काठमाडौँ । ह्युमन मोबाइल डिभाइस (एचएमडी) र लाभा कम्पनीले इन्टरनेट तथा वाई-फाई बिना नै टिभी प्रसारण हेर्न मिल्ने फिचर फोन सार्वजनिक गर्ने घोषणा गरेका छन् । सोमबारको घोषणा अनुसार यी फोनहरू फ्रिस्ट्रिम, सिंकलेयर र तेजस नेटवर्कसँगको सहकार्यमा ल्याउन लागिएको हो ।
यी डिभाइसहरू बिहीबारदेखि भारतको मुम्बईमा सुरु भएको वर्ल्ड अडियो भिजुअल एन्ड इन्टरटेनमेन्ट समिट (वेभ्स) २०२५ मा प्रदर्शनका लागि राखिने समाचार इन्डियन एक्स्पेसले लेखेको छ । यो कार्यक्रम जिओ वर्ल्ड कन्भेन्सन सेेेेेन्टरमा जारी छ ।
इन्टरनेट तथा वाई-फाई बिना नै टिभी प्रसारण हेर्न मिल्ने प्रविधिलाई डाइरेक्ट-टु-मोबाइल (डीटुएम) भनिन्छ । यसले फोनलाई सेलुलर वा ताररहित कनेक्सन बिना टिभी सिग्नल प्राप्त गर्न र मल्टिमिडिया सामग्री स्ट्रिम गर्ने अनुमति दिन्छ । यो प्रविधि हाम्रो फोन वा कारमा एफएम रेडियो सुने जस्तै हुनेछ, जहाँ यसले भिडिओ र अडियो दुवै डेलिभर गर्ने बताइएको छ ।
एक्स्प्रेसले लेखे अनुसार लाभाको फोनमा अल्ट्रा-हाई-फ्रिक्वेन्सी (यूएचएफ) एन्टेना हुनेछ, जसले टेरेस्टेरियल टिभी प्रसारणहरू प्राप्त गर्नेछ । लाभा र एचएमडी दुवैका यी फोनहरू फिचर फोनहरू हुन् र यिनमा साङ्ख्य ल्याब्सले विकसित गरेको एसएल३००० नामक एक डेडिकेटेड चिप जडान गरिएको छ ।
लाभाले आफ्नो फोन तेजस नेटवर्कसँगको सहकार्यमा विकास गरिएको पुष्टि गरेको छ । यसमा मिडियाटेक एमटी६२६१ एसओसी चिप, २,२०० एमएएचको ब्याट्री र २.८ इन्चको स्क्रिन हुनेछ । एचएमडीले पनि किफायती मूल्यमा आफ्नो फिचर फोन ल्याउने पुष्टि गरेको छ । त्यसमा पनि डीटुएम प्रविधि हुनेछ । एचएमडीले प्राविधिक विवरणहरू भने खुलाएको छैन, तर यसमा साङ्ख्य ल्याब्सको एसएल३००० चिपसेट हुने बताइएको छ ।
डीटुएम प्रविधि मल्टिमिडियाका साथै आपत्कालीन अलर्ट र शैक्षिक सामग्रीहरू अझ प्रभावकारी रूपमा प्रदान गर्ने कार्यमा पनि प्रयोग गर्न सकिन्छ । भारतमा, डीटूएम प्रविधिलाई प्रसार भारतीका लाइभ नेटवर्कहरूमा विस्तृत रूपमा परीक्षण गरिएको छ । यो एड्भान्स टेलिभिजन सिस्टम कमिटी (एटीएससी) ३.० स्यान्डर्डमा आधारित छ ।
भारतमा स्मार्टफोन पेनिट्रेसन (आत्मसाथ गर्ने दर) उच्च भए पनि, अझै २३ करोडभन्दा बढी प्रयोगकर्ताले फिचर फोन प्रयोग गर्छन् । डीटुएम प्रविधि स्मार्टफोन किन्न नसक्ने, तर लाइभ खेलकुद, मनोरञ्जन, समाचार अलर्ट लगायतका कुराहरू हेर्न चाहनेहरूका लागि गेम चेन्जर हुन सक्छ । यद्यपि, २.८ इन्चको सानो स्क्रिनमा टिभी हेर्नु कत्तिको उपयोगी होला भन्ने प्रश्न पनि उठिरहेको छ ।