काठमाडौं । कुनै पनि कम्पनीले भर्खरै स्नातक तह पास गरेका व्यक्तिलाई जागिरका लागि राख्दा उनीहरूले विश्वविद्यालयका पाठ्यक्रममा पढाइएका कुराहरू जानिसकेका हुन्छन् भन्ने अपेक्षा राखेको हुन्छ । तर, नेपालका विश्वविद्यालयबाट पास भएका विद्यार्थीहरूमा भने सामान्य काम गर्ने सीप पनि विकास भइसकेको अवस्था पाउन मुस्किल नै पर्छ ।
सोमबार राजधानी स्थित काठमाडौं इन्जिनियरिङ कलेजमा आयोजित इनो टक कार्यक्रममा यही सन्दर्भमा छलफल चल्यो । कार्यक्रममा नेपालमा उद्योग र शैक्षिक संस्थाबिच सहकार्यमा देखिएका चुनौती र सम्भावनाहरूको बारेमा चर्चा हुनुका साथै समाधानका उपायहरूबारे पनि छलफल भएको थियो । शिक्षण संस्थाहरू सैद्धान्तिक ज्ञानमा बढी केन्द्रित रहँदा व्यावहारिक तालिम र उद्योगको वास्तविक आवश्यकतालाई सम्बोधन गर्न चुकेको विषयमा सबैजसो सहभागीहरू एकमत थिए ।
रामलक्ष्मण इनोभेसनका संस्थापक रामप्रसाद रिमालले उद्योगले “रेडी-मेड” अर्थात् काम गर्न तयारी अवस्थामा रहेको जनशक्तिको अपेक्षा राख्ने गरेको बताए । उनको भनाईमा यसका लागि स्नातक तहमा अध्यापन गराउँदा नै विद्यार्थीहरूलाई विश्वविद्यालयस्तरबाट नै उत्पादनशीलतामा लगाउन आवश्यक छ ।
छलफलमा नेपालका विश्वविद्यालयहरूले आफ्नो पाठ्यक्रमलाई उद्योगको आवश्यकता र प्रचलित प्रविधिसँग मेल खानेगरि परिवर्तन गर्न नसकेको विषय समेत उठेको थियो । पुरानो प्रविधिमा नै आधारित रहेका प्रायः पाठ्यक्रम र व्यावहारिक तालिमको अभावले विद्यार्थीलाई काम गर्न जाँदा आवश्यक पर्ने सीप र दक्षताबाट टाढा राख्ने गरेको छ ।
इन्जिनियरिङ जस्ता नवीन आविष्कारसँग जोडिएको विषयमा तीन महिनाको इन्टर्नशिप कार्यक्रमलाई दक्षता बढाउन भन्दा पनि पास हुने माध्यमका रूपमा लिइएको सहभागीहरूले बताए । त्यस्तै स्नातक तहको अन्त्यमा तयार पार्नुपर्ने प्रोजेक्ट पनि शैक्षिक अनिवार्यताको रूपमा मात्र हेरिने गरेको र नयाँ आविष्कार ल्याउनमा चासो नराखिएको विषयले पनि चर्चा पाएको थियो ।
कार्यक्रममा नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) का वरिष्ठ प्राविधिक अधिकृत तथा प्यानल छलफलका मध्यस्तकर्ता रोशन पाण्डेले प्रायः विद्यार्थीहरूले स्नातक पास भएपछि विदेश जाने सोच राख्ने गरेको बताए । जस कारण नेपालका कम्पनीहरूले पनि विदेश जान नचाहने जनशक्ति राख्न चाहने गरेको उनले भनाई थियो ।
त्यस्तै, शिक्षण संस्थाहरूले अनुसन्धान गरेर उद्योगहरूको समस्या समाधानका लागि उपाय खोज्ने अभ्यास नेपालमा नपाइएको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयकी वरिष्ठ डिभिजनल इन्जिनियर मनीषा महर्जनले टिप्पणी गरिन् । विश्वविद्यालयबाट भएका रिसर्च उद्योगहरूको समस्या समाधानका लागि प्रयोग गरिएमा अनुसन्धान र नवप्रवर्तनलाई व्यवसायीकरण गर्न सकिने उनले बताइन् ।
