close

राष्ट्रिय टिममा हुँदा ल्यापटप किन्न नसकेका क्रिकेटर नरेश क्यानडा पुगेपछि बने इथिकल ह्याकर

हिक्मत आचार्य हिक्मत आचार्य

पुस ४, २०८१ १६:२९

राष्ट्रिय टिममा हुँदा ल्यापटप किन्न नसकेका क्रिकेटर नरेश क्यानडा पुगेपछि बने इथिकल ह्याकर

 

काठमाडौं । नरेश बुढाऐर नेपालको राष्ट्रिय क्रिकेट टोलीको नियमित सदस्य रहेकै बेला आईटी पढ्न चाहन्थे । पढ्नका लागि खर्चको अभाव थियो । उनका लागि पैसा मात्र अवरोध थिएन, उनले त्यसअघि रोजेको व्यवस्थापन सङ्काय पनि बाधक बनिरहेको थियो । 

कञ्चनपुरमा जन्मिएका नरेश बुढाऐर अहिले ३३ वर्षका भए । कञ्चनपुरमा जन्मिएका नरेश बुढाऐर बाल्यकालदेखि नै आफू टिभीमा देखिन चाहन्थे । कलिलो मस्तिष्कमा त्यो सपनाको बीजारोपण त्यही दिन भएको थियो, जब पहिलो पटक गाउँमा टिभी भित्रियो । सुदूरपश्चिमको तराईँ भेगमा बाल्यकाल बिताएका उनले पहिलो पटक कसैले गाउँमा टिभी ल्याएको थाहा पाए । र, साथीहरूसँगै टिभी हेर्न गए । 

बाल्यकालको त्यो क्षण यति धमिलो भइसकेको छ कि उनी केबुल टिभी आएको सम्झिन्छन् । कसको घर, कहाँ, कहिले ठ्याक्कै उनको मस्तिष्कले ठम्याउन सकिरहेको छैन । तर, त्यही बेला टिभीमा देखिने सङ्कल्प उनको मनमा कहिल्यै नमेटिने गरी बस्यो । 

२०६० सालतिरको कुरा हो । त्यस बखत उनी कञ्चनपुरकै राष्ट्रिय बाल विद्यालयमा ५ कक्षामा पढ्दै थिए । कामको सिलसिलामा बम्बई (आजको मुम्बई) पुगेका गाउँका राजन शर्मा रहरले क्रिकेट खेल्थे । बम्बईको रङ्गीन जीवनमा रमाएका उनी, त्यही खेलको उत्साह आफ्नै गाउँमा भर्न चाहन्थे । गाउँ फर्किँदा हातमा एमआरएफको चम्किलो ब्याट र बलसहित उनी आए । 

“एक जना दाइले बम्बईबाट क्रिकेटको ब्याट ल्याएर आउनु भएको थियो,” क्रिकेटको जग बसाली दिने बाल्यकाल सम्झिँदै बुढाऐर भन्छन्, “हामीलाई सँगै क्रिकेट खेलाउनु हुन्थ्यो । खेल्दै जाँदा त्यसैमा रुचि जाग्न थाल्यो ।”

एक हिसाबले क्रिकेटको लत नै बसको थियो भन्दा फरक नपर्ला । बिहान स्कुल जानुअघि र साँझ घर फर्किएपछि उनी सधैं क्रिकेटकै संसारमा हराउथे । बालापनको त्यो चञ्चल मस्तिष्क बिहानको घडीले ढिलो १० बजाओस् भन्ने चाहन्थ्यो । अनि बेलुकाको ४ यत्तिकै छिटो आएर टक्क रोकियोस् । ती पल उनका लागि रमणीय थिए । किनभने त्यही समयमा उनी क्रिकेट खेल्न पाउँथे । त्यो खेल मात्र खेल नभएर उनको सपना थियो, जसले हरेक दिनलाई विशेष बनाइरहेको थियो । 

