close

भारतीय रक्षा संस्थामाथि पाकिस्तानको साइबर हमला ! संवेदनशील डेटा चोरी गरेको दाबी

टेकपाना टेकपाना

बैशाख २२, २०८२ २०:५७

भारतीय रक्षा संस्थामाथि पाकिस्तानको साइबर हमला ! संवेदनशील डेटा चोरी गरेको दाबी

काठमाडौँ । पाकिस्तानी ह्याकर ग्रुप ‘पाकिस्तान साइबर फोर्स’ ले भारतीय रक्षा संस्थाका वेबसाइट ह्याक गरेर संवेदनशील जानकारी हात पारेको दाबी गरेको छ । उक्त ह्याकर ग्रुपले भारतीय मिलिटरी इन्जिनियरिङ सर्भिसेज (एमईएस), मनोहर पर्रिकर इन्स्टिच्युट फर डिफेन्स स्टडिज एन्ड एनालिसिस (एमपी-आईडीएसए) लगायतका वेबसाइटमा पहुँच जमाएको बताएको हो ।

यो कथित साइबर हमला पहलगाममा भएको आतंकवादी आक्रमणपछि भारत-पाकिस्तान सम्बन्धमा चर्किएको तनावबिच भएको हो । ह्याकर ग्रुपले सामाजिक सञ्जाल ‘एक्स’ मार्फत पोस्ट गर्दै भारतीय रक्षा कर्मचारीहरूको व्यक्तिगत विवरणसहित लगइन क्रेडेन्सियल्स जस्ता संवेदनशील जानकारी हात पारेको दाबी गरेको भन्दै भारत र पाकिस्तानका अनलाइन सञ्चारमाध्यमहरूले समाचार प्रकाशित गरेका छन् ।

तर, मनोहर पर्रिकर इन्स्टिच्युट फर डिफेन्स स्टडिज एन्ड एनालिसिसका उच्च अधिकारीले एएनआई समाचार एजेन्सीमार्फत आफ्नो वेबसाइट ह्याक नभएको दाबी गरेका छन् ।

यसबिच साइबर सुरक्षासम्बन्धी निकायहरूले घटनाको तत्काल अनुसन्धान थालेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । घटनाबारे जानकारी राख्ने भारतीय अधिकारीहरूले ह्याकरको दाबीबारे जानकारी रहेको जनाएका छन् । उनीहरूका अनुसार ह्याकरहरूले रक्षा क्षेत्रका कर्मचारीहरूको निजी विवरणमा पहुँच बनाएको आशंका गरिएको छ ।

यसबाहेक पाकिस्तान साइबर फोर्सले भारतको रक्षा मन्त्रालयअन्तर्गत सार्वजनिक क्षेत्रको कम्पनी ‘आर्मर्ड भेइकल निगम लिमिटेड’ को वेबसाइट पनि डिफेस गर्न खोजेको रिपोर्ट गरिएको छ । ह्याकरले वेबसाइटमा पाकिस्तानको झण्डा र ‘अल खालिद’ ट्याङ्क राखेको दाबी भारतीय अधिकारीहरूले गरेका छन् ।

भारतीय सुरक्षा निकायहरू अहिले सम्भावित क्षति र साइबर सुरक्षामा कमजोरीबारे विस्तृत मूल्याङ्कनमा जुटेको हिन्दुस्तान टाइम्सले लेखेको छ ।

पछिल्लो अध्यावधिक: बैशाख २२, २०८२ २२:३९