काठमाडौँ । अमेरिकाको एक सङ्घीय अदालतले इजरायली जासुसी सफ्टवेयर (spyware) कम्पनी एनएसओ ग्रुपले ह्वाट्सएप (WhatsApp) तथा यसको मूल कम्पनी मेटा (Meta) लाई करिब १७ करोड डलर (करिब २२ अर्ब ६४ करोड रुपैयाँ) क्षतिपूर्ति तिर्नुपर्ने आदेश दिएको छ । सन् २०१९ मा करिब १,४०० ह्वाट्सएप अकाउन्ट ह्याक गर्नका लागि कम्पनीको साइबर उपकरण प्रयोग गरिएको सम्बन्धमा यो आदेश आएको हो ।
सोमबार आएको फैसला अनुसार, एनएसओ ग्रुपले ह्वाट्सएपलाई लगभग १६ करोड ७० लाख डलर दण्डात्मक क्षतिपूर्ति (punitive damages) र चार लाख ४० हजार डलर भन्दा बढी क्षतिपूर्ति (compensatory damages) तिर्नुपर्नेछ । एनएसओ ग्रुप हालका वर्षहरूमा स्पाइवेयर सफ्टवेयर बजारको एक प्रमुख खेलाडी बनेको छ, जसलाई विभिन्न देशका सरकारहरूले असन्तुष्ट (dissidents), पत्रकार, र राजनीतिज्ञहरूको निगरानी गर्न प्रयोग गर्छन् । सन् २०१९ मा सुरु भएको कानुनी लडाइको पछिल्लो कडीको रूपमा यो फैसला आएको हो ।
ह्वाट्सएपले सन् २०१९ मा अदालतमा उजुरी दर्ता गरेको थियो, जसमा भिडिओ कलिङ सिस्टम दुरुपयोग गरेर करिब १,४०० ह्वाट्सएप प्रयोगकर्ताहरूलाई मालवेयर पठाउन खोजिएको कुरा उल्लेख थियो । यी प्रयोगकर्ताहरूमध्ये धेरै नागरिक समाज समूहका लागि काम गर्थे ।
यसअघि, एनएसओ ग्रुपलाई ह्वाट्सएप प्रयोगकर्ता अकाउन्ट ह्याक गरेकोमा दोषी ठहर गरिएको थियो । यो फैसलाले जासुसी तथा दुर्भावनापूर्ण सफ्टवेयर बनाउने कम्पनीहरू विरुद्ध मुद्दा चलाउनको लागि एउटा नजिर स्थापित गरेको छ । न्यायाधीश फिलिस ह्यामिल्टनले सन् २०१९ को अभियानमा सङ्घीय र क्यालिफोर्निया ह्याकिङ कानुनहरू उल्लङ्घन गरेको र ह्वाट्सएपको सेवा सर्तहरू तोड्ने कार्यमा एनएसओ ग्रुप दोषी रहेको निर्णय सुनाएका थिए ।
मेटाले यस फैसलालाई गोपनीयता र सुरक्षाको लागि ठुलो जितको रूपमा लिएको छ । कम्पनीले यो ‘अवैध जासुसी सफ्टवेयरको विकास र प्रयोग विरुद्धको पहिलो जित’ भएको बताएको छ । मेटाले जासुसी सफ्टवेयर दुरुपयोगबारे अध्ययन गर्ने अनुसन्धानकर्ताहरूलाई मद्दत गर्न एनएसओ ग्रुपका अधिकारीहरूको बयानको भिडिओ ट्रान्सक्रिप्टहरू सार्वजनिक गर्ने योजना बनाएको छ । यो प्रकरणमा प्राप्त हुने क्षतिपूर्ति डिजिटल अधिकारको क्षेत्रमा क्रियाशिल सङ्गठनहरूलाई दान गरिनेछ ।
