close

फेसबुक डिलिट गर्ने कि डिएक्टिभेट ?

टेकपाना टेकपाना

मंसिर १०, २०८१ १३:५२

फेसबुक डिलिट गर्ने कि डिएक्टिभेट ?

काठमाडौं । यदि तपाईँले फेसबुकबाट टाढिने सोच बनाउनु भएको छ भने अकाउन्ट डिलिट गर्नु र डिएक्टिभेट गर्नु बिचको भिन्नता थाहा पाउन आवश्यक छ । यी दुवै विकल्पले तपाईँलाई फेसबुकबाट टाढा रहन मद्दत गर्छन् । 

तर, कुन विकल्प छान्ने भन्ने कुरा चाहिँ तपाईँको आवश्यकतामा निर्भर गर्छ । त्यसैले आज हामी तपाईँलाई फेसबुक अकाउन्ट डिएक्टिभेट र डिलिट गर्नु बीचको भिन्नताबारे बताउँदै छौँ । 

अकाउन्ट डिलिट र अकाउन्ट डिएक्टिभेटबिचका प्रमुख भिन्नता

अकाउन्ट डिएक्टिभेट वा डिलिट गरिसकेपछि तपाईँको डेटा के हुन्छ र तपाईँको निर्णय उल्ट्याउन सकिन्छ कि सकिँदैन भन्ने कुरामा यी दुई शब्दावलीको अर्थ र भिन्नता जोडिएको छ । यी दुई शब्दावलीबारे तपाईँले जान्नैपर्ने प्रमुख विषयहरू यहाँ उल्लेख गरिएको छ ।

अकाउन्टको पहुँच

अकाउन्ट डिएक्टिभेट भनेको अस्थायी रूपमा अकाउन्ट निष्क्रिय बनाउनु हो । तपाईँले फेसबुक अकाउन्ट आज डिएक्टिभेट गर्नुभयो र त्यसको एक वर्षपछि अकाउन्ट प्रयोग गर्न चाहनु भयो भने त्यो सुविधा तपाईँसँग उपलब्ध हुन्छ । 

सो अकाउन्टमा भएका तपाईँका डेटा पनि त्यसैमा सुरक्षित हुन्छन् । एक पटक अकाउन्ट डिएक्टिभेट गरिसकेपछि तपाईँले चाहेको जुनसुकै बेला पहिले जस्तै अकाउन्ट पुनः एक्टिभ बनाउन सक्नुहुन्छ । 

तर उता अकाउन्ट डिलिट गर्नु भनेको चाहिँ स्थायी निर्णय लिनु हो । एक पटक अकाउन्ट डिलिट गर्नुभयो भने तपाईँको डेटा र अकाउन्ट सधैँका लागि हराउँछ । 

खासगरी फेसबुकमा अपलोड गरेका फोटो, पोस्ट, प्रोफाइल र मेसेज तथा तपाईँले एड गरेका व्यक्ति सबै गायब हुन्छन् । नआत्तिनुहोस् एक पटक डिलिट गरिसकेपछि फेसबुकले तपाईँलाई निर्णय उल्ट्याउन ३० दिनको समय दिन्छ । 

अर्थात् डिएक्टिभेट गर्दा तपाईँले एक वर्षपछि अकाउन्ट खोल्छु भन्नु भयो भने पनि पाउनु हुन्छ । तर, डिलिट गरिसकेपछि ३० दिनभित्र अकाउन्ट सक्रिय बनाउनु भयो भने तपाईँको फेसबुक अकाउन्ट र त्यसमा रहेको डेटा जोगिन्छ । नत्र सधैँका लागि अकाउन्ट डिलिट हुन्छ । ३० दिनपछि यस्ता डेटा चाहेर पनि फिर्ता ल्याउन सकिँदैन । 

मेसेन्जरको पहुँच 

फेसबुकबाट टाढिने योजना बनाउनुका पछाडि विविध कारण हुन्छन् । कसैलाई फेसबुकमा आउने कन्टेन्ट मन नपर्न सक्छन् । कोही अनावश्यक रूपमा त्यसमा समय बर्बाद भएको ठानेर टाढिन खोजेका हुन्छन् । फेसबुक प्रयोग गर्ने मन छैन, तर त्यसमा जोडिएका व्यक्तिसँगको सामीप्ययता पनि घटाउने चाह छैन भने के गर्ने ? 

यस्तोमा तपाईँ फेसबुक डिएक्टिभेट गर्न सक्नुहुन्छ । फेसबुक डिएक्टिभेट गर्दा मेसेञ्जर भने छुट्‍टै रूपमा प्रयोग गर्न पाउनुहुन्छ । तर, अकाउन्ट डिलिट गरिसकेपछि भने मेसेञ्जरको पहुँच पाइँदैन । 

डेटाको पहुँच

तपाईँले अकाउन्ट डिलिट वा डिएक्टिभेट जे गरे पनि फेसबुकले तपाईँको अकाउन्ट लुकाइदिन्छ । यसो गर्दा खासगरी तपाईँले शेयर गरेका पोस्ट, फोटो र कन्टेन्ट अन्य प्रयोगकर्ताले देख्न पाउँदैनन् । अर्थात् तपाईँसँग अरूले अन्तर्क्रिया गर्न पनि पाउँदैनन् । 

यद्यपि तपाईँले फेसबुक अकाउन्ट डिएक्टिभेट गर्नुभयो र पुनः एक्टिभ गर्नुभयो भने फेसबुकले तपाईँको प्रोफाइल देखाउँछ । तपाईँले पहिले शेयर गरेका कन्टेन्ट पूर्ववत् रूपमा देखिन थाल्छन् । 