यही सपना उनका लागि किन पनि विशेष थियो भने उनी क्रिकेटकै माध्यमबाट कुनै दिन टिभीमा देखिन सक्थे । क्रिकेटका हस्ती सचिन तेन्दुल्करलाई टिभीमा देखेपछि यसैबाट टिभीमा देखिने आफ्नो सपना पूरा हुन्छ भन्ने उनी ठान्थे । “मेरो सपना केबुल टिभीमा देखिने थियो । अरू होस्, नहोस् टिभीमा त देखिन्छु नै भन्ने थियो,” उनी सम्झिन्छन् ।

यसरी चञ्चल मनले बुनेको सपना पूरा गर्न क्रिकेट एक अद्भुत संयोग बनेर उनको बाल्यकालमा आइदियो । यसले नै क्रिकेट प्रतिको उनको लगाब थप प्रगाढ बनाइदियो । 

घरमा भन्दा बढी उनको समय महेन्द्रनगरको खुला मञ्चमा बितिरहेको हुन्थ्यो । त्यो त्यही ठाउँ हो, जहाँ नरेश साथीहरूसँग क्रिकेट खेल्थे । क्रिकेटप्रतिको अगाध लगावले पढाइ भने केही हदसम्म कमजोर बनाउने प्रयास गरिरह्यो । तर, उनले कहिल्यै पढाइलाई कमजोर हुन दिएनन् । उनले क्रिकेट र पढाइबिच सन्तुलन राख्ने कोसिस गरिरहे । यद्यपि प्राथमिकता भने पढाइको तुलनामा बढी क्रिकेटले नै पाइरहेको थियो । 

“क्रिकेटले मेरो पढाइमा धेरै डिस्टर्ब गरेको थियो,” उनी सुनाउँछन्, “पढाइभन्दा बढी समय क्रिकेटमै बित्थ्यो ।” क्रिकेटमा दिनानुदिन प्रगति गर्दै गइरहेका उनी स्थानीय प्रतियोगितामा नियमित रूपमा छनोट हुन थालेका थिए । उनको मेहनत र प्रतिभा त्यस क्षेत्रमा चिनिन थालेको थियो ।

कक्षा १० मा पढ्दा उनी १५ वर्ष मुनिको क्याम्पमा सहभागी हुनुपर्ने भयो । तर, उता एसएलसीको टेस्ट परीक्षाको मिति पनि त्यसै बेला पर्‍यो । त्यति बेला एसएलसी दिनु अघि टेस्ट पास गर्नु अनिवार्य जस्तै हुन्थ्यो । टेस्ट पास नगरे एसएलसी परीक्षा दिने अनुमति विद्यालयबाट पाइन्न थ्यो । नरेशका लागि अन्डर-१५ को क्याम्प जति महत्त्वपूर्ण थियो, त्यति नै महत्त्वपूर्ण एसएलसी अघिको टेस्ट परीक्षा पनि । यी दुवैलाई समानान्तर रूपमा अघि बढाउन चाहन्थे उनी । त्यसैका लागि विद्यालयकी प्रधानाध्यापक सामु नरेशले आफ्नो समस्या राखे । तर विद्यालयबाट उनले टेस्ट परीक्षा छोड्न नपाइने जवाफ पाए । 

आफ्नो तर्फबाट प्रधानाध्यापकलाई मनाउन नसकेपछि नरेशले आफ्ना बुबाको सहयोग लिने योजना बनाए । घर गएर बुबालाई भने, “म त जसरी भए पनि क्याम्पमा जाने हो । हजुरले स्कुलमा मिलाइदिनु भयो भने भयो, नत्र केही छैन ।” यति भनेर उनी अन्डर-१५ को क्याम्पमा पुगे । 

