close

एआईले निम्त्याउने विनाश रोक्न अमेरिकामा नयाँ कानुन, भौतिक-आर्थिक क्षति भए ठुलो कारबाही हुने

टेकपाना टेकपाना

जेठ ३१, २०८२ २०:१८

एआईले निम्त्याउने विनाश रोक्न अमेरिकामा नयाँ कानुन, भौतिक-आर्थिक क्षति भए ठुलो कारबाही हुने

काठमाडौँ । अमेरिकाको न्युयोर्क राज्यमा एआई प्रविधिबाट उत्पन्न हुन सक्ने ठुला दुर्घटना र सामाजिक जोखिम नियन्त्रण गर्न नयाँ विधेयक रेइज एक्ट (RAISE Act) पारित गरिएको छ । बिहीबार पारित भएको यो विधेयकले ओपनएआई, गुगल, एन्थ्रोपिक जस्ता ठुला प्रविधि कम्पनीहरूले विकास गरिरहेका फ्रन्टियर एआई मोडेलहरूमाथि कडाइका साथ निगरानी र पारदर्शिता लागु गर्नेछ ।

यो ऐन अनुसार, ती कम्पनीहरूले आफ्ना फ्रन्टियर एआई मोडेलहरूबारे विस्तृत सुरक्षा र जोखिम मूल्यांकन प्रतिवेदन सार्वजनिक गर्नुपर्नेछ । यदि एआई प्रविधिको कारण १०० भन्दा बढी मानिसको मृत्यु वा घाइते हुने वा १ अर्ब डलरभन्दा बढी आर्थिक क्षति हुने अवस्था सिर्जना भयो भने सम्बन्धित कम्पनीलाई कानुनी कारबाही गर्न सकिनेछ ।

नोबेल पुरस्कार विजेता जेफ्री हिन्टन र एआई अनुसन्धानका अग्रगामी योशुआ बेङ्गियो लगायतका प्रतिष्ठित व्यक्तिहरूले रेइज एक्टलाई समर्थन गरेका छन् । यस्तो कानुनी संरचनाले एआई प्रविधिको विकासमा आवश्यक सतर्कता र उत्तरदायित्व सुनिश्चित गर्ने उनीहरूको विश्वास छ । 

विधेयक अब न्यूयोर्ककी गभर्नर केथी होचुलको अनुमोदनका लागि पठाइएको छ । गभर्नरले यसमा हस्ताक्षर गरेमा यो कानुन कार्यान्वयनमा आउनेछ । विधेयक लागु भएमा अमेरिकामै फ्रन्टियर एआई नियमन गर्ने पहिलो कानुनी कदम हुनेछ । यसले क्यालिफोर्निया (ओपनएआई र गुगल) देखि चीन (डिपसिक-अलिबाबा) सम्मका कम्पनीलाई समेट्ने बताइएको छ ।

विशेषज्ञहरूका अनुसार प्रविधिको तीव्र विकाससँगै एआईबाट आउने सम्भावित खतरा नियन्त्रण गर्न यो विधेयक महत्त्वपूर्ण आधार बन्नेछ । तर प्रविधि कम्पनीहरूले भने यसमा केही असहमतिहरू जनाएका छन्, जसमा नवप्रवर्तनको स्वतन्त्रता सीमित हुन सक्ने चिन्ता प्रमुख छ । विशेगगरी सिलिकन भ्यालीबाट यो विधेयकको कडा विरोध भइरहेको छ ।

आन्द्रेसेन होरोविट्जका जनरल पार्टनर अन्जनी मिधाले यसलाई मूर्ख विधेयक भन्दै यसले अमेरिकालाई हानि पुर्‍याउने दाबी गरेका छन् । ​एन्थ्रोपिकका सह-संस्थापक ज्याक क्लार्कले पनि विधेयकको व्यापकतामा केही गुनासो व्यक्त गर्दै यसले साना कम्पनीहरू लाई जोखिममा पार्न सक्ने बताएका छन् ।

जे होस्, यो विधेयकले एआईको विकासमा सुरक्षा र पारदर्शिताको आवश्यकतामाथि राष्ट्रिय बहसलाई थप बल पुर्‍याउने निश्चित छ । टेकक्रन्चका अनुसार यो विधेयक ती कम्पनीहरूमा लागु हुनेछ, जसका एआई मोडेलहरू १० करोड डलरभन्दा बढीको कम्प्युटिङ स्रोतहरू प्रयोग गरेर प्रशिक्षित गरिएका छन् । 

पछिल्लो अध्यावधिक: जेठ ३१, २०८२ २०:३३