close

अब नेपाल राष्ट्र बैँक, विद्युत् प्राधिकरण जस्ता सरकारी संस्थाले आफ्नो डोमेन नाम 'फेर्नुपर्ने'

टेकपाना टेकपाना

असार १, २०८२ १४:१९

अब नेपाल राष्ट्र बैँक, विद्युत् प्राधिकरण जस्ता सरकारी संस्थाले आफ्नो डोमेन नाम 'फेर्नुपर्ने'

काठमाडौँ । डट जीओभी डट एनपीको साटो डट ओआरजी डट एनपी प्रयोग गरिरहेका सरकारी संस्थाको डोमेन नाम फेरिने भएको छ । सरकारले केही दिन अघि सङ्घीय संसद्‌मा दर्ता गरेको सूचना प्रविधि तथा साइबर सुरक्षा विधेयकमा सरकारी डोमेन नाममा एकरूपता ल्याउने गरी राखिएको प्रस्तावले केही सरकारी निकायलाई प्रभावित पार्ने देखिएको हो ।

विधेयकको परिच्छेद-५ मा डोमेन नाम, दर्ता र व्यवस्थापन सम्बन्धी व्यवस्था छ । जस अन्तर्गत रहेको दफा ४० को उपदफा ४ मा सरकारी निकायले आफ्नो कार्यालयको डोमेन नाम गभर्मेन्ट डट एनपी अन्तर्गत दर्ता गर्नुपर्ने प्रावधान राखिएको छ । यही व्यवस्थाले गर्दा डट ओआरजी रहेका सरकारी संस्थाहरूको डोमेन नेम फेरिने भएको हो ।

नेपाल विद्युत् प्राधिकरण, नेपाल राष्ट्र बैँक, नगर विकास कोस, नेपाल स्वास्थ्य अनुसन्धान परिषद्‌ जस्ता सरकारी संस्थाहरूले डट जीओभी डट एनपी नभएर डट ओआरजी डट एनपी डोमेन नाम प्रयोग गर्दै आएका छन् ।

संसद्‌मा दर्ता भएको विधेयक समितिमा दफावार छलफल भए पश्चात् दुवै सदन मार्फत् पारित हुनेछ । पारित विधेयकमा यही प्रस्तावित व्यवस्था कायम रहेको तथा प्रमाणीकरण भएको खण्डमा डट ओआरजी डोमेन प्रयोग गरिरहेका सरकारी संस्थाले आफ्नो डोमेन नाम परिवर्तन गर्नुपर्नेछ । यस्तो अवस्थामा nrb.org.np रहेको राष्ट्र बैँकको डोमेन नाम फेरिएर उदाहरणको रूपमा nrb.gov.np वा nrb.org.gov.np हुन सक्नेछ । 

पछिल्लो अध्यावधिक: असार १, २०८२ १४:१९