close

नेपालमा ‘ब्रेथफ्री ९०’ कार्यक्रम, श्वासप्रश्वासका बिरामीलाई उपचारका लागि एआईले सघाउने

टेकपाना टेकपाना

बैशाख २४, २०८२ २१:३

नेपालमा ‘ब्रेथफ्री ९०’ कार्यक्रम, श्वासप्रश्वासका बिरामीलाई उपचारका लागि एआईले सघाउने

काठमाडौँ । औषधि कम्पनी सिप्लाले नेपाल रेस्पिरेटरी सोसाइटीसँगको सहकार्यमा श्वासप्रश्वाससम्बन्धी बिरामीहरूको उपचारलाई नियमित बनाउन ‘ब्रेथफ्री ९०’ नामक कार्यक्रम सुरु गरेको छ । आर्टिफिसियल इन्टेलिजेन्स (एआई) प्रविधिमा आधारित यो ९० दिने कार्यक्रमले ह्वाट्सएपमार्फत बिरामीहरूलाई समयमै इन्हेलर प्रयोग गर्न नियमित रूपमा सम्झाउने बताइएको छ ।

वायु प्रदूषणले गम्भीर स्वास्थ्य चुनौती खडा गरिरहेको अवस्थामा यो पहल निकै महत्त्वपूर्ण हुने नेपाल रेस्पिरेटरी सोसाइटीको विश्वास छ । विभिन्न तथ्याङ्क अनुसार नेपालमा प्रदूषणका कारण वार्षिक रूपमा करिब ५० हजार मानिसको मृत्यु हुने गरेको छ । दम र दीर्घ श्वासप्रश्वासजन्य रोगका बिरामीहरू बढ्दै गएका छन् । यस्ता रोगहरूको प्रभावकारी उपचारको रूपमा रहेको इन्हेलरको नियमित प्रयोग धेरै बिरामीहरूले नगर्दा समस्या थप जटिल बन्ने गरेको छ ।

‘ब्रेथफ्री ९०’ कार्यक्रमले यस्ता समस्याहरूको समाधान गर्ने अपेक्षा गरिएको छ । यस कार्यक्रममा सहभागी बिरामीले आफ्नो उपचार तालिका अनुसार सरल भाषामा तयार पारिएका सन्देशहरू दैनिक रूपमा प्राप्त गर्नेछन् । एआईले इन्हेलर प्रयोग गर्ने सही तरिका र रोग व्यवस्थापन सम्बन्धी जानकारी पनि प्रदान गर्नेछ, जसले बिरामीको स्वास्थ्यमा सुधार ल्याउनेछ । कार्यक्रममा सहभागी हुन इच्छुकहरूले क्लिनिक, अस्पताल वा फार्मेसीहरूमा उपलब्ध क्यूआर कोड स्क्यान गर्न सक्नेछन् ।

सिप्लाका इमर्जिङ मार्केट र युरोपका प्रमुख स्वप्न मलपानीले प्रविधिको प्रयोग गरी बिरामीहरूको जीवनस्तर सुधार गर्ने कम्पनीको प्रतिबद्धता व्यक्त गरे । “हामी श्वासप्रश्वाससम्बन्धी दीर्घ रोगसँग संघर्ष गरिरहेका मानिसहरूको जीवनलाई सहज बनाउन क्रियाशील छौं । ‘ब्रेथफ्री ९०’ यसै दिशामा चालिएको एक महत्त्वपूर्ण कदम हो,” उनले भने ।

नेपाल रेस्पिरेटरी सोसाइटीले यो कार्यक्रमलाई स्वास्थ्यकर्मीहरूमाझ प्रचारप्रसार गरी अस्पताल र क्लिनिकहरूमा यसको प्रभावकारी कार्यान्वयन सुनिश्चित गर्न सहयोग गर्ने भएको छ ।

पछिल्लो अध्यावधिक: बैशाख २४, २०८२ २१:३१