काठमाडौं । मोबाइल सेवा प्रदायक कम्पनी एनसेलको रिचार्ज तथा टपअपमा भ्यालिडिटी अर्थात् मान्य अवधि कम गरिएकोमा ग्राहकहरूले असन्तुष्टि व्यक्त गर्न थालेका छन् । पछिल्ला दिनहरूमा कम्पनीले ल्याएको नयाँ नीतिलाई लिएर ग्राहकहरूले सामाजिक सञ्जालमार्फत गुनासो गर्न थालेका हुन् ।
परिवर्तित नीति अनुसार एनसेलले १००० रुपैयाँको रिचार्जमा ९० दिनको भ्यालिडिटी दिन्छ । त्यस्तै रिचार्जको मान्य अवधि ५० देखि ९९ रुपैयाँसम्मका लागि ७ दिन, ५०० देखि ९९९ सम्म ५० दिन र १००० देखि माथिका लागि ९० दिन राखिएको छ । जब कि प्रतिस्पर्धी नेपाल टेलिकममा सोही बराबरको रिचार्जका लागि ७३० दिनको मान्य अवधि छ ।
यही विषयलाई लिएर ग्राहकमा असन्तुष्टि देखिएको हो । खासगरी कल तथा डेटामा कम खर्च गर्ने ग्राहकहरू यसबाट बढी प्रभावित भएका छन् । यसअघि लामो समयसम्म सिम एक्टिभ रहने हुँदा सित्तैमा इनकमिङ कल मात्र लिने तथा कम्पनीको आम्दानीमा योगदान नदिने ग्राहकलाई एनसेलले यसबाट निरुत्साहित पार्न खोजेको जस्तो पनि देखिन्छ । यस विषयलाई लिएर ग्राहकबाट गुनासो आइरहेको विषयमा कम्पनी बेखबर हुने कुरै भएन ।
एनसेलले भ्यालिडिटी अवधि किन यति थोरै राखेको होला ? टेकपानाले राखेको प्रश्नको जवाफमा कम्पनीले भनेको छ, “पे एज यु गो तुलनात्मक रूपमा महँगो पर्ने भएकाले ग्राहकहरूलाई प्याकेजमा आधारित सेवा खरिद प्रति प्रोत्साहन गर्न यस्तो नीति लिइएको हो । हामीले १/३/७/२८ दिन अवधिका भ्वाइस, डेटा अथवा दुवै समावेश सधैँअन प्याकेजहरू उपलब्ध गराइरहेका छौं । जसले राम्रो दररेट उपलब्ध गराउँछ र ग्राहकलाई महँगो बिलको चिन्ता लिइरहनु पर्ने तनाव पनि हुँदैन ।
हाम्रा ग्राहकले बढीभन्दा बढी भ्वाइस र डेटा सेवा प्रयोग गरुन् भन्ने चाहन्छौँ, त्यसका लागि सामान्य अनि चिन्ता पनि लिइरहनु नपर्ने अनलिमिटेड भ्वाइस तथा डेटा सहितका प्याकेज उपलब्ध गराइरहेका छौं । हामीले सधैँअन ग्राहकलाई डेटा र भ्वाइस एक्स्चेन्ज जस्तो नवीनतम र मौलिक फिचर पनि थप गरेका छौँ । यसकारण ग्राहकले भ्यालिडिटीको मतलब नहुने तथा प्रभावित नहुने सधैंअन प्याकमा जानुपर्ने हुन्छ ।”
ग्राहकबाट प्राप्त प्रतिक्रिया सकारात्मक रूपमा लिइरहेको भन्दै एनसेलले सावधानीपूर्ण विश्लेषण गरेर नै रिचार्ज कार्डको भ्यालिडिटी सम्बन्धी नयाँ नीति लिइएको र सो नीति आगामी दिनमा ग्राहककै हितमा हुने जिकिर गरेको छ ।
“एनसेल एपमार्फत टपअप खरिद गरेर ग्राहकलाई भ्यालिडिटी बढाउने विकल्प दिइएको छ । यसले दीर्घकालीन रूपमा कम प्रभावकारी विधिको रूपमा रहेका भौतिक प्रकारका स्क्र्याच कार्ड न्यूनीकरण गर्नेछ र ग्राहकले पनि डिजिटल रिचार्जलाई बढावा दिन जरुरी छ । हाम्रो डिजिटल टपअपमा भ्यालु थप गर्दै अनि अफरको भ्यालु पनि बढाउँदै जानेछौँ । उदाहरणका लागि हालै मात्र हामीले अतिरिक्त सुविधाको रूपमा एनपीएल स्ट्रिमिङ ल्याएका थियौँ ।”
रिचार्ज कार्डको भ्यालिडिटीको सवालमा नियामकको कुनै स्पष्ट निर्देशिका नरहेको उल्लेख गर्दै एनसेलले यस विषयमा नेपाल दूरसञ्चार प्राधिकरणलाई जानकारी गराइएको जनाएको छ । कम्पनीका अनुसार यो नयाँ नीतिले केही निश्चित खालका व्यवहार भएका ग्राहकलाई प्रभावित बनाएपनि ग्राहक र बजारको दीर्घकालीन हितमा हुने गरी ग्राहकको व्यवहार परिवर्तन गर्न जरुरी छ ।