उता नरेशका बुबा स्कुल गए । प्रधानाध्यापकलाई छोराका लागि क्रिकेट र पढाई उत्तिकै महत्त्वपूर्ण भएकाले तत्कालका लागि क्याम्प जाने अनुमति दिन अनुरोध गरे । बुबाले नै भनेपछि विद्यालय अन्ततः अनुमति दिन तयार भयो । उता नरेश भने त्यस अघि नै क्याम्पमा पुगिसकेका थिए । अन्डर-१५ क्याम्पबाट फर्किएपछि उनलाई एक्लै टेस्ट परीक्षामा सहभागी गराइयो । 

जाँचमा उनी सहजै पास भए । र, एसएलसीमा सहभागी हुन प्रवेश पत्र पाए । त्यसपछि क्रिकेटलाई पूर्ण रूपमा बिर्सिएर उनी परीक्षाको तयारीमा होमिए र उत्साहजनक अङ्क ल्याएर उनले एसएलसी उत्तीर्ण गरे ।

कम्प्युटरप्रतिको रुचि

एसएलसीको नतिजा आइसक्दासम्म पनि नरेशलाई कम्प्युटरको बारेमा केही थाहा थिएन । उनका दाजु गणेश बुढाऐर भने प्राविधिक क्षेत्रमा विशेष रुचि राख्थे । घरमा हुने रेडियो, टिभी जस्ता सामग्री भित्र रहेका पाटपुर्जा थाहा पाउन खोलेर जाँच्ने र बिग्रिँदा मर्मत गर्ने जस्ता काम गर्थे । नरेशका दाजु गणेशको यही रुचि देखेर उनका बुबाले कम्प्युटर किनि दिएका थिए । खासगरी सीए पढिरहेका उनलाई कम्प्युटरमा काम गर्नुपर्ने भएकाले पनि घरमा कम्प्युटर ल्याउनुपर्ने आवश्यकता थियो । गणेशको रुचि र आवश्यकतालाई मध्यनजर गर्दै उनका लागि कम्प्युटर किनिएको थियो ।

घरमै कम्प्युटर भएपछि नरेशलाई यसमा रुचि बढ्दै गयो । उनी दाजुले कम्प्युटर चलाएको हेर्थे । त्यसैमा दाजुसँगै गेम पनि खेल्थे । तर, क्रिकेट र पढाइ सँगसँगै अगाडि बढाइरहेका उनलाई कम्प्युटरमा रमाउने फुर्सद कहाँ थियो र ! “दाइ बिग्रेका प्राविधिक सामान बनाउने, कसरी बनेको छ भनेर हेर्न खोज्ने स्वभावको हुनु हुन्थ्यो । त्यसैले पनि उहाँको रुचि कम्प्युटरमा थियो । उहाँले कम्प्युटर चलाएको देख्दा मलाई पनि चलाउने रहर लाग्थ्यो,” उनी भन्छन्, “त्यसैमा गेम खेल्ने, भिडिओ हेर्ने गर्थेँ ।” 

साइबर क्याफेले उब्जाएको आईटी पढ्ने सपना 

एसएलसी पास भएपछि उनी गाउँकै आदर्श माध्यमिक विद्यालयमा पढ्न थाले । पढ्न सजिलो र सहजै पास हुन सक्ने लागेपछि उनले व्यवस्थापन संकाय रोजे । त्यति बेला पनि उनी क्रिकेट र पढाइलाई सँगसँगै अगाडि बढाइरहेका थिए । त्यही समयमा उनी क्रिकेटलाई माया गर्ने, यसमा आफ्नो सपना देख्ने नयाँ पुस्तालाई अगाडि बढाउने शक्ति भण्डारीको नजरमा परे । जसले नरेशलाई सानोमा क्रिकेट खेल्न सिकाएका थिए । “एकदिन दाइले गज्जबको अफर ल्याउनुभयो,” उनी भन्छन्, “उहाँकै सहयोगले मसहित चार पाँच जना साथीहरूलाई क्लासिक कलेजले स्कलरशिप दिने भयो ।”

