close

निजी क्षेत्रको पहलमा नेपाल-श्रीलंकाबिच सूचना प्रविधिमा रणनीतिक साझेदारी सुरु

टेकपाना टेकपाना

जेठ २९, २०८२ ८:१५

निजी क्षेत्रको पहलमा नेपाल-श्रीलंकाबिच सूचना प्रविधिमा रणनीतिक साझेदारी सुरु

काठमाडौँ । निजी क्षेत्रको पहलमा नेपाल र श्रीलंकाबिच सूचना तथा सञ्चार प्रविधि (आईसीटी) क्षेत्रमा रणनीतिक साझेदारी सुरु गरिएको छ । ‘नेपाल–श्रीलंका आईसीटी एलायन्स २०२५’ शीर्षकमा अगाडि बढाइएको यो पहलले दक्षिण एसियाको डिजिटल सहकार्यलाई संस्थागत गर्ने लक्ष्य लिएको छ ।

कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान) का वरिष्ठ उपाध्यक्ष चिरञ्जीवी अधिकारीको नेतृत्वमा तयार गरिएको रणनीतिक साझेदारी अवधारणा काठमाडौंस्थित श्रीलंकाको राजदूतावासमा कार्यवाहक राजदूत चमेरीरा मुनासिंघेलाई औपचारिक रूपमा हस्तान्तरण गरिएको छ । सो अवसरमा शिक्षाविद् एवं क्यान सदस्य ओमकार बस्नेत पनि उपस्थित थिए ।

साझेदारीअन्तर्गत नेपाल–श्रीलंका सूचना प्रविधि व्यापार परिषद् गठन गरिनेछ । उक्त परिषद् क्यान महासंघ, श्रीलंका एसोसिएसन फर सफ्टवेयर सर्भिसेज कम्पनीज र आईसीटीए श्रीलंकाबिचको सहकार्यमा गठन गरिनेछ ।

उक्त पहलले आर्टिफिसियल इन्टेलिजेन्स, साइबर सुरक्षा, वित्त प्रविधि, आउटसोर्सिङ, स्टार्टअप प्रवर्द्धन, इनक्युबेसन लगायतका क्षेत्रमा व्यापार मिलान, प्रविधि आदानप्रदान तथा संयुक्त लगानी र नवप्रवर्तनमा सहकार्य गर्ने बताइएको छ ।

दुवै देशबिच प्रविधि जनशक्ति आदानप्रदान, सीप र प्रमाणपत्रहरूको पारस्परिक मान्यता तथा सफ्टवेयर डेभलपमेन्ट, क्लाउड कम्प्युटिङ, बीपीओ, साइबर सुरक्षामा सहकार्य गरिने बताइएको छ । साथै, नेपालका एनपीसर्ट र श्रीलंकाका सर्टबिच साइबर सुरक्षा सूचना साझेदारी, संयुक्त प्रतिक्रिया (रेस्पोन्स) र दक्षता विकास कार्यक्रम सञ्चालन गरिनेछ ।

त्यस्तै दुवै देशका प्रविधि मेला, बी-टू-बी सम्मेलन, स्टार्टअप प्रदर्शनी तथा नीति संवादमा परस्पर सहभागिता सुनिश्चित गर्ने योजना छ । विश्वविद्यालय तथा अनुसन्धान संस्थाबिच विद्यार्थी र प्राध्यापक आदानप्रदान तथा आर्टिफिसियल इन्टेलिजेन्स, ब्लकचेन र डेटा विश्लेषणमा पनि संयुक्त अनुसन्धान गरिने सहमति भएको छ ।

भविष्यमा ‘नेपाल–श्रीलंका डिजिटल करिडोर’ निर्माण गरी दक्षिण एसियामा डिजिटल केन्द्रका रूपमा दुवै मुलुकलाई स्थापित गर्ने दीर्घकालीन योजना समेत साझेदारीमा समावेश गरिएको छ ।

क्यान महासंघका महासचिव चन्द्रविलास भुर्तेलले यो साझेदारीले दुवै देशको सूचना प्रविधि क्षेत्रलाई दिगो रूपमा अगाडि बढाउने विश्वास व्यक्त गरेका छन् ।


 

पछिल्लो अध्यावधिक: जेठ २९, २०८२ ८:१५