काठमाडौँ । एप्पलको लागि आईफोन उत्पादन गर्ने ताइवानी कम्पनी फक्सकनले अब जापानी अटो कम्पनी मित्सुबिसी मोटर्सका विद्युतीय सवारी साधन (ईभी) बनाउने भएको छ । फक्सकन र मित्सुबिसीबिच हालै ईभीको डिजाइन र उत्पादनमा सहकार्य गर्ने प्रारम्भिक सम्झौता भएको छ ।
दुवै कम्पनीबीच भएको समझदारी अनुसार सवारी साधन फक्सकन र युलन मोटरको संयुक्त उद्यम कम्पनी फक्सट्रोनले निर्माण गर्नेछ । फक्सट्रोनले उत्पादन गरेका ईभी सन् २०२६ को अन्त्यदेखि बजारमा आउने अनुमान छ ।
फक्सकन विश्वको सबैभन्दा ठुलो इलेक्ट्रोनिक्स उत्पादन कम्पनी हो । यसले एप्पलजस्ता ठुला प्रविधि कम्पनीहरूका लागि उत्पादन गर्दै आएको छ । अब यो कम्पनी अटोमोबिल क्षेत्रमा पनि विस्तार हुने क्रममा छ । यसअघि कम्पनीले जापानको निसान मोटरमा लगानी गर्ने सम्भावनाको संकेत पनि दिएको थियो ।
मित्सुबिसी हाल निसान र फ्रान्सेली अटो कम्पनी रेनोको गठबन्धनमा साझेदारको रूपमा संलग्न छ । तर, पछिल्ला वर्षहरूमा बीवाईडी जस्ता चिनियाँ कम्पनीले अन्तर्राष्ट्रिय बजारमा तीव्र रूपमा उपस्थिति बढाउँदै गएपछि जापानी कम्पनीहरू दबाबमा परेका छन् ।