कञ्चनपुरका नरेशलाई पहिलो पटक काठमाडौं आउने अवसर त्यही बेला जुर्‍यो । त्यो पनि पढ्न र क्रिकेट खेल्न । यो मौका पाउँदा उनले आदर्श माध्यमिक विद्यालयबाट ट्रान्सफर गरिदिनको लागि आग्रह गरे । र, ट्रान्सफर सर्टिफिकेट लिएर काठमाडौं आए । पढाइ र क्रिकेटतिरको यात्रा सँगसँगै अगाडि बढिरहेको थियो । २०६५/६६ तिर काठमाडौंमा साइबर क्याफेको लहर चलेको थियो । युवाहरू इन्टरनेट प्रयोग गर्न साइबर क्याफे जाने गर्थे । 

नरेश पनि खाली समयमा आफ्ना साथीहरूसँग साइबर क्याफेमा गइरहेका हुन्थे । खासगरी इन्टरनेट प्रयोग गर्न साइबर जाने प्रवृत्ति थियो । समय समयमा साइबर क्याफे गइरहने भएपछि उनमा आईटी पढ्ने चाह बढ्न थाल्यो । तर, उनले रोजेको व्यवस्थापन संकाय नै उनका लागि बाधक बनि दियो । भन्छन्, “आईटी पढ्न साइन्स नै पढ्नुपर्छ भन्ने थियो । त्यति बेला मैले चाहेर पनि आईटी पढ्न पाइनँ ।”

आफ्नै रुचिले गर्दा उनी क्याफेमा गई सूचना प्रविधिसँग सम्बन्धित विभिन्न विषयमा खोज, अनुसन्धान तथा स्वाध्ययन गर्थे । यसरी क्रिकेट खेल्दै गर्दा उनले आईटी क्षेत्रतर्फ पाइला सारिसकेका थिए । 

पहिलो पटक आफ्नै कमाइले आयरल्यान्डबाट सेकेन्ड ह्यान्ड ल्यापटप

२००९ को एसीसी ट्वान्टी ट्वीन्टी कपमा नरेशले नेपालको राष्ट्रिय टिममा डेब्यु गरे । चीनमा भएको २०१० एसियन गेमको टोलीमा परेको भए पनि उनले टुर्नामेन्ट खेल्न पाएनन् । 

उनको नाम २०१२ को यू-१९ वर्ल्ड कपको वार्म-अप म्याचमा न्युजिल्याण्ड विरुद्ध शतक प्रहार गरेपछि नेपालका क्रिकेट समर्थक माझ चर्चामा आयो । उनले उमेर समूहका प्रतियोगितामा नेपालका लागि राम्रो योगदान दिए ।

उनी २०१४ को एसीसी प्रिमियर लिगमा नेपालको प्रतिनिधित्व गर्दै आयरल्यान्ड पुगेका थिए । सूचना प्रविधिमा रुची भएकाले उनले आयरल्यान्डमै सेकेन्ड ह्यान्ड ल्यापटप खरिद गरे । “आफ्नै कमाइले ल्यापटप किन्छु भन्ने थियो । तर, पैसा थिएन,” पहिलो पटक ल्यापटप किनेको अनुभव सुनाउँदै नरेश भन्छन्, “मेरो कमाइ सेकेन्ड ह्यान्ड ल्यापटप किन्न मात्र पर्याप्त थियो । त्यही कमाइले डेल ल्यापटप किनेँ ।” उक्त ल्यापटप अहिले नरेशका बुबाले प्रयोग गरिरहेका छन् । 

आयरल्यान्डमा भएको खेल सकियो । ल्यापटप ल्याएर नरेश काठमाडौं फर्किए । त्यति बेला काठमाडौंमै पनि घरघरमा इन्टरनेट पुगिसकेको थिएन । “कोठामा इन्टरनेट हुँदैनथ्यो,” उनी सम्झिन्छन्, “टाइप गर्न, अफलाइनमा काम गर्न मात्र ल्यापटप प्रयोगमा आउँथ्यो ।” कोठामा अफलाइन काम गरे पनि इन्टरनेट प्रयोग गर्न उनी साइबर क्याफे गइरहन्थे । 

