काठमाडौं । नेपाल टेलिकमले फाइभजी नेटवर्क परीक्षण थालेको डेढ वर्ष बितिसक्दा पनि नतिजा शून्य देखिएको छ । मोबाइल सेवाको पछिल्लो पुस्ताका रूपमा विभिन्न देशमा फाइभजी सेवा कार्यान्वयनमा आउँदा नेपालमा भने नाममात्रको परीक्षण भएको छ ।
टेलिकमले आफ्नो १९औँ वार्षिकोत्सवको अवसर पारी २०७९ माघदेखि काठमाडौंमा फाइभजीको आन्तरिक परीक्षण थालेको थियो । यो अवधिमा बबरमहल, सुन्धारा, पोखरा र वीरगन्जमा रहेका टेलिकमका कार्यालयमा फाइभजी उपकरणहरू जडान गरी आन्तरिक परीक्षण गरिएको छ । तर परीक्षणका उपलब्धिलाई लिएर स्वयं टेलिकम नै सन्तुष्ट छैन ।
एक वर्षकालका लागि परीक्षणको अनुमति पाएको टेलिकमले डेढ वर्ष बित्दासम्म समेत फाइभजी नेटवर्कको गति र विश्वसनीयताका सन्दर्भमा मुख खोलेकाे छैन ।
परीक्षणका लागि सुरुमा तम्सिएको टेलिकम अहिले उपकरण आयात तथा विभिन्न प्राविधिक चुनाैतीहरूका कारण परियोजना व्यवस्थापन गर्न असफल भएको छ ।
टेलिकमका प्रवक्ता किशोरकुमार भट्टले आफूहरू फाइभजीमा लगानी गर्न सक्षम भएपनि परियोजना अगाडि बढ्न नसकेको स्वीकार गरे । चार स्थानमा फाइभी सेवाको परीक्षण गरेको र देशका अन्य स्थानमा पनि परीक्षण गर्न अध्ययन भइरहेको उनले बताए ।
नेपालमा फाइभजी कनेक्टिभिटीका लागि इकोसिस्टम नै तयार नभएको बताउँदै उनले यसबारे पर्याप्त अध्ययन हुनुपर्नेमा जोड दिए । प्रारम्भमा प्रशस्त फाइभजी ह्यान्डसेट नहुँदा परीक्षण नै प्रभावकारी नदेखिएको उनले सुनाए । साथै थप स्थानमा परीक्षण कार्य अगाडि बढाउन नियामकले उपकरण आयातका लागि स्वीकृति दिन ढिलाइ गरिरहेको उनले गुनासो गरे ।
नियामक नेपाल दूरसञ्चार प्राधिकरणले २०७८ साउनमा सर्वसाधारणले समेत निःशुल्क चलाउन पाउने गरी फाइभजी परीक्षण गर्न नेपाल टेलिकमलाई २६०० मेगाहर्ज ब्याण्ड अन्तर्गत ६० मेगाहर्ज फ्रिक्वेन्सी निःशुल्क उपलब्ध गराएको निर्णय गरेको थियो । तर टेलिकमले अहिलेसम्म सार्वजनिक परीक्षण नगरी सीमित बीटीएसबाट आन्तरिक किसिमको प्राविधिक परीक्षण गर्दै आएको छ, जसले गर्दा व्यावसायिक फाइभजी नेटवर्क विस्तारमा स्पष्ट खाका देखिएको छैन ।