close

सफा गर्ने नयाँ प्रविधि ‘स्टिम क्लिनर’

हरिजङ्ग थापा हरिजङ्ग थापा

चैत २१, २०७८ १४:१६

सफा गर्ने नयाँ प्रविधि ‘स्टिम क्लिनर’

काठमाडाैं । यो सामग्रीचाहिँ सरसफाई मन पराउनेहरुका लागि हो । मैले यसो भनिरहँदा तपाईंलाई लागिरहेको होला फोहोर कसलाई पो मन पर्छ र ? हुन त तपाईँ हामीले सकेसम्म सरसफाईमा ध्यान दिइरहेकै हुन्छौं । चाहे त्यो शारीरिक सरसफाई होस् वा घर, अफिस अनि कोठा नै किन नहोस् ।

शरीर अनि हातगोडाको सरसफाईको अनुभव त सबैलाई हुन्छ, तर भान्सा, शाैचालय, बेडरुम, बैठक कोठा सफा गर्न कति मुस्किल हुन्छ, गर्नेलाई मात्र थाहा हुन्छ । यसका लागि टालो भिजाएर सरसफाई गर्ने पुरानो विधिदेखि अनेकौं प्रविधि बजारमा आइसकेका छन् ।

तिनैमध्येको एउटा प्रविधि हो स्टिक क्लिनर । टेकपानाको अफिसमा Sansui ब्राण्डको Steam Cleaner आइपुगेको छ । आज म यो Steam Cleaner प्रविधिसँगै यसको गुन र बैगुनको बारेमा बताउँदै छु ।

Steam Cleaner भनेको बाफले सरसफाई गर्ने प्रविधि हो । जसका लागि सफा पानी भए पुग्छ, कुनै केमिकल वा सरफ चाहिँदैन । अब तपाईंलाई लाग्न सक्छ Steam Cleaner किन किन्ने ? भ्याकुम क्लिनर छ, सरसफाईका लागि अनेकौं केमिकल छन् ।

जसले भूईं होस् वा भित्ता अथवा झ्याल ढोका सबै सफा गरिहाल्छ भन्ने तपाईंलाई लाग्नसक्छ । अथवा टालो भिजाएर सफा गर्दा पनि चलेकै छ भन्ने पनि लाग्न सक्छ । सरसफाई स्वच्छ राख्न र स्वस्थ रहनकै लागि गर्ने हो ।

साँच्चै स्वास्थ्यलाई केन्द्रमा राखेर सरसफाई गर्ने हो भने हामीले सरसफाई गर्ने विधि कत्तिको स्वस्थ्यवर्धक छ, त्यो पनि ख्याल गर्न जरुरी हुन्छ । झ्यालमा लागेको इनामेल हटाउनु पर्‍यो हामी केमिकलको प्रयोग गर्छौं । भूईं पुछ्नका लागि होस् वा टायल सफा गर्नका लागि हामी केमिकलजन्य विभिन्न सरसफाइका सामग्री किन्छौं ।

जुन केमिकलले शतप्रतिशत भाइरस र ब्याक्टेरिया मार्छ भनेर विज्ञापन गरिएको हुन्छ, त्यो नै हाम्रो रोजाइमा पर्छ । तर मानव स्वास्थ्यका लागि भाइरस र ब्याक्टेरिया त हानिकारक छन् नै, साथमा केमिकल पनि कम जोखिमपूर्ण हुँदैनन् । त्यसैले बिना केमिकल तातो पानीको वाफले सरसफाई गर्ने सुरक्षित र वातावरणमैत्री प्रविधि हो, स्टिक क्लिनर ।

जुन कतिपयका लागि नौलो नहोला, तर प्रयोगका हिसाबले मेरो लागि चाहिँ नयाँ नै हो । त्यसैले मैले यसलाई निकै चाख दिएर प्रयोग गरेँ । त्यसैको आधारमा म यो स्टिम क्लिनरको गुन र बैगुनसँगै उपयोगिता र प्रभावकारिताबारे आफूलाई लागेका कुरा बताउँदैछु । स्टिम क्लिनर विभिन्न सेप र साइजमा पाउन सकिन्छ ।

हामीसँग भएको यो क्लिनर चाहिँ Steam Mops हो । यसका अलवा भ्याकुम क्लिनरजस्तै Canister Steam Cleaner र हातमा बोक्न सजिलो ह्याण्डहेल्ड स्टिम क्लिनर पनि पाइन्छन् । अलि ठूलो घर वा कोठाका लागि Canister अनि अलि साँघुरो ठाउँ जस्तै कार, टेबल, कुर्सी, सोफा वा झ्यालढोका, खाट, दराजको च्यापहरु सफा गर्नका लागि Handheld Steam Cleaner उपयुक्त हुन्छ । 

स्टिम क्लिनरको प्रकार अनुसार यो Steam Mops चाहिँ मिडियम साइजमा छ । प्याक भएर आउँदा समाउने ह्यान्डल, मसिन र नोजल एउटै बक्समा छुट्टाछुट्टै आउँछन् । यसलाई फिट गर्न पनि खासै गाह्रो छैन । स्टिमरको पछाडिपट्टि ह्यान्डल जोड्ने ठाउँ छ । Mops को रुपमा प्रयोग गर्दा यसलाई जोड्नुपर्छ, नभए यो नहाली पनि प्रयोग गर्न पनि सकिन्छ ।