क्रिकेट बाहेक अन्य क्षेत्रमा करिअर खोज्नुपर्ने बाध्यता

सन् २०१६ मा उनी खेलाडीको रूपमा क्यानडा गए । त्यहाँ गएपछि उनी स्थानीय नेपालीहरूले सञ्चालन गरेको क्लब बुमफिल्ड क्रिकेट क्लबको हेडकोच बने । त्यहीँका स्थानीय क्लब नेप्लिज क्यानडियन क्रिकेट क्लब, सेन्चुरियन्स सीसी लगायतका क्लबमा आफू पनि क्रिकेट खेल्न थाले । दिउसोको समयमा उनीसँग पर्याप्त समय हुन्थ्यो । “क्यानडाकै लोकल क्लबबाट क्रिकेट खेल्ने भए पनि त्यहीँबाट हुने आम्दानी पर्याप्त नहुने रहेछ,” उनी भन्छन्, “मसँग दिउसोको पुरै समय खाली हुन्थ्यो । त्यो बेला के गर्ने भन्दा मलाई आईटीमा करियर बनाउनुपर्छ भन्ने लाग्यो ।” क्यानडाको राष्ट्रिय टिमबाट खेल्न क्याम्पसम्म पुगेका उनी छनोट हुन सकेनन् । सधैँ क्लबाट खेल्न पनि सम्भव थिएन । परिणामस्वरूप उनलाई भविष्यको चिन्ताले पनि पिरोल्न थाल्यो । खेल जीवनमा कहिलेसम्म सक्रिय हुन सकिन्छ अनि त्यसबाट हुने आम्दानीले कहिलेसम्म धान्छ भन्ने चिन्ताले उनलाई सताइ रहन्थ्यो । त्यसैले उनी आम्दानीका वैकल्पिक बाटा खोजिरहेका थिए । 

उनलाई यस्तो क्षेत्रमा करियर बनाउनु थियो, जसले गर्दा क्रिकेटलाई पनि पर्याप्त समय दिन पाइयोस् र घरबाटै काम गर्न सकियोस् । यी सबैका लागि आईटी नै उनका लागि उपयुक्त थियो । नेपाल छँदा युट्युब हेरेर उनले एचटीएमएल, सीएसएस, जाभा लगायतका प्रोग्रामिङ ल्याङ्वेज सिकेका थिए । त्यही सीपले गर्दा उनी सफ्टवेयर डेभलपमेन्टको क्षेत्रमा काम गर्न चाहन्थे ।

उनी कोच रहेको क्लबमा खेल्ने अन्य साथीहरू पनि आईटी क्षेत्रमै काम गर्ने भएकाले नरेशले आफ्नो योजना शेयर गरे । तर, साथीहरूले सफ्टवेयर डेभलपमेन्टमा भविष्य नरहेको सुझाव दिए । “मलाई सफ्टवेयर डेभलपमेन्ट तिर रुचि भए पनि यो पढेर त्यति काम छैन भनेर साथीहरूले सम्झाए,” उनी भन्छन्, “यस्तो कामबाट कम आम्दानी हुने र जनशक्ति बढ्दै गएकाले अरू क्षेत्र रोज्नुपर्छ भन्ने साथीहरूको सुझाव थियो ।”

सूचना प्रविधि क्षेत्रमै काम गरे पनि कम्पनीमा जागिर पाउने किसिमको काम गर्न उनका साथीले प्रेरित गरे । उनको चाहना अब स्मार्टफोनको क्षेत्रमा भयो । तर, ठ्याक्कै के पढ्ने ? ठम्याउन सकिरहेका थिएनन् ।

