काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई टिकटकर अंशु वर्मा र मिस पवीले भेटेका छन् । बिहीबार सामाजिक सञ्जालमा पोस्ट राख्दै प्रधानमन्त्री ओलीले टिकटकरहरूलाई भेटेको र भेटमा सामाजिक सञ्जालको महत्त्व र यसको व्यवस्थित सञ्चालनबारे छलफल भएको जानकारी दिए ।
टिकटकरबाट कलाकारसमेत बनेका अंशु वर्मा र मिस पवीले टिकटकलाई अघिल्लो सरकारले जस्तो बन्द नगर्न र यसलाई व्यवस्थित गरेर सञ्चालन गर्न सुझाव दिएका थिए । उनीहरूले टिकटक युवापुस्ताका लागि मनोरञ्जन र प्रतिभा प्रस्फुटनको माध्यम भएकाले यसलाई बन्द गर्नुको सट्टा नियमन गर्नुपर्ने धारणा राखे ।
प्रधानमन्त्री ओलीले उनीहरूको सुझावलाई सकारात्मक रूपमा लिएको बताएका छन् । "आज दिउँसो आन्तरिक काममा व्यस्त थिएँ । सामाजिक सञ्जालका प्रतिभावान् क्रिएटर मिस पवी र अंशु वर्मासँग साँझ कुराकानी भयो । उहाँहरूले टिकटकलाई अघिल्लो सरकारले जसरी बन्द नगर्न र व्यवस्थित गरेर सञ्चालन गर्न सुझाव दिनुभयो," प्रधानमन्त्री ओलीले फेसबुक पोस्टमा लेखेका छन् ।