काठमाडौं । इन्टेलिजेन्ट क्र्यानियम हेलमेट कम्पनीले आर्टिफिसियल इन्टेलिजेन्स (एआई) जडित मोटरसाइकल हेलमेट बजारमा ल्याएको छ । ‘आईसी-आर’ नाम दिइएको हेलमेटले चालकलाई उच्चा स्तरको सुरक्षा प्रदान गर्नुका साथै सुधारिएको भिजिबिलिटी प्रदान गर्ने कम्पनीले जनाएको छ । कम्पनीका अनुसार यसमा सम्भावित दुर्घटना पहिचान गर्ने र बाइकसँग विना रोकावट कनेक्ट गर्न सक्ने विशेषता रहेका छन् ।
कम्पनीले चार मोडेलमा आईसी-आर हेलमेट उपलब्ध गराएको छ । हेलमेटमा २४० डिग्री भिजन भएको रिभर्स क्यामेरा जडान गरिएको छ । बाइकको र्याप-राउन्ड भ्यु भिडिओका लागि दुई रियर क्यामेरा राखिएका छन् । यी क्यामेरा चालकको आँखा अगाडि पर्ने हेड्स-अप डिस्प्ले (एचयूडी) को ठीक माथिल्लो भागमा राखिएका छन् ।
राइडर आफैँले १२० डिग्रीको भ्यु देख्न सक्ने र बाँकी २४० डिग्रीका लागि क्यामेरा राखिएकाले ३६० डिग्रीकै दृश्यलाई देख्न सकिने कम्पनीले दाबी गरेको छ ।
हेलमेटको अगाडि १०८० पिक्सेल प्रति ६० एफपीएस (1080p/60fps) एक्सन क्षमता भएको क्यामेरा राखिएको छ । यसले अगाडिका १५२ डिग्रीको भिडिओ खिच्न सक्छ ।
प्रिमियम कारहरूमा जस्तै सडकमा आफ्नो लेन नछाड्न चेतावनी दिन यस हेलमेटमा वार्निङ सिस्टम राखिएको छ । यदि कुनै दुर्घटना भई १५ सेकेन्डसम्म चालक हलचल नभएमा तत्कालै एम्बुलेन्सलाई सम्पर्क गर्ने दाबी गरिएको छ ।
हेलमेटको एचयूडीले चालकले बाइक चलाइरहेको समयमा ध्यान नभड्काउने गरी सूचनाहरू उपलब्ध गराउनेछ । गति, जानुपर्ने बाटो, मेसेजहरूको बारेमा पढ्न सहज हुनेगरी जानकारी गराउनेछ ।
एआई हेलमेटले सँगै यात्रा गरिरहेका अन्य चालकहरूसँग सञ्चारका लागि डुप्लेक्स ब्लुटुथ मेस, १५ जनासम्म चालकका लागि मोबाइल नेटवर्क र वायरलेस पुस टु टक (पीटीटी) प्रणाली उपलब्ध गराउँछ । जसकारण तपाईँ यात्राका क्रममा जति टाढा भएपनि अन्य साथीहरूका बारेमा जानकारी पाउन सक्नुहुन्छ ।
यसमा भ्वाइस कमान्ड दिएर हेलमेटबाट आफ्नो यात्रालाई रेकर्ड पनि गर्न सकिन्छ । यसका लागि तपाईँले “मेरो यात्रा रेकर्ड गर” भनेर भ्वाइस कमान्ड दिनुपर्ने हुन्छ ।
१.७१ किलोग्राम तौल रहेको हेलमेट इकोनोमी संस्करण, राइडर संस्करण, स्पोर्टस् संस्करण र स्पोर्टस् प्लस संस्करणमा खरिद गर्न सकिनेछ । यसअन्तर्गत सुरुवाती मूल्य ६५० अमेरिकी डलर (करिब ९० हजार रूपैयाँ) रहेको छ भने अधिकतम मूल्य एक हजार ८५० डलर (दुई लाख ५७ हजार रूपैयाँ) सम्म छ । यो ब्रान्डको हेलमेट नेपाली बजारमा आउनेमा भने अनिश्चित नै छ ।