close

ओखरका घडी र चश्मा बनाउने नेपाली स्टार्टअप

मेनुक्श मेनुक्श

कात्तिक १६, २०७८ १५:२३

ओखरका घडी र चश्मा बनाउने नेपाली स्टार्टअप

काठमाडौं । तिहारको रमझम बढिरहेको छ । यससँगै उपभोग्य सामग्रीहरूको बजार पनि तातेको छ । उपहारका लागि विशेष लाग्ने सामग्री हरकोहीले खोजिरहेका छन् ।

अब यस्त‍ोमा आफूले दिएको उपहार नौलो र आकर्षक होस् भन्ने लाग्नु स्वभाविक नै हो । केही फरक र आफ्नो छुट्टै पहिचान स्थापित गर्न बजारमा विभिन्न ब्राण्डले सक्दो प्रयास गरिरहेका हुन्छन् । त्यस्तै एउटा कम्पनीको नाम हो, ‘ओखर स्टोर’

याे कम्पनीले एक वर्षदेखि ओखरको काठले बनेका घडी, मोबाइल कभर, घडीको स्ट्राप, झुम्का, चश्मालगायतका सामग्री बजारमा बिक्री गरिरहेको छ । 

पर्यावरणमैत्री उपभोग्य सामग्रीको प्रयोजन बढाउने उद्देश्यले ओखर प्रडक्सनको सुरुवात भएको कम्पनीका संस्थापक प्रकाश दाहालले बताए ।

ओखरकै काठको घडी बनाउने अवधारणा कसरी आयो भन्ने हाम्रो प्रश्नमा कम्पनीका संस्थापक दाहाल भन्छन्, ‘केही वर्षअघि मेरो एकजना साथी, जो विदेश बसेर आएको थियो, उसको हातमा मैले अनौठो घडी देखेँ । उसलाई त्यो घडीको बारेमा सोध्दा वाल्नटको घडी हो भन्यो । जसलाई अनुवाद गर्दा ओखर भन्ने भयो । जुन कुरा ठ्याक्कै मैले सोचिरहेको कुरासँग मिल्न आयो ।’

अन्तर्राष्ट्रिय बजारमा यसको प्रयोग व्यापक भइसकेको भएता पनि नेपालमा भने यो नयाँ हो । अध्ययनमा लामो समय लगाइसकेपछि गत तिहारबाट आफ्ना उत्पादन बजारमा ल्याउने योजना बन्यो ।

उनी भन्छन्, हाम्रो उत्पादनको विकल्पका रुपमा बजारमा पहिल्यै धेरै सामग्री उपलब्ध भएका हुनाले केही फरक सोच्नु जरुरी थियो । घडीको पछाडि ब्राण्डको नाम लेखेर बचेको ठाउँमा उनले ग्राहकको चाहनाअनुरुप केही लेख्ने सोच बनाए, जसमा नाम अथवा बोलाउने नामको अगाडि ‘मेरो प्यारो’ लेख्ने गरिएको छ ।

काठमा नाम खोपिएको सामग्री व्यक्तिविशेषका लागि बनेको हुन्छ । यस्ता उपहारहरू अमीट, अनुपम र सदावहार हुने हुनाले ग्राहकको भावानासँग जोडिएको हुन्छ ।

ओखर प्रडक्सनका उत्पादन विशेषगरी तिहार, नयाँ वर्ष, भ्यालेनटाइन्स डे र रक्षाबन्धनमा धेरै माग हुने गरेका छन् । सामान्यतया काठलाई गर्नुपर्ने स्याहार गर्दा पुग्ने हुनाले काठबाट बनेका सामग्रीहरू तुलनात्मक रुपमा किफायती नभएको दाहाल बताउँछन् ।

कम्पनीले पहिलो चरणमा ४० वटा घडी निर्माण गर्यो, जसलाई काष्ठमण्डप नामाकरण गरिएको छ ।

काठको घडी भन्ने वित्तिकै सुरुमा त ग्राहकहरूको विश्वास जित्न सकिँदैन कि भन्ने डर दाहाललाई थियो ।

तर उत्पादनमा दक्ष जनशक्तिको प्रयोग गरेको हुनाले घडीमा कमजोरी देखिएन । फलस्वरुप ओखरका उत्पादनहरू उपभोक्ताका लागि प्रिय बन्न पुगे ।

उनका अनुसार, आशा गरिएको भन्दा राम्रो रुचाइएपछि काम गर्ने ऊर्जा बढ्दै गयो । २० लाखको लगानीमा सुरूवात भएको कम्पनीको काममा विस्तारै लगानी पनि बढ्दै गयो । दाहालसँग आर्थिक रुपमा जोडिने थप चारजना साथी पनि छन् ।

अहिले व्यापार चित्तबुझ्दो चलिरहेको त छ नै, साथै उनले पाँच जनालाई नियमित जागिर पनि दिइरहेका छन् ।

बजारमा आउन उनकाे टिमले अधिक रूपमा अनलाइन प्लेटफर्महरूकाे प्रयाेग गरिरहेकाे छ । अहिले फेसबुक, इन्स्टाग्राम र कम्पनीको वेबसाइट मार्फत अर्डर लिइरहेका छन् । अर्डर पश्चात नेमप्लेट राखेर दुई दिनभित्रमा ग्राहकको हातमा सामान पुर्याउने गरेको दाहालले सुनाए ।

‘उपत्यकाबाहिर पोखरा, विराटनगर, इटहरी, झापा लगायतका ठाउँबाट ग्राहक जोडिएका छन् । सेवालाई वृहत बनाउन कम्पनीले केही लजिस्टिक कम्पनीसँग पनि समन्वय गरिसकेको छ,’ उनले भने ।

नेपालमा उपलब्ध स्रोतसाधनको उपयोग गरी स्थानीय उत्पादनलाई जोड दिने दाहालको योजना थियो । यद्यपि कानूनी झमेला, सम्बन्धित निकायको चासो कम र कामदारको पहुँच न्यून भएकाले बाहिरबाट सामग्री आयात गर्न उनी बाध्य भए ।

‘अहिले घडीको मेकानिकल पार्ट्सका लागि जापानबाट र ओखरको काठ चिनियाँ बजारबाट आयात भइरहेको छ,’ उनले सुनाए ।

‘ओखरको काठबाट घडी बनाउने कुराले पर्यावरणमा झनै नकरात्मक असर पर्छ’ भन्ने प्रश्न झेलिरहेका दाहालले यसको उपाय पनि सोचिसकेका छन् ।

कम्पनी एकवर्ष पुगेलगत्तै प्रतिघडी एक रुख लगाउने उनको योजना रहेको छ । आफ्नो संकल्पमा दृढ रहेको र विभिन्न संस्थासँगको समन्वयमा तिहार लगत्तै वृक्षारोपण गर्ने तयारी भइरहेको पनि उनले बताए ।

काष्ठमण्डप सिरिजको पहिलो र दोस्रो चरणको उत्पादनमा कम्पनीले एक वर्षभित्र एक हजार भन्दाबढी घडी बिक्री गरिसकेको छ । साथै कम्पनीले ग्राहकको प्रतिक्रियालाई मध्येनजर गर्दै परिमार्जित सिरिज ल्याउने तयारी गरिरहेको छ ।

आगामी सिरिजलाई मुर्चुङ्गा र कालोपत्थर नामाकरण गरिएको दाहालले बताए ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१