ब्यालेन्स भ्यालिडिटीको सवालमा नियामक नै अस्पष्ट
दूरसञ्चार सेवा प्रदायकको ब्यालेन्स भ्यालिडिटी र कस्टमर लाइफ साइकल म्यानेजमेन्टका सम्बन्धमा नियामक नेपाल दूरसञ्चार प्राधिकरण नै अस्पष्ट रहेको पाइएको छ । सेवा प्रदायकहरूलाई ब्यालेन्स भ्यालिडिटी र कस्टमर लाइफ साइकल म्यानेजमेन्टका सम्बन्धमा प्राधिकरणबाट कुनै विशेष निर्देशिका वा निर्देशन दिएको विषय सम्बन्धित शाखाको अभिलेखमा नदेखिएको प्राधिकरणका प्रवक्ता सन्तोष पौडेलले बताए ।
यद्यपि एनसेलले ब्यालेन्स भ्यालिडिटी सम्बन्धी आफ्नो नयाँ नीतिको बारेमा जानकारी गराएको विषय भने उनले पुष्टि गरे । “एनसेलबाट ब्यालेन्स भ्यालिडिटीको नयाँ पोलिसीको पुनरावलोकनको लागि प्राधिकरणमा जानकारी आएको छ, तर उक्त विषय निर्णय प्रक्रियाकै चरणमा रहको छ,” उनले भने ।
थप परिमार्जनको तयारी
एनसलले रिचार्ज कार्डको भ्यालिडिटी सम्बन्धमा थप परिमार्जन गर्ने गरी थप योजना समेत अघि सारेको छ । जसअनुसार मोबाइल डेटा, भ्वाइस र कल सेवा लिन चाहने ग्राहकका लागि आगामी दिनमा मासिक र साप्ताहिक सब्सक्रिप्सन उपलब्ध हुनेछ । त्यस्तो सब्सक्रिप्सन बिना एनसेलको सेवा प्रयोग गर्न पाइने छैन । उद्योगको वृद्धि र मोबाइल सेवाको निरन्तरताका लागि यो एक मात्र विकल्प भएको जिकीर कम्पनीले गरेको छ । "यसले नेपालमा फाइभजी लगायतका प्रविधिमा पुनः लगानी गर्ने अवसर सिर्जना गर्नेछ," एनसेलले भनेको छ ।
कम्पनीका अनुसार जनवरी २०२४ सम्ममा आम्दानीको मुख्य आधारको रूपमा विभिन्न ससाना प्याक र पे एज यु गोमा आधारित भ्वाइस सेवा रहेको थियो । जति सेवा प्रयोग गर्यो, सोही मात्रामा ब्यालेन्स काटिने मोडेललाई नै पे एज यु गो भन्ने गरिन्छ । उक्त मोडेलका कारण निरन्तर आम्दानी घटेको र पुनः लगानी गर्न नसक्ने तथा विस्तारै टेलिकम कम्पनीहरू नै मृत्युको मुखमा धकेलिने अवस्था निम्तिएको उल्लेख छ ।
हाल कम्पनीले सधैँअन नामक योजना मार्फत घट्दो आम्दानीलाई भरथेग गर्ने प्रयास गरिरहेको छ । तर पनि लगानी गर्न सक्ने अवस्थामा भने पुगि नसकेको र नेटवर्क व्यवस्थापनका लागि समेत सङ्घर्ष गर्नु परिरहेको एनसेलले बताएको छ ।
यही समस्याको सामना गर्न आगामी वर्षदेखि उद्योगलाई पुनर्संरचना गरी साप्ताहिक तथा मासिक सब्सक्रिप्सन आधारित मोडेल अपनाउने योजना एनसेलले ल्याएको हो । यसबाट आगामी ५ वर्षमा ५० प्रतिशतले आम्दानी बढ्ने र फाइभजीका लागि आवश्यक लगानी जुटाउन सक्षम बनाउने अपेक्षा कम्पनीले राखेको छ ।
मोबाइल सेवा प्रदायक यतिखेर भ्वाइस र डेटाको वर्तमान व्यावसायिक मोडेलबाट अगाडि बढ्न सङ्घर्षरत छन् । मोबाइल डेटाको वृद्धि, भोल्टे प्रयोग गर्ने ग्राहक विस्तारका साथै टुजी र थ्रीजी बन्द गरेर फाइभजी रोलआउट, डिजिटल टेलिकम, इन्टरनेट अफ थिङ्स, क्लाउड, एआई, एज कम्प्युटिङ जस्ता प्रविधिमा जानुपर्ने चुनौती टेलिकम कम्पनी सामु छ ।
फाइभजीका लागि मात्रै सुरुवाती तीनदेखि पाँच वर्षसम्म वार्षिक २० अर्ब रुपैयाँ लगानी आवश्यक पर्ने एनसेलका सीईओ जाब्बोर कायुमोभ बताउँछन् ।