close

कारबाही खानु परेको भन्दै उत्कृष्ट अस्पताल बनाएका डा श्रेष्ठ फेसबुकमा सुसाइड नोट लेखेर बेपत्ता

टेकपाना टेकपाना

असार २, २०८२ ११:५७

कारबाही खानु परेको भन्दै उत्कृष्ट अस्पताल बनाएका डा श्रेष्ठ फेसबुकमा सुसाइड नोट लेखेर बेपत्ता

काठमाडौँ । रामेछाप अस्पतालबाट अस्पतालबाट हेटौँडा सरुवा गरिएका डाक्टर केशव श्रेष्ठ फेसबुकमा सुसाइड नोट लेखेर बेपत्ता भएका छन् । आइतबार बिहान करिब साढे १० बजेतिर फेसबुकमा स्टाटस लेखेका रामेछाप अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट गल्ती बिनाको सजाय दिएर आत्म'हत्या गर्न बाध्य पारिएको भन्दै सम्पर्क विहीन भएका हुन् ।

डा गगन अधिकारी रामेछाप अस्पतालबाट सरुवा भएर गए पनि डाक्टर नर्सहरूलाई आफू विरुद्ध प्रयोग गरेको, केदार कार्कीले आफूले भनेका मान्छेलाई जागिर नलगाएको भन्दै झुटा आरोप लगाएर आफ्नो सरुवा गराएको आरोप उनले लगाएका छन् । "मैले आफ्नो कुरा राख्न खोजेँ, तर सुनुवाइ कतै भएन । न स्वास्थ्य मन्त्रालयको मन्त्रीले, न स्वास्थ्य मन्त्रालयको सचिवले नै सुन्नु भयो," उनले लेखेका छन् ।

२८ जेठ २०८२ का दिन दिउँसो ३ बजे छानबिन समिति अस्पताल आएर १ घण्टापछि ४ बजे तिर सरुवाको पत्र दिएको र २४ घण्टमा मन्त्रालयमा हाजिर हुन आउनु भनिएको कुरा न्यायोचित नभएको डा श्रेष्ठको भनाई छ । नोट अनुसार उनलाई १६ ओटा टाँका अनि दुई वर्षकी छोरी र श्रीमतीलाई लिएर राति ९ बजे रामेछापबाट काठमाडौँ आउन बाध्य पारिएको थियो । बिहान ४ बजे काठमाडौँ आइपुगेपनि ८ बजे फेरि हाजिर हुन उनी हेटौँडा पुगेका थिए ।

हेटौँडा पुगेपछि मन्त्रालयका प्रमुख प्रशासकीय अधिकृतले अमानवीय व्यवहार गर्दै बर-बुझारथ गर्न नपाउँदै गाडी खोसेको, हाजिर पनि नगरेको व्यक्तिलाई गाडीमा रामेछाप पठाएको र आफूलाई अमानवीय व्यवहार गरी हेटौँडामा अलपत्र पारेको कुरा उनले उल्लेख गरेका छन् । डा श्रेष्ठले धेरै दुःख दिइएको, सहन नसकी जिन्दगीबाट नै हार खाएको र कतैबाट साथ सहयोग समेत पाउन नसकेको बताएका छन् ।

"म बाँचे भने न्याय पाउँछु जस्तो लागेन । असत्यको जीत भएको पनि मूकदर्शक भएर बस्न पनि मन लागेन," उनले अगाडि लेखेका छन् । दुर्गममा दुई वर्ष बसेर उनले रामेछाप अस्पताललाई १४ बेडमा नेपालकै उत्कृष्ट बनाएका थिए । अहिले ४० बेड क्षमतामा विस्तारित सो अस्पताल बागमतीकै दोस्रो उत्कृष्ट मानिन्छ ।

पछिल्लो अध्यावधिक: असार २, २०८२ १२:३