यहाँ रहेको Switch थिचेर Handle जोड्न वा निकाल्न सकिन्छ । त्यस्तै तल्लो भागमा पोचा वा झाडु जोड्ने ठाउँ छ । भूई सफा गर्ने हो भने सोझै यो ठूलो Scrub जोड्दा भयो । पोछा लगाएजस्तै गरी भूईं पुछ्न सजिलो होस् भनेर त्यही अनुसारको ह्यान्डल अनि Steam Scrub दिइएको छ ।

त्यस्तै हातले समाएर सफा गर्नका लागि विभिन्न अप्सनहरु उपलब्ध छ । जसलाई यो Adapter को सहयोगले जोडेर प्रयोग गर्न सकिन्छ । यसले कसरी काम गर्छ त्यो हेर्न यसमा पानी भरौं । पानी राख्नका लागि माथिपट्टी ३७० एमएल पानी अटाउने एउटा डब्बा दिइएको छ ।

त्यसलाई निकाल्न योसँगैको बटन थिच्दा हुन्छ । सफा गर्ने साधन भएकाले यसभित्र पानी पनि सफा नै राख्नुपर्छ । फोहोर पानी हालेको खण्डमा यो मसिन नै बिग्रनसक्छ । अब यसमा पानी भरौं । पारदर्शी खालको भएकाले पानी कति बाँकी छ, चलाउँदै गर्दा हेर्न सकिन्छ । पानी राखिसकेपछि अब यसलाई बिजुली चाहियो ।

पावरका लागि ५ मिटरको केबल दिइएको छ । सानो कोठाको लागि त पर्याप्त हुन्छ । तर अलि ठूलो कोठा सफा गर्न भने त्यसै अनुसारको पावर सप्लाइ पोर्टहरु आवश्यक पर्न सक्छ । पावर दिइसकेपछि ह्यान्डलको माथिपट्टि रहेको अनअफ बटन नजिकै रातो बत्ती १५ सकेन्ड पिलिक पिलिक गर्छ । त्यसपछि रातो बत्ती बल्छ ।

यसको मतलब अब यो Steam Cleaner Standby Mode अर्थात् प्रयोग गर्न सकिने अवस्थामा छ भनेर बुझ्नुपर्ने हुन्छ । एक पटक पावर बटन थिच्दा दाहिनेपट्टि निलो बत्ती बल्छ । जसले High flow mode on भएको जनाउँछ । अर्थात् यो मोडमा धेरै बाफ स्प्रे हुन्छ । यस्तै अर्कोपटक पावर बटन थिच्दा Low Flow Mode अन हुन्छ ।

स-साना चिजबिज विस्तारै सफा गर्न Low Flow Mode मा राख्दा हुन्छ । अलि ठूलो क्षेत्रफलमा छिटोछिटो सफा गर्नका लागि High Flow Mode मा जाँदा उपयुक्त हुन्छ। अथवा फोहोर अनुसार लो फ्लो मोडदेखि High Flow Mode मा जान सकिन्छ । Steam Cleaner Handheld state मा चलाएको खण्डमा चाहिँ स्प्रे गर्न तल्लो साइडमा रहेको Steam Button थिच्नुपर्ने हुन्छ । Mops State मा यसलाई थिचिरहनु पर्दैन ।

अनि Mops State मा चलाउँदा खासै लोड पनि महसुस हुँदैन । तर हातमा बोक्दा चाहिँ यो अलि गरुङ्गो नै लाग्दोरहेछ । स्प्रे गर्दा यसबाट एकदमै तातो बाफ आउँछ । त्यसैले यो जोखिमरहित भने छैन । अलि बढी सतर्क चाहिँ हुनुपर्छ । प्लाष्टिकको सामान सफा गर्दै हुनुहुन्छ भने एकै ठाउँमा धेरैबेर स्प्रे गर्दा सामानै बिग्रने सम्भावना पनि रहन्छ । त्यसैले यसलाई अलिक छिटोछिटो यताउति गर्नुपर्छ ।

तर दाग वा टाटा छन् भने चाहिँ एकछिन फोहोर भएको ठाउँमा राखेर रगड्दा सिनित्तै सफा बनाइदिँदो रहेछ । त्यस्तै झ्याल ढोकामा लागेका फोहोर वा रंगहरु पनि यसले सजिलै सफा गर्दोरहेछ । सरफ वा अन्य केमिकल प्रयोग नगरी टायल वा कार्पेट सफा गर्न पनि यो उपयोगी हुने रहेछ ।

यसको तागत जाँच्न मैले ह्वाइट बोर्डमा पर्मानेन्ट मार्करले लेखेर मेट्ने प्रयास गरेको थिएँ । त्यो काम पनि यसले सजिलै गर्‍यो । Steam Cleaner ले सिसा वा फ्लोर सफा गर्दा सुक्नचाहिँ केही समय लाग्छ । तर भूईं पुछ्दा हिलो होला भनेर तनाव लिनु चाहिँ पर्दैन ।

