काठमाडौं । यदि तपाईँको घरमा फिक्स्ड लाइन ब्रोडब्यान्ड इन्टरनेट (अप्टिकल तथा केबलमा आधारित) जोड्नु भएको छ भने पक्कै पनि परिवारमा भएका प्रायः सबैजसो सदस्यबीचमा शेयर हुन्छ होला । अर्को तरिकाबाट भन्नुपर्दा तपाईँको घरमा जोडेको एउटै इन्टरनेट लाइनमा तपाईँको घरमा भएका ल्यापटप, कम्प्युटर, मोबाइल, टेलिभिजन लगायतका अनेकौँ उपकरण जोडेर चलाउनु हुन्छ ।
अब एकछिन सम्झनुहोस् त, तपाईँको घरमा जोडिएको इन्टरनेट कति डिभाइस अथवा उपकरण बीच शेयर हुन्छ ? २, ४, ७, १० वा अझ त्यो भन्दा पनि धेरै । दूरसञ्चार क्षेत्रको नियामक नेपाल दूरसञ्चार प्राधिकरणले यसका लागि नेपालको औसत घरपरिवार सङ्ख्या ४.८८ लाई आधार मान्ने गरेको छ ।
यसको अर्थ एउटा फिक्स्ड लाइन इन्टरनेट औसतमा ४.८८ जनाबीच शेयर हुन्छ । यसमा अझ कति डिभाइसमा शेयर हुन्छ भनेर सोध्ने हो भने पक्कै पनि सामान्य जवाफ हुन्छ त्यसभन्दा अझ धेरै ।
स्वतन्त्र रजिस्ट्री निकायको रुपमा रहेको एप्निकले एसिया प्रशान्त क्षेत्रमा आईपी अड्रेस वितरण गर्छ । जसले इन्टरनेट सेवाप्रदायकहरूलाई ‘अटोनोमस सिस्टम नम्बर्स’ (एएसएन्स) उपलब्ध गराएको हुन्छ ।
त्यसैमार्फत इन्टरनेटमा सक्रिय रहेका डिभाइस तथा उपकरणको तथ्याङ्क एप्निकले राख्दै आएको छ । जुन तपाईँले यहाँ क्लिक गरी हेर्न सक्नुहुन्छ ।
एप्निकको तथ्याङ्क अनुसार इन्टरनेट सेवाप्रदायकहरूमध्ये सबैभन्दा बढी प्रयोगकर्ता वर्ल्डलिङ्कको नेटवर्कमा छन् । शीर्ष ११ कम्पनीको कुरा गर्ने हो भने त्यसपछि क्रमशः भायनेट, सुबिसु, वेबसर्फर, क्लासिकटेक, टेकमाइन्ड, ब्रोडलिङ्क, डिशहोम (सिम्पल मिडिया), फर्स्टलिङ्क, फाइबर वर्ल्ड र सिजीनेट रहेका छन् ।
अब नेपालमा एउटा कनेक्सनबाट औसतमा कतिवटा डिभाइसमा इन्टरनेट चल्छ भन्ने विषयमा कुरा गरौँ । यसका लागि सुरुमा प्राधिकरणको तथ्याङ्कबाट ग्राहक सङ्ख्या र एप्निकको तथ्याङ्कबाट प्रयोगकर्ता अथवा डिभाइस सङ्ख्या लिएर हेरौँ । त्यसपछि डिभाइस सङ्ख्यालाई ग्राहक अथवा कनेक्सन सङ्ख्याले भाग गरिदिउँ ।
सेवाप्रदायक
एप्निकको तथ्याङ्कमा प्रयोगकर्ता सङ्ख्या
प्राधिकरणको तथ्याङ्कमा कनेक्सन सङ्ख्या
प्रति कनेक्सनमा प्रयोगकर्ता
वर्ल्डलिङ्क
2,323,313
550579
4.22
भायनेट
706,876
155769
4.54
सुबिसु
675,731
243733
2.77
वेबसर्फर
318,857
74042
4.31
क्लासिकटेक
280,020
188303
1.49
टेकमाइन्ड
252,759
69913
3.62
ब्रोडलिङ्क