सरकारका तर्फबाट केही सुधारात्मक कदमहरू चालिएको उनले सुनाइन् । उनका अनुसार सरकारले अनुसन्धान, नवप्रवर्तन, र स्टार्टअपहरूलाई प्रवर्धन गर्न अनुदान र कोषको व्यवस्था गरेको छ। विश्वविद्यालय अनुदान आयोग (UGC) ले अनुसन्धानका लागि अनुदान उपलब्ध गराउँदै आएको उनले बताइन् । सरकारले एक अर्ब रुपैयाँको नवप्रवर्तन कोष स्थापनाको योजना अगाडि सारेको छ।
यसका लागि सरकार ऐन बनाउने प्रक्रियामा रहेको र मस्यौदा तयार गरेर सम्बन्धित निकायमा स्वीकृतिका लागि पठाइएको जानकारी उनले दिइन् । यस्तै पेटेन्ट प्रणालीमा पनि व्यापक सुधारको खाँचो रहेको निष्कर्ष छलफलले निकालेको थियो ।
बौद्धिक सम्पत्तिको सुरक्षाको जिम्मेवारी लिन नसक्दा नवप्रवर्तनकर्ताहरू आफ्ना आइडियाहरू सरकारसँग शेयर गर्न डराउने स्थिति रहेको महर्जनले स्विकारिन् । हालसम्म ८९ ओटा आइडियाको मात्र पेन्टेट दर्ता भएको छ । सरकारले सन् २०३० सम्म ५०० आइडियाको पेटेन्ट गर्ने लक्ष्य राखेको छ । तर प्रक्रियागत अस्पष्टताका कारण लक्ष्य पूरा गर्न चुनौती रहेको उनको स्वीकारोक्ति थियो ।
यता रिमाल र चौलागाई भने प्रक्रिया जटिल नभएमा इनोभेसनमा समस्या नरहेको बताउँछन् । रिमालले भने, "वार्षिक ४४ सय विद्यार्थी पास हुन्छन् । उनीहरूले प्रोजेक्टका लागि १२ सय ओटा इनोभेटिभ आइडिया ल्याउँछन् । त्यसमा ५०० ओटाको पेन्टेट दर्ता गर्न ठुलो समस्या हुन्छ जस्तो लाग्दैन । "
यस्तै इन्जिनियर महर्जनले नयाँ स्टार्टअप र नवप्रवर्तनकर्तालाई सजिलो बनाउने गरी सरकारले कम्पनी दर्ता शुल्क घटाएको बताइन् । सरकारले नीतिगत सुधारका लागि प्रयास गरिरहेको उनको भनाइ थियो ।
छलफलमा सहभागीहरूले नेपालमा उद्योग, सरकार, र शैक्षिक संस्थाबिचको सहकार्यलाई सुधार गर्न साझा प्रयास आवश्यक रहेको बताए । यस प्रकारका पहलले दीर्घकालीन रूपमा नेपालको शैक्षिक र औद्योगिक क्षेत्रबिचको सहकार्यमा सुधार ल्याउने र देशलाई नवप्रवर्तनशील बनाउन सघाउने विश्वास गरिएको छ।
‘राष्ट्रिय नवीनताका लागि सरकार, उद्योग र शैक्षिक संस्थाको साझेदारी’ विषयमा केन्द्रित छलफल कार्यक्रममा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयकी सिनियर डिभिजनल इन्जिनियर मनीषा महर्जन, थापाथली क्याम्पसका सहायक क्याम्पस प्रमुख ई राजकुमार चौलागाईं, र रामलक्ष्मण इनोभेसनका संस्थापक ई रामप्रसाद रिमालले क्रमशः सरकार, शैक्षिक क्षेत्र र उद्योगको प्रतिनिधित्व गरेका थिए।
नेपाल डिजिटल इनोभेसन नेटवर्कले आयोजना गरेको कार्यक्रममा रोबोटिक्स एसोसियसन नेपाल, डेटा फर डेभलपमेन्ट इन नेपाल, द एसिया फाउन्डेसन र नक्सा (NAXA) को सहकार्य रहेको थियो ।