टेबल वा झ्याल ढोकाहरु पुछ्दा सकेसम्म एउटा सफा कपडा लिएर स्प्रे गर्दै त्यसले सफा गर्दा राम्रो रिजल्ट देखिन्छ । किनकि यसले जिद्धि दाग, धब्बाहरुलाई पनि एकैछिनमा हटाउन त सक्छ । तर त्यसबाट निस्केको फोहोरलाई तान्ने वा उठाउने काम यसले गर्दैन ।

यद्यपि भुई पुछ्न वा अरु साधारण सरसफाईको लागि नोजलमै कपडा राखेर रगड्दा मजाले काम गर्छ । एउटा चाहिँ स्टिम क्लिनरसँगै आउँदो रहेछ । जसलाई धोएर पुनः प्रयोग गर्न पनि सकिन्छ ।

सरसफाईका लागि Scrub सँगै Round brush, scraper, scouring head, hanging ironing head को एक एक सेट यो Steam Cleaner किन्दा उपलब्ध हुन्छ । सरसफाईमा प्रयोग हुने यी उपकरणको हिफाजत चाहिँ अलि बढी नै गर्नुपर्ने रहेछ । किनकि Mops का लागि प्रयोग हुने बाहेक अरु उपकरण एकदमै साना छन् ।

जसको दाँजोमा Steam Cleaner मसिन अलि हेभी नै छ । त्यसैले अलि बल लगाउँदा यस्ता उपकरण चाँडै कुच्चीने वा भाँचिने सम्भावना रहन्छ । round brush को प्रयोग गर्दा मैले अलि बढी नै घोटेँ, त्यसैले टेस्ट गर्दा नै यो नमज्जाले कुच्चीयो । यसलाई थोरै बिजुली अनि पानी भए पुग्छ । न केमिकल किन्नुपर्ने, न त सरफ ।

हातले टालो भिजाउँदै निचोर्नुपर्ने झन्झट पनि नहुने । केमिकल प्रयोग गर्दा आफैँलाई असर गर्ने डर हुन्छ । त्यस्तोमा यसले चाहिँ मानिसको स्वास्थ्यमा कुनै प्रतिकुल असर नपारी तातो बाफले नै त्यस्ता हानिकारक ब्याक्टेरिया र भाइरसलाई सखाप पार्ने सामर्थ्य राख्छ ।

बानी नपरुन्जेल यो केही अप्ठ्यारो लाग्न सक्छ। पानी र केमिकल मिसाएर झाडुले स्वाईं स्वाईं पुछेजस्तो सजिलो नलाग्न सक्छ । सफा गर्नका लागि यसबाट निस्कने बाफ एकदमै थोरै हो कि जस्तो पनि लाग्न सक्छ। मलाई पनि यो महसुस भएको कुरा हो । यद्यपी, Steam Cleaning Mops बहु उपयोगी छ। सिमित कुराको सरसफाई होइन हामीले यसबाट थुप्रै फाइदा लिन सक्छौं।

भुईं, भित्ता, झ्याल, ढोका, कार्पेट, गाडी, एसीलगायत हरचिजको सरसफाइमा मजाले यसलाई प्रयोग गर्न सकिन्छ। तर बिजुलीको कनेक्सन टुट्नेबित्तिकै बाफ स्प्रे हुन छाड्ने भएकाले पावर सप्लाई नभएको ठाउँमा यसबाट सरसफाई गर्न सकिँदैन। एकपटक पानी तातेर बाफ जम्मा भएपछि एकछिन बिजुली नभए पनि काम गर्ने खालको सिस्टम भइदिएको भए यो अझै उपयोगी हुन सक्थ्यो ।

Sansui को यो Steam Cleaner को मुल्य करिब १० हजार छ। यो मुल्यमा यसलाई बहु उपयोगी बनाउन खोज्नु राम्रै कुरा हो। सामान हेर्दा अलि महंगो जस्तो लागे पनि यसले सरसफाईका लागि हामीले गर्ने अन्य खर्च घटाउन भने सहयोग गर्छ। सानो अफिस वा घरको सरसफाईका लागि यो उपकरण साँच्चै उपयोगी बन्नसक्छ ।

धेरै कोठा अनि अलि ठूलो क्षेत्रफलको सफाई गर्नका लागि चाहिँ यो खासै उपयुक्त नहुन सक्छ। अनि साना साना कुराहरु सफा गर्नका लागि पनि यो अलि ठूलो रहेछ। त्यसका लागि यो भन्दा अलि सानो Steam Cleaner हरु पनि पाइन्छन् ।

तर धेरै ठूलो नि नचाहिने र सानोले पनि काम नचल्नेहरुका लागि यो उत्तम विकल्प हो। त्यसैले सानो घर वा अफिसको भूईं, टेबल र झ्यालढोका सफा गर्नका लागि चाहिँ यो Steam Mops एकदमै उपयुक्त हुन्छ जस्तो लाग्यो ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३५