बलिउड, युक्रेनको युद्ध अनि ह्याकर बन्ने चाहना

२०६४/६५ सालतिर नरेशलाई नेपाली सेनामा जागिर खाने चाहना थियो । “मलाई डिफेन्समा जाने मन थियो । म लेफ्टिनेन्ट बन्न चाहन्थेँ,” उनी भन्छन्, “त्यसको लागि दुई पटक आवेदन पनि दिएको थिएँ । तर, नाम निस्किएन ।” 

क्रिकेटरको रूपमा देशका विभिन्न क्लबबाट खलिरहँदाको समयमा पनि उनलाई अन्य क्षेत्रतर्फ रुचि लागिरहेको थियो । रक्षा अर्थात् डिफेन्स क्षेत्रमा उनको रुचि त्यति बेलै बढेको हो । 

२००२ तिर रिलिज भएको अभिषेक बच्चनको फिल्म ‘ओम जय जगदीश’ले नरेशलाई ह्याकर बन्न प्रेरित गर्‍यो । यो फिल्म उनले २०२२ तिर हेरेका थिए । “ह्याक गर्ने बेला कम्प्युटरमा देखिने रातो र हरियो टेक्स्ट, कोडको स्टाइल र साउन्डले मलाई धेरै प्रभावित पारेको थियो । कहाँबाट कम्प्युटर चलाइरहेको छ, कुन सिरियल नम्बरको कम्प्युटर चलाएको छ भन्ने सबै प्रहरीलाई थाहा हुन्छ यसमा । त्यही देखेर पनि ह्याकर बन्ने रहर लागेको हो,” नरेश भन्छन् । 

२०२२ मा सुरु भएको रुस-युक्रेन युद्धमा पनि ह्याकिङ क्षेत्र बढी नै चर्चामा आयो । देशको रक्षाका लागि साइबर सुरक्षा क्षेत्र कति महत्त्वपूर्ण छ अनि यसैको सहायताले देश कतिसम्म शक्तिशाली बन्न सक्छ भन्ने देखियो । यसैबाट पनि नरेशलाई डिफेन्स क्षेत्रको ह्याकर बन्ने इच्छा जागेको हो । 

क्यानडा साइबर सुरक्षा क्षेत्रमा धेरै अघि छ । क्यानडाले आफ्नो रक्षाका लागि कैयौं देशका सर्भर ब्लक गरेको छ । त्यसले पनि केही हदसम्म नरेशको ह्याकर बन्ने चाहनालाई मलजल गर्न सहयोग गर्‍यो । 

ह्याकर बन्ने लक्ष्य लिएपछि अगस्ट २०२२ मा उनी क्यानडाको सीडीआई कलेजमा साइबर सुरक्षामा डिप्लोमा गर्न थाले । पढ्ने क्रममा उनले साइबर सुरक्षा क्षेत्रका अनेकौँ सीप जान्ने अवसर पाए । नरेशले विभिन्न सीपहरू आर्जन गरेका छन्, जसले उनलाई आफ्नो कार्य क्षेत्रमा उच्च दक्षता हासिल गर्न मद्दत पुर्‍याएका छन् । उनले साइबर सुरक्षा, नेटवर्क इन्फ्रास्ट्रक्चर, ह्याकिङ र पेनिट्रेसन टेस्टिङ जस्ता महत्त्वपूर्ण सीपहरूमा दक्षता हासिल गरेका छन् । यी सीपले उनलाई सेक्युरिटी भायोलेन्सको पहिचान गर्न र त्यसलाई समाधान गर्न सक्षम बनाएको छ । साथै सर्भर एड्मिनिस्ट्रेसन, माइक्रोसफ्ट एजुरे, विन्डोज सर्भर  र लिनक्स जस्ता सिस्टमको सञ्चालनमा पनि आफू दक्ष भएको उनी बताउँछन् । डेटा सुरक्षा, ब्याकअप तथा रिस्टोरेसन र इन्फर्मेसन टेक्नोलोजी जस्ता क्षेत्रमा उनको अनुभवले साइबर सुरक्षा क्षेत्रमा जम्न सहयोग पुर्‍याएको छ ।

