काठमाडौँ । अन्ततः इन्स्ट्यान्ट मेसेजिङ प्लेटफर्म ह्वाट्सएपमा विज्ञापन देखिने भएको छ । यसको स्वामित्व रहेको कम्पनी मेटाले सोमबार एक ब्लगमार्फत ह्वाट्सएपमा विज्ञापन देखाउने फिचरको परीक्षण सुरु गरेको औपचारिक जानकारी दिएको हो ।
कम्पनीका अनुसार विज्ञापन ह्वाट्सएपको ‘अपडेट्स’ ट्याबमा रहेको ‘स्टाटस’ फिचरमा देखिनेछ । प्रयोगकर्ताले आफ्ना साथीभाइ तथा परिवारका सदस्यले शेयर गरेका स्टाटससँगै अब ‘विज्ञापन सामग्री’ (Sponsored Content) पनि देख्नेछन् । स्टाटस फिचरमा प्रयोगकर्ताले केही समयपछि आफैं हराएर जाने टेक्स्ट, फोटो, भ्वाइस नोट वा भिडिओ शेयर गर्न सक्छन् ।
मेटाले वर्षौंदेखि ह्वाट्सएपमा विज्ञापन राख्ने योजना बनाउँदै आएको थियो । तर ह्वाट्सएपका संस्थापक यसको विपक्षमा थिए । सन् २०२० मा इन-एप विज्ञापनको योजनाबाट पछि हटे पनि २०२३ मा ह्वाट्सएपका प्रमुख विल क्याथकार्टले कम्पनीले यसमा काम गरिरहेको पुष्टि गरेका थिए । गत वर्ष मात्रै मेटाले विज्ञापनबाट १६० अर्ब डलरभन्दा बढी आम्दानी गरेको थियो ।
मेटाले प्रयोगकर्ताको रुचिअनुसार विज्ञापन देखाउन सीमित जानकारी प्रयोग गर्ने बताएको छ । यसमा प्रयोगकर्ताको देश वा सहर, भाषा, फलो गरेका च्यानल र प्लेटफर्ममा विज्ञापनसँगको अन्तरक्रिया जस्ता डेटा समावेश हुने बताइएको छ ।
कम्पनीले प्रयोगकर्ताको गोपनीयतामा कुनै सम्झौता नगरिने दाबी गरेको छ । “हामीले व्यक्तिगत च्याटमा बाधा नपुऱ्याउने गरी व्यवसाय निर्माण गर्ने योजनाबारे वर्षौंदेखि कुरा गर्दै आएका छौँ,” मेटाले ब्लगमा लेखेको छ, “हामी विज्ञापनदातालाई कहिल्यै पनि प्रयोगकर्ताको फोन नम्बर बेच्ने वा शेयर गर्ने छैनौं र विज्ञापन देखाउनका लागि प्रयोगकर्ताका मेसेज, कल वा ग्रुपको प्रयोग गर्ने छैनौं ।”
विज्ञापनबाहेक मेटाले ह्वाट्सएपमा अन्य परिवर्तन पनि ल्याउने तयारी गरेको छ । अब प्रयोगकर्ताले नयाँ च्यानल खोज्ने क्रममा ‘एक्सप्लोर’ बटनमा क्लिक गर्दा स्पोनसर्ड च्यानल पनि देखिनेछन् । साथै ‘विशेष अपडेट’ प्राप्त गर्नका लागि च्यानल सब्स्क्राइब गर्ने सुविधा पनि ल्याइने भएको छ । विज्ञापन सबै देशका प्रयोगकर्ताका लागि कहिले पूर्ण रूपमा उपलब्ध हुन्छ भन्ने जानकारी कम्पनीले उपलब्ध गराएको छैन ।