काठमाडौँ । ‘झोले’ र ‘म झोले हो’ भन्ने शब्दहरू सामाजिक सञ्जाल फेसबुकको ट्रेन्डिङमा देखिएका छन् । सोमबार नेकपा (एमाले)ले ‘म झोले हो’ भन्ने अभियान सुरु गरेसँगै यी शब्द ट्रेन्डिङमा आएका हुन् ।
प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली लगायत पार्टीका नेता तथा कार्यकर्ताले ‘म झोले हो’ भन्दै सामाजिक सञ्जालमा यस्तो अभियान सुरु गरेका थिए । त्यससँगै यो नयाँ ट्रेन्डको पक्ष र विपक्षमा अनेक चर्चा परिचर्चा सुरु भइरहेको छ ।
फेसबुकमा ‘झोले’ र ‘म झोले हो’ जस्ता शब्द खोज्दा ‘पपुलर नाउ’ मा देखिन थालेका छन् । कुनै विषयवस्तु अत्यधिक खोजिँदा वा त्यसबारे धेरै पोस्ट हुँदा यस किसिमको ट्रेन्डिङमा देखा पर्ने गर्छ ।
प्रधानमन्त्री ओलीले सोमबार उक्त पोस्टर फेसबुकमा शेयर गर्दै लेखेका थिए, “सामाजिक सञ्जालमा झोले भनेर खेदिएकै भरमा सत्य अँगाल्न नछोडौँ ।” यसैलाई एमाले निकट नेता तथा कार्यकर्ताले सकारात्मक रूपमा लिँदै आफ्नो फोटोसहित उक्त पोस्टर व्यापक शेयर गरिरहेका छन् ।
अर्कोतिर उनका आलोचक आम सर्वसाधारण तथा विभिन्न राजनीतिक दलका व्यक्तिले भने ‘झोले’ शब्दलाई फरक-फरक कोणबाट ट्रोल तथा मिमको विषय बनाएका छन् । केहीले ‘झोले’ को अर्थ ‘कुनै तर्क वा विवेक प्रयोग नगरी नेताको अन्धभक्ति गर्ने व्यक्ति’को रूपमा अर्थ्याएका छन् । जबकि एमाले निकट नेता कार्यकर्ताले भने यही शब्दलाई सकारात्मक रूपमा पनि लिएका छन् ।
प्रधानमन्त्रीको आलोचना गर्नेहरूले अब उनले ‘म भ्रष्टाचारी हो’ भन्ने अभियान चलाउनुपर्ने भन्दै व्यङ्ग्य समेत गरेका छन् ।
यता उनका समर्थकले ‘जनता, पार्टी र देश’को झोले हुनुमा गर्व रहेको प्रतिक्रिया दिएका छन् । त्यस्तै प्रधानमन्त्री ओलीले ‘म झोले हो’ ट्रेन्ड भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको ‘मैं भी चौकिदार’ अभियानबाट कपी गरेको टिप्पणी समेत गरेका छन् ।
फेसबुकमा #झोले ह्यासट्याग प्रयोग गरेर मात्रै हालसम्म ६,५०० भन्दा बढी पोस्ट भएका छन् । ‘झोले’ र ‘म झोले हो’ शब्द कतिपटक प्रयोग गरिएको छ भन्ने चाहिँ यकिन छैन ।