एनएसओ ग्रुपले भने आफ्नो पेगासस (Pegasus) जासुसी सफ्टवेयर हाई-प्रोफाइल अपराधीहरूलाई समात्ने जस्ता असल कामहरूमा प्रयोग भएको तर्क गर्दै आएको छ । कम्पनीका ग्लोबल कम्युनिकेसनका उपाध्यक्ष गिल लाइनरले यो निर्णय एक ‘लामो कानुनी प्रक्रियाको अर्को चरण’ भएको र फैसलाको विवरणहरू ध्यानपूर्वक जाँच गरेर अपील सहित उपयुक्त कानुनी उपायहरू अपनाउने बताएका छन् । उनले आफ्नो प्रविधि गम्भीर अपराध र आतंकवाद रोक्न महत्त्वपूर्ण भूमिका खेल्न र आधिकारिक सरकारी निकायरूद्वारा जिम्मेवारीपूर्वक प्रयोग हुने बताएका छन् ।
सिटिजन ल्याबका वरिष्ठ अनुसन्धानकर्ता जोन स्कट-रेलटन ह्वाट्सएप अकाउन्टहरूको प्रारम्भिक ह्याकिङ अनुसन्धानमा सहयोग गरेका थिए । उनले एनएसओ ग्रुप उसको व्यवहारका लागि दण्डित हुन जरुरी बताएका छन् । "धेरै जसो अमेरिकी प्रविधि कम्पनीहरूलाई ह्याक गरेर लाखौँ कमाउँछ... ताकि तानाशाहहरूले असन्तुष्टहरूलाई ह्याक गर्न सकून्" उनले भनेका छन् । स्कट-रेलटनले यो फैसलाले एनएसओ ग्रुपलाई ‘गम्भीर रूपमा क्षति’ पुर्याएको र यसले उसका ग्राहकहरूलाई त्रासमा राख्ने बताएका छन् ।
यसअघि एप्पलले पनि आफ्ना ग्राहकहरूमाथि जासुसी सफ्टवेयर प्रयोग गरिएको भन्दै एनएसओ ग्रुप विरुद्ध मुद्दा दायर गरेको थियो । तर संवेदनशील डेटा खुल्ने डरले गत वर्ष सो मुद्दा फिर्ता लिएको थियो । सन् २०२१ मा एनएसओ ग्रुपलाई अमेरिकी वाणिज्य विभागको इकाई सूची (entity list) मा थपिएको थियो, जसले गर्दा यसलाई अमेरिकामा व्यापार गर्न गाह्रो भएको छ । युरोपेली संसदले पनि आफ्ना सदस्य देशहरूमा पेगाससको प्रयोगको अनुसन्धान गर्न एक समिति गठन गरेको छ ।
पेगासस सफ्टवेयर फोन, ल्यापटप र अन्य इलेक्ट्रोनिक उपकरणहरूमा इन्स्टल गरेर प्रयोगकर्ताहरूलाई थाहै नदिई जासुसी गर्न प्रयोग गरिन्छ । पहिला एनएसओ ग्रुपको सफ्टवेयरलाई फोनमा डाउनलोड गर्नका लागि प्रयोगकर्ताले ह्वाट्सएपमार्फत पठाइएका टेक्स्ट मेसेज वा फोटोहरूमा क्लिक गर्नुपर्ने हुन्थ्यो । तर नयाँ भर्सनहरूमा भने प्रापक प्रयोगकर्ताले कुनै प्रतिक्रिया नजनाए पनि पठाइएको टेक्स्ट मेसेजमार्फत फोन ह्याक गर्न सक्ने क्षमता राख्छन् । परीक्षणका क्रममा एनएसओ ग्रुपले अन्य मेसेजिङ एपहरू ह्याक गर्ने प्रविधि पनि विकास गरेको खुलासा भएको छ ।
यो फैसलालाई गैरकानुनी जासुसी सफ्टवेयर उद्योग विरुद्ध लड्न र डिजिटल गोपनीयताको रक्षा गर्न एक महत्त्वपूर्ण कदम मानिएको छ ।