काठमाडौँ । कोलकाताको इडन गार्डन्समा जारी कोलकाता नाइट राइडर्स र चेन्नई सुपरकिंग्सबिचको आईपीएल क्रिकेट खेलको क्रममा बम विस्फोटको धम्की आएको छ । क्रिकेट एसोसिएसन अफ बंगालको आधिकारिक ईमेलमा अज्ञात ठेगानाबाट बम विस्फोटको धम्कीपूर्ण सन्देश प्राप्त भएको आजतकले जनाएको छ ।
समाचार अनुसार धम्की आउनासाथ कोलकाता प्रहरी तत्कालै अनुसन्धानमा जुटेको छ । घटनास्थलमा प्रहरी र सुरक्षा निकायहरूले जाँच सुरु गरिसकेका छन् ।
इडन गार्डन्स स्टेडियमको सुरक्षा व्यवस्था कडा पारिएको छ भने सम्पूर्ण परिसरलाई उच्च सतर्कतामा राखिएको छ । खेल चलिरहेकै अवस्थामा धम्की आएपछि दर्शक र आयोजकमा त्रासको वातावरण सिर्जना भएको समाचारमा उल्लेख छ ।
यद्यपि खेल रोकिएको छैन । समाचार अनुसार मैदानस्थलमा बम डिस्पोजल टोली र गुप्तचर निकायहरू पनि तैनाथ गरिएको छ ।
क्रिकेट एसोसिएसन अफ बंगालको ईमेलमा कसले धम्की पठायो भन्ने खुलेको छैन । सुरक्षा निकायहरूले यो ईमेल कुनै साइबर चालबाजीको हिस्सा हो वा वास्तवमै कुनै खतरा छ भनेर अनुसन्धान गरिरहेको आजतकले जनाएको छ ।