेर पुरस्कार सङ्कलन गर्न भनिरहेका हुन्छन् ।

यदि तपाईंलाई आफू उक्त प्रतिस्पर्धामा सहभागी भएको सम्झना छैन भने त्यस्ता पुरस्कार वास्ता नगर्नुहोस् । उनीहरूले तपाईंलाई पुरस्कारको जालोमा पारेर तपाईंको डिभाइसमा मालवेयर फैलाउने षड्यन्त्र गरिरहेका हुन सक्छन् ।

त्यसबाहेक पनि तपाईंले लाइक वा कमेन्ट गरेकै भरमा वा तपाईंको फिडमा उनीहरूको भिडिओ वा पोस्ट देखिएकै भरमा तपाईंले पुरस्कार पाएको भन्ने झुटो खबर सुनाउन सक्छन् । तर, कुनै पनि पुरस्कार त्यति सजिलै पाइँदैन भन्नेमा तपाईं विश्वस्त हुनुपर्छ ।

 

२) रोमान्स स्क्याम 

टिकटकमा तपाईंका कन्टेन्ट देखेर वा तपाईंले कुनै भिडिओमा लाइक कमेन्ट गरेको देखेको भरमा फलो गरेर मेसेज गर्न खोज्नेहरू हुन्छन् ।

कतिपयको चाहना तपाईंसँग जोडिने हुन्छ भने केहीले तपाईंबाट कुनै किसिमको फाइदा उठाउन खोजिरहेेका हुन्छन् । विशेषगरी टिकटकबाट जोडिएर विश्वासिलो लाग्ने सम्बन्ध स्थापित गर्ने गर्छन् । त्यसपछि आफूलाई आपत परेको भन्दै रकम माग्न थाल्छन् । 

कसैलाई भौतिक रूपमा प्रत्यक्ष भेट्नुअघि सामाजिक सञ्जालमा जोडिएकै भरमा भावनात्मक सम्बन्ध नगाँसेकै राम्रो हुन्छ । कम्तीमा भेट्नुअघि पनि धेरै पटक भिडिओ वा अडिओ कल गरेर व्यक्तिको आनीबानी र अन्य पक्ष बारे बुझ्नुहोस् ।

यदि कसैले आकर्षक तस्विर राखेर तपाईंलाई लोभ्याउन खोजिरहेको छ भने त्यस्ता फोटो रिभर्स इमेज सर्च गरेर खोज्नुहोस् । किनभने स्क्यामरले सर्वसाधारणलाई झुक्याउनका लागि सामाजिक सञ्जालबाट अरू कसैको फोटो डाउनलोड गरेर प्रोफाइल वा कभर फोटोको रूपमा राखका हुन्छन् ।

 

३) सस्तोमा सामान उपलब्ध गराउने भन्दै ठगी 

टिकटक लगायतका सामाजिक सञ्जालमा विज्ञापन गरेर आफ्ना सामान तथा सेवा बिक्री गर्न खोज्ने धेरै हुन्छन् । विशेषगरी रचनात्मक ढङ्गले आफूले प्रदान गर्ने सेवा वा सामग्रीको विज्ञापन गर्न शुल्क तिरिरहनु पनि पर्दैन ।

उनीहरूले त्यसरी विज्ञापन गर्दा राम्रै अर्डर पनि आइरहेको हुन्छ । यसले गर्दा उनीहरू सस्तोमा आफ्नो सेवा उपलब्ध गराउन सक्छन् । तर, स्क्यामरले यही कुराको फाइदा उठाउँदै सस्तोमा समान बिक्रीका लागि राख्छन् ।

अनि एड्भान्समा रकम वा फुल पेमेन्ट माग्छन् र गायब हुन्छन् । त्यसैले यस्ता किसिमका ठगीका घटनाबाट पनि तपाईं जोगिनु पर्छ । 

 

४) लगानीका नाममा ठगी 

सर्वसाधारणलाई लगानी गर्न लगाएर ठगी गर्नेहरू पनि सामाजिक सञ्जालमा सक्रिय हुन्छन् । विशेषगरी स्टक, क्रिप्टोकरेन्सी, पिरामिड स्किम अथवा मल्टी लेभल मार्केटिङको स्किममा ठगी गर्ने घटना थुप्रै देखिएका छन् ।

अनलाइनमा लगानी गर्ने नाममा नेपाली कसरी ठगिन्छन् भन्ने अध्ययन गर्न यहाँ क्लिक गर्न सक्नुहुन्छ । अवैध मल्टिलेभल मार्केटिङ तथा लगानी गर्न लगाउने प्लेटफर्म फिफिया पनि टिकटकबाटै उदाएको थियो ।

मोबाइलबाटै आम्दानी गर्न सकिने वा घरमै बसिबसि महिनाको लाखौं कमाउन सकिने भन्दै विभिन्न प्लेटफर्ममा लगानी गर्न उकास्नेहरू पनि यस्ता प्लेटफर्ममा सक्रिय छन् । 

 