तपाईँले पहिलेकै अवस्थामा फर्किन चाहनु भयो भने फेसबुकले तपाईँको डेटा र कन्टेन्ट जस्ताको तस्तै प्लेटफर्ममा उपलब्ध गराउँछ । तर, तपाईँले अकाउन्ट डिलिट गर्नुभयो भने सम्झिनुस्, तपाईँको अकाउन्ट सधैँका लागि हरायो । 

क्षणभरमै सबै डेटा हराउँछन् भन्ने चाहिँ हुँदैन । माथि भनिए जस्तै फेसबुकले यसका लागि ३० दिनको समय दिन्छ । यसलाई ग्रेस पिरियड पनि भनिन्छ । पूर्ण रूपमा तपाईँको अकाउन्ट डिलिट हुन भने ९० दिनसम्म लाग्छ । 

यो अवधिमा तपाईँका सबै डेटा सधैँका लागि गायब हुन्छन् । तर, अकाउन्ट डिलिट गरेको ३० दिनपछि भने तपाईँले चाहेर पनि डेटा आफैँ रिकभर गर्न सक्नुहुन्न । तपाईँको डेटा कसैले पहुँच नपाउने गरी फेसबुकले राख्छ । र, ९० दिनपछि सधैँका लागि हटाउँछ । 

त्यसो भए अकाउन्ट डिलिट गर्ने कि डिएक्टिभेट ?

यति भएपछि फेसबुक डिलिट गर्दा के हुन्छ अनि डिएक्टिभेट गर्दा के हुन्छ भन्ने कुरा बुझ्नु भयो होला । अब तपाईँका लागि कुन विकल्प उपयुक्त हुन्छ भन्ने विषयमा चर्चा गरौँ । 

तपाईँ क्षणिक रूपमा फेसबुकबाट टाढिँदै हुनुहुन्छ भने तपाईँका लागि डिएक्टिभेटको विकल्प उपयुक्त विकल्प हो । फेसबुक किन छोड्ने भन्ने आफ्नै निर्णयमा तपाईँ विश्वस्त हुनुहुन्न, तर तत्कालका लागि टाढिन चाहनु हुन्छ भने तपाईँले डिएक्टिभेट गर्दा उपयुक्त हुन्छ । 

तपाईँ फेसबुक प्रयोग गर्न चाहनु हुन्न, तर मेसेञ्जरबाट साथीहरूसँग भने सम्पर्कमा रही रहन चाहनु हुन्छ भने पनि यो तपाईँका लागि उचित विकल्प हो । यदि फेसबुकमा एड भएका व्यक्तिहरूसँगको सम्बन्ध पनि खासै काम लाग्ने छैन अनि त्यसमा समय बेर्थ गइरहेको जस्तो लागेको छ भने तपाईँले अकाउन्ट डिलिट गर्न सक्नुहुन्छ ।

फेसबुक अकाउन्ट डिलिट गर्दा तपाईँले खोलेका पेज, ग्रुप सबै गायब हुन्छन् । यदि त्यसको बिजनेस वा एड्मिन एक्सेस अरू कसैलाई दिनु भएको छ भने ती पेज र ग्रुप सुरक्षित रहन्छन् । 

एक पटक डिलिट गरिसकेपछि तपाईँको निर्णय उल्ट्याउन ३० दिनको समय हुन्छ । ३० दिनभित्र ‘क्यान्सिल डिलिसन’ को अप्सनमा क्लिक गरेर अकाउन्ट फिर्ता ल्याउन सक्नुहुन्छ । 

तपाईँ के चाहनुहुन्छ भन्नेमा अकाउन्ट डिएक्टिभेट गर्ने कि डिलिट गर्ने भन्ने निर्णय निर्भर हुन्छ । यदि तपाईँ किन फेसबुक छोड्ने भन्ने विषयमा विश्वस्त हुनुहुन्न भने तत्कालका लागि डिएक्टिभेट गर्नुहोस् । 

अनि के गर्दा उपयुक्त हुन्छ, पर्याप्त समय लिएर त्यही अनुरूप निर्णय लिनुहोस् । तर, भयो, अब त्यो अकाउन्ट कहिल्यै नचलाउने भन्ने निधो गर्नु भयो भने तपाईँले निर्धक्क डिलिट गर्न सक्नुहुन्छ । 

डिएक्टिभेट गरिसकेपछि रिएक्टिभ कसरी गर्ने ? 

अकाउन्ट डिएक्टिभेट गरिसकेपछि त्यसलाई पहिलेकै अवस्थामा फिर्ता ल्याउने कामलाई ‘रिएक्टिभ गर्नु’ भनिन्छ । अकाउण्ट रिएक्टिभ गर्न तपाईँले जटिल प्रक्रिया अपनाउनु पर्दैन । 

पहिलेको युजरनेम र पासवर्ड राखेर लगइन गर्नुभयो भने अकाउन्ट सोझै रिएक्टिभ हुन्छ । यदि अकाउन्ट डिएक्टिभेट गर्नु भएको छ र मेसेञ्जर प्रयोग गर्न चाहनुहुन्छ भने तपाईँले सोझै मेसेञ्जरमा युजरनेम र पासवर्ड राखेर लगइन गर्न सक्नुहुन्छ ।

 

पछिल्लो अध्यावधिक: मंसिर १०, २०८१ १३:५२