172,844
52293
3.31
डिशहोम फाइबरनेट
146,677
38474
3.81
फर्स्टलिङ्क
66,838
7786
8.58
फाइबर वर्ल्ड
60,123
4853
12.39
सिजी
53,849
5721
9.41
स्रोतः एप्निक र नेपाल दूरसञ्चार प्राधिकरण ।
अब यसरी हेर्दा रोचक र अनौठो तथ्याङ्क निस्किन्छ । जसअनुसार क्लासिक टेकको एउटा कनेक्सनमा चल्ने डिभाइसको औसत सङ्ख्या १.४८ मात्रै देखिन्छ । जुन एकदमै अस्वभाविक लाग्छ ।
अर्कोतर्फ फाइबर वर्ल्डको नेटवर्कमा भने सबैभन्दा बढी औसतमा १२.३८ डिभाइस रहेको देखिन्छ । अन्य सेवाप्रदायकको कुरा गर्ने हो भने एउटा कनेक्सनमा औसत डिभाइस सङ्ख्या वर्ल्डलिङ्कमा ४.२२, भायनेटमा ४.५४, सुबिसुमा २.७७, वेब सर्फरमा ४.३० र टेकमाइन्डमा ३.६२ रहेको देखिन्छ ।
त्यस्तै ब्रोडलिङ्कमा ३.३१, डिशहोममा ३.८१, फर्स्टलिङ्कमा ८.५८ र सिजी नेटमा ९.४१ औसत डिभाइस सङ्ख्या छ । अब यहाँनिर तपाईँलाई कुनै कुनै सेवाप्रदायकमा औसत डिभाइस सङ्ख्या यति धेरै अथवा थोरै किन भन्ने लाग्न सक्छ ।
यसको पछाडि दुई ओटा सम्भावित कारण हुनसक्छन् । पहिलो भनेको सेवाप्रदायकले आफ्नो कनेक्सन वास्तवमा जति छ, त्यसभन्दा धेरै रहेको तथ्याङ्क प्राधिकरणलाई बुझाएका हुन सक्छन् । यस्तोमा औसत डिभाइस सङ्ख्या अस्वभाविक रुपमा कम देखिन्छ ।
अर्को सम्भावित कारण भनेको सेवाप्रदायकले आफ्नो कनेक्सन सङ्ख्या जति छ, त्यसभन्दा थोरेको विवरण मात्रै नियामकलाई दिएका हुनसक्छन् । यस्तोमा अस्वभाविक रुपमा डिभाइस सङ्ख्या धेरै देखिएको हुनसक्छ ।
यो समाचार सामग्रीमा हामीले मोबाइल इन्टरनेट सेवा मात्रै रहेको एनसेल र मोबाइल तथा फिक्स्ड दुवै इन्टरनेट मिश्रित रहेको नेपाल टेलिकमलाई भने समेटेका छैनौँ ।
आशङ्का लागेपछि छानविन सुरु गरेका छौँः पुरुषोत्तम खनाल, अध्यक्ष, नेपाल दूरसञ्चार प्राधिकरण
नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनाल । तस्वीरः टेकपाना
केही इन्टरनेट सेवाप्रदायकको ग्राहक सङ्ख्याको विषयमा आशङ्का लागेपछि हामीले अनुगमन शाखा अन्तर्गत छानविन अगाडि बढाएका छौँ । यसअनुसार आठ दश ओटा सेवाप्रदायकहरू हाम्रो छानविनको दायरामा छन् ।
अर्को तर्फ स्वतन्त्र चार्टर्ड अकाउन्टेन्ट मार्फत उनीहरूको ग्राहक सङ्ख्या र आम्दानीको विषयलाई चेक जाँच गर्ने कार्य समेत अगाडि बढेको छ । अब चाँडै नै त्यसको रिपोर्ट आउनेछ । कुनै किसिमको गडबडी देखिएको खन्डमा कानून अनुसार आवश्यक कारबाही अगाडि बढाउँछौँ ।