५) नक्कली अकाउन्ट

सामाजिक सञ्जालका प्लेटफर्महरूमा नक्कली अकाउन्ट बनाउने विषय नयाँ होइन । जसले जोसुकैको अकाउन्ट बनाउन सक्ने भएकाले सामाजिक सञ्जालमा नक्कली अकाउन्टको बिगबिगी नै छ ।

हुन त कतिपय प्लेटफर्मले चर्चित व्यक्तिको नाम वा फोटो राखेर नक्कली अकाउन्ट बनाउन खोजेको छ भने त्यस्तो अकाउन्टमाथि प्रतिबन्ध लगाइरहेका हुन्छन् । तर, पछिल्लो समय बजारमा शुल्क तिरेर पनि भेरिफाइड ब्याच लिन सकिन्छ ।

यस्तोमा प्रयोगकर्ताले नक्कली वा सक्कली अकाउन्ट छुट्याउन सक्दैनन् । जसले गर्दा उनीहरूलाई विभिन्न स्क्याम लिङ्कमा पुर्‍याएर स्क्यामरले ठगी गर्न सक्छन् । 

 

के टिकटक बालबालिकाका लागि सुरक्षित छ ?

हुन त बालबालिका टिकटकमा सक्रिय नभएकै राम्रो हुने विज्ञहरूको सुझाव छ । टिकटकले पनि १८ वर्ष मुनिका बालबालिकालाई दैनिक ६० मिनेटसम्म मात्र भिडिओ हेर्ने सुविधा दिएको हुन्छ ।

उक्त समय बढाउनका लागि उनीहरूले पासकोड राख्नुपर्ने हुन्छ । तर, उमेर प्रमाणीकरणलाई टिकटकले त्यति गम्भीर रूपमा लिएको देखिंदैन । किनभने यसमा उमेर पुष्टि गर्नका लागि कुनै कागजात दिइरहनु पर्दैन ।

अकाउन्ट बनाउनका लागि आफू १८ वर्षभन्दा बढी उमेरको हो भनेर जोसुकैले १८ प्लसको बटन ट्याप गर्न सक्छन् । यसले गर्दा उनीहरू रचनात्मक काम, क्रियाकलाप वा पढाइमा भन्दा पनि भिडिओ वा फोटो हेर्नमै व्यस्त हुन सक्छन् ।

आधिकारिक रूपमा टिकटक प्रयोग गर्न प्रयोगकर्ताको न्यूनतम उमेर १३ वर्षभन्दा बढी हुनुपर्छ । तपाईंले फेमिली पियरिङ वा रेस्ट्रिक्टेड मोड प्रयोग गरेर टिकटकमा आफ्ना बालबालिकाको गतिविधि नियाल्न सक्नुहुन्छ । 

 

टिकटकले कस्ता डेटा सङ्कलन गर्छ ?

टिकटकका अनुसार उसको प्लेटफर्मले तल उल्लेख गरिएका डेटाहरू सङ्कलन गर्छ ।

  • प्रोफाइल जानकारी जस्तै जन्म मिति, ईमेल एड्रेस, फोन नम्बर वा तपाईंले शेयर गर्ने अन्य जानकारी ।
  • तपाईंले पोस्ट वा अपलोड गरेका सबै कन्टेन्ट जस्तै अडिओ, फोटो, भिडिओ वा कमेन्ट ।
  • क्लिपबोर्डमा भएका कन्टेन्ट, फोन कन्ट्याक्ट, सामाजिक सञ्जालका कन्ट्याक्टहरू । 
  • तपाईंले टिकटकको प्रणालीमार्फत खरिद गरेको सबै सामग्रीको विवरण । 
  • तपाईंले आफ्नो अकाउन्ट भेरिफाई गर्नुपर्ने छ भने दिइएको परिचयपत्र वा अन्य विवरण । 
  • टिकटकबाट गरिएका सबै मेसेज, त्यसको मेटाडेटामा पहुँच । 
  • तपाईंको रुचिको विषय, तपाईंले ब्राउज गर्ने जानकारी, भिडिओ हिस्ट्री ।
  • तपाईंको ब्राउजरको आईपी एड्रेश, सिम प्रदायकको जानकारी, डिभाइसको मोडेल, स्क्रिन रेजोलुसन, अपरेटिङ सिस्टम र ब्याट्रीको अवस्था । ​
  • आईपी एड्रेस, सिम कार्ड वा प्रयोगकर्ताले राखेको कन्टेन्टको आधारमा प्रयोगकर्ताको वास्तविक लोकेसनको जानकारी । 
  • तपाईं टिकटक कुन समयमा कसरी प्रयोग गर्नुहुन्छ भन्ने विषयको जानकारीका लागि कुकिज (Cookies) सङ्कलन । 
  • विशेषगरी फेसबुक वा गुगल अकाउन्टबाट टिकटक खोलिएको छ भने ती अकाउन्टबाट उपलब्ध जानकारी ।

 

पछिल्लो अध्यावधिक: फागुन ७, २०८० १५:२५