close

मिस्टर बिस्टले मर्मत गरे नेपाली अस्पताल, १६ हजार स्थानीय लाभान्वित

टेकपाना टेकपाना

बैशाख ३, २०८१ ८:२६

मिस्टर बिस्टले मर्मत गरे नेपाली अस्पताल, १६ हजार स्थानीय लाभान्वित

काठमाडौं । युट्युबमा सबैभन्दा बढी सब्स्क्राइबर भएका मिस्टर बिस्टले एक नेपाली अस्पताल मर्मत गरेका छन् । परोपकारी कामका लागि डिसेम्बरमा नेपाल आएको बिस्टकाे टिमले हालै एक भिडिओ सार्वजनिक गर्दै नेपालमा गरेको काम देखाएको हाे । 

भिडिओमा सबैभन्दा पहिले सिन्धुलीकाे फिक्कल गाउँपालिका* जाडो र औषधाेपचारका कारण आफ्नो बच्चा गुमाएकी निराको कथा देखाइएको छ । सो ठाउँमा निर्माणाधीन अस्पताल र त्यहाँका केही स्वास्थ्यकर्मी देखाइएको छ । भौगोलिक विकटताका कारण त्यस क्षेत्रमा विद्युत पुग्न सकेको हुँदैन । जसकारण स्थानीयहरू सामान्य औषधी-उपचारबाटै वञ्चित भएका हुन्छन् । 

बिस्टको टिम र 'गिभ पावर' नामको संस्थाको सहयोगमा त्यहाँ अस्पताल मर्मतको काम अगाडि बढाइन्छ । त्यहाँ विगत केही वर्षदेखि काम गर्दै आइरहेका बायोमेडिकल इन्जिनियर सञ्जयबहादुर सिंह ठकुरीले त्यस ठाउँको अवस्थाबारे बिस्टको टिमलाई जानकारी दिन्छन् । 

सञ्जय कामको सिलसिलामा केही वर्षअघि अपर डोल्पा पुग्दा त्यहाँ बालबालिकालाई आगोको छेउमा बास्केट राखेर न्यानो बनाउने गरेको देख्छन् । त्यसपछि राष्ट्रिय आविष्कार केन्द्रसँग सहकार्य गरेर बेबी वार्मर डिभाइस ‘न्यानो नानी’ तयार पार्छन् । उनै सञ्जयसँग बिस्टको टिमले अस्पताल मर्मत सम्भारको काम अगाडि बढाउँछ ।

यदि सरकारकै भर पर्ने हो भने सन् २०३० सम्म पनि त्यस अस्पतालमा विद्युत नपुग्ने बिस्टले भिडिओमा उल्लेख गरेका छन् । त्यसैले पनि त्यहाँ आधुनिक औषधी उपचार उपलब्ध गराउन विद्युत अत्यावश्यक भएको टिमले निष्कर्ष निकाल्छ र, ‍‘बर्थिङ फ्यासिलिटी’ सहितको अस्पताल बनाउन काम सुरु गर्छ ।

भिडिओमा मिस्टर बिस्टको टिमका ड्यारेन मार्गोलिसले नेपालको हिमालयमा पाइने लोकल चियाको खुलेरै प्रशंसा गरेका छन् । त्यहाँका स्थानीयले गरेको सम्मान, स्वागत र बानी व्यवहारले आफू प्रभावित भएको उनको भनाइ छ । त्यही क्रममा बिस्टको टिमका डायन बिरामी हुन्छन् । बिस्ट भन्छन्, “यस्तो ग्रामीण ठाउँमा बिरामी पर्दा उपचार गर्न कति गाह्रो रहेछ भन्ने देखियो ।”

बिरामी परेका डायन अगाडि अस्पतालको अवस्था देखाउँदै भन्छन्, “यहाँ सबै कुरा बन्द रहेको अवस्थामा छन् । यसको कठोर सत्य यो हो कि यदि तपाईं गम्भीर बिरामी पर्नुभयो भने नजिकैको अर्को सुविधा भएको अस्पतालमा जान पनि तपाईंलाई सात घण्टा जति हिंड्नु पर्छ ।”

उक्त अस्पतालमा विद्युत अभाव हुँदा डायनलाई नर्सले केही आधारभूत औषधी उपचार मात्र गर्न पाउँछिन् । त्यसपछि भिडिओमा बिस्टको टिमले गरेका कामहरू देखाइन्छ । सबै कुराहरू तयार पारिसकेपछि सोलर प्यानल बिछ्याइन्छ ।

सो गाउँमा बेबी वार्मर डिभाइसको आवश्यकता महसुस गरेर मिस्टर बिस्टको टिमले १० ओटा डिभाइस उपलब्ध गराएको छ । ड्यारेनले सञ्जयसँग कुरा गर्दै ती डिभाइस अन्य सामुदायिक अस्पतालमा राख्ने बताएका छन् । 

सबै सोलर प्यानल बिछ्यासइकेपछि टिमले बेवारिस रहेको अस्पताललाई सुविधासम्म्पन्न अस्पतालमा परिणत गरेको दृश्य देखाइन्छ । त्यस अस्पतालले उक्त क्षेत्रका १६ हजार भन्दा बढी मानिसहरू लाभान्वित हुने बिस्टले उल्लेख गरेका छन् ।

गाउँको अस्पतालमा पहिलो पटक बत्ति बलेको हेर्न सबै गाउँलेहरू जम्मा हुन्छन् । त्यसपछि सम्पूर्ण लाइट बल्दा स्थानीयहरूले खुसीको अनुभव गरेको देखाइएको छ ।

बिस्टको परोपकारी टिमले विश्वका विभिन्न ग्रामीण, अविकसित भागमा स्वास्थ्य, शिक्षा उपलब्ध गराउन विभिन्न संस्थासँग सहकार्य गरिरहेको छ । यसपटक भने उक्त टिमले नेपालको ग्रामीण गाउँमा सुविधासम्पन्न अस्पतालका लागि काम गरेको छ ।​

 

(*समाचारमा सिन्धुलीकाे फिक्कल गाउँपालिका हुनुपर्नेमा अन्यथा भएकाले सच्याइएको छ । -सं)

पछिल्लो अध्यावधिक: बैशाख ३, २०८१ ९:५८