ह्याकर बनेर नेपालमा योगदान दिने चाहना 

नरेश साइबर सुरक्षाको पनि डिफेन्स क्षेत्रमा काम गर्न चाहन्छन् । त्यसका लागि उनले क्यानडामा डिफेन्स र हेल्थ सेक्टरमा साइबर सेक्युरिटी एक्सपर्टका लागि जागिरको आवेदन दिएका छन् । भन्छन्, “अब हेल्थमा फाइनल अन्तर्वार्ता छ । डिफेन्समा एप्लिकेसन होल्ड भइरहेको छ ।” उनलाई क्यानडाको राजस्व निकाय ‘क्यानडा रेभिन्यु एजेन्सी’मा पनि साइबर सुरक्षा अनुसन्धानकर्ताको रूपमा काम गर्ने चाहना छ । 

उनले युनिभर्सिटी अफ टोरन्टो र युनिभर्सिटी अफ वाटरलुबाट स्नातकोत्तरमा साइबर सुरक्षा अध्ययन गर्ने योजना पनि बनाएका छन् । जागिर पाएपछि सो विषयको पढाइ सुरु गर्ने उनको योजना छ । 

उनले क्रिकेटरका रूपमा देशलाई जति योगदान गरे, त्यसभन्दा बढी साइबर सुरक्षाको क्षेत्रबाट गर्न चाहना रहेको बताए । त्यसभन्दा पहिले उनी पर्याप्त अनुभव बटुल्न चाहन्छन् । साइबर सुरक्षामा दिनानुदिन चुनौती थपिएका छन् । देशको रक्षा गर्न जति भूमिका सेनाको हुन्छ, त्यो भन्दा बढी साइबर सुरक्षा विज्ञहरूको हुने अवस्था आएको छ । 

“त्यसैका लागि आफूलाई तयार पारिरहेको छु,” उनी थप्छन्, “आर्थिक अभाव र बाध्यताले देश छोडेको हुँ । बिना अर्थ देश छोड्ने चाहना कसको हुन्छ र ? देशकै लागि केही गर्ने चाहना त सदैव छ । अब साइबर डिफेन्सको क्षेत्रबाट देशलाई योगदान दिन चाहन्छु ।”

क्रिकेटमा भविष्यमा खोज्नेलाई नरेशको सुझाव 

“मलाई मेरो क्रिकेट करियरकै सुरुवातमा कसैले यो (आईटी) क्षेत्र राम्रो छ भनेर गाइड गरेको भए म अर्को लेभलमा पुग्ने थिएँ,” उनी भन्छन्, “आईटी क्षेत्रमा ढिलै भए पनि पाइला चालेँ । ढिलो गरेकोमा पश्चात्ताप त छ । जे भए पनि सबै राम्रो भइरहेको छ ।”

क्रिकेटमा भविष्य खोज्ने नयाँ पुस्ताले पढाईको महत्त्व बुझ्नुपर्ने उनको सुझाव छ । खासगरी क्रिकेटलाई असर नपर्ने अनि भविष्य पनि सुरक्षित हुने किसिमका क्षेत्र रोज्न उनले नयाँ पुस्तालाई सल्लाह दिएका छन् । भन्छन्, “आईटीको यो युगमा आफूलाई अग्रसर राख्नुपर्छ । यो राम्रो क्षेत्र पनि हो । त्यसो भन्दैमा सबै यही क्षेत्रमा आउनु पर्छ भन्ने पनि होइन । आफ्नो भविष्य राम्रो अनि सुरक्षित बनाउन कस्तो पढाइले भूमिका खेल्छ भन्ने कुरा ठम्याउनु पनि पर्छ ।”

पछिल्लो अध्यावधिक: पुस ४, २०८१ १६:५६