close

के हो ब्यान्डविथ अन डिमान्ड, सरल रुपमा यसरी बुझ्नुहोस्

टेकपाना टेकपाना

मंसिर २२, २०७९ १७:१३

के हो ब्यान्डविथ अन डिमान्ड, सरल रुपमा यसरी बुझ्नुहोस्

काठमाडौं । अहिलेको समयमा इन्टरनेट ब्याण्डविथ सञ्चारको सबैभन्दा ठूलो संसाधन हो । जसलाई सामान्यतः मासिक रुपमा बिक्री गरिन्छ । ग्राहकले महिनाको हिसाबले आफूलाई उपयुक्त प्याकेज छनौट गर्दछन् ।

तर मानिसहरूले आफ्नो आवश्यकता अनुसार अतिरिक्त रुपमा समेत ब्यान्डविथ खरिद गर्दछन् । जसलाई ब्याण्डविथ अन डिमान्ड भन्ने गरिन्छ । ब्यान्डविथ अन डिमान्ड एउटा यस्तो तरिका हो, जसमा तपाईंले इन्टरनेटमा धेरै ट्राफिक हुँदा समेत बिना व्यवधान काम गर्न सक्नुहुन्छ । ब्याण्डविथ अन डिमान्डको बढी प्रयोग वाइड एरिया नेटवर्क (वान) मा गरिन्छ ।

ता कि आवश्यक परेको अवस्थामा ब्याण्डविथको क्षमता बढाउन सकियोस् । यो तरिका प्रयोग गरेर एउटा शेयर्ड टेलिकम्युनिकेसन नेटवर्कमा ब्याण्डविथको क्षमता बढाउन सकिन्छ । ग्राहकले केवल त्यति मात्रै ब्यान्डविथिको भुक्तानी गर्दछ, जति उसले खपत गरेको हुन्छ ।

सेवाप्रदायकले दिने यस्तो कनेक्सनमा अतिरिक्त ब्याण्डविथ क्षमता समेत हुने गर्दछ । उदाहरणका लागि तपाईंले ५० एमबीपीएस गतिको इन्टरनेट कनेक्सन लिनु भएको छ । तर त्यसमा १०० एमबीपीएस गतिसम्मको क्षमता हुने गर्दछ ।

तपाईंले चाहेको खण्डमा ५० एमबीपीएस गतिभन्दा बढी समेत प्रयोग गर्न सक्नुहुन्छ । त्यसो त कतिपय समय सेवाप्रदायकले बिना शुल्क अतिरिक्त ब्याण्डविथ समेत उपलब्ध गराइरहेका हुन्छन् ।  अन्तर्राष्ट्रिय अभ्यास हेर्ने हो भने धेरैजसो सेवाप्रदायक यस्तो सेवा आफ्ना प्रयोगकर्तालाई दिइरहेका हुन्छन् ।

क्लाउड कम्प्युटिङ, अनलाइन भिडियो सर्भिस, मोबाइल ब्रोडब्यान्ड आदिको प्रयोग बढेपछि ब्याण्डविथको आवश्यकता पनि बढ्दै गएको छ । फरक हिसाबले बढेको मान्छेको आवश्यकतालाई त्यसै गरी सम्बोधन गर्नको लागि ब्याण्डविथ अन डिमान्डको धारणा आएको हो ।

यो सेवाले प्रयोगकर्तालाई ब्याण्डविथको राम्रो पहुँच त दिन्छ नै, यसले सेवाप्रदायकहरूलाई पनि रियल टाइममा नेटवर्क प्रयोगमा नियन्त्रण गर्न सहयोग समेत गर्दछ । यसले सेवाप्रदायकलाई डाइनामिक ब्याण्डविथ दिन मद्दत गर्छ भने प्रयोगकर्तालाई आफ्नो आवश्यकता अनुसार अस्थायी रुपमा ब्याण्डविथ अपग्रेड गर्ने सुविधा दिन्छ । 

यो सेवा विशेष गरी दुई प्रकारका हुन्छ, एउटा तत्काल प्राप्त हुन्छ भने अर्को शेड्युल हुन्छ । तत्काल पाउने सेवामा तपाईंले आफूलाई जुन बेला मन लाग्यो, त्यही बेला आवश्यक ब्याण्डविथ थप गर्न सक्नुहुन्छ ।

तर शेड्युल सेवामा भने तपाईंलाई एक हप्ता पछाडिको लागि अथवा अन्य कुनै प्रयोजनको लागि धेरै ब्याण्डविथ चाहिएको छ भने एक हप्ता अगाडि नै आफूलाई चाहिने अवधिभरका लागि इन्टरनेट ब्यान्डविथ थप गर्न सक्नुहुन्छ । यी दुवै सेवा प्रयोगकर्ताको लागि सस्तो र सुलभ हुन जान्छन् । 

यसबाट सेवा प्रदायकलाई के हुन्छ फाइदा ?  

-प्रयोग नभएका नेटवर्कको क्षमतालाई उपयोग गर्न सकिन्छ 

-आफ्नो आम्दानीको स्रोत बढाउन सकिन्छ 

-आफ्ना ग्राहकरहरूको व्यक्तिगत आवश्यकता पुरा गर्न सकिन्छ

ग्राहकलाई हुने फाइदा 

-अस्थायी रुपमा आवश्यक परेको समयमा मात्रै ब्यान्डविथ प्रयोग गर्न सक्ने सुविधा हुन्छ 

-सस्तो मूल्यमा राम्रो र छिटो ब्रोडब्याण्ड प्रयोग गर्न सकिन्छ 

-छिटो र सहज सेवा उपलब्ध हुन्छ    

ब्रोडब्याण्ड अन डिमान्डका विशेषता 

-प्रयोगमा नआएका नेटवर्क अथवा पिक आवरभन्दा बाहिरको समयमा प्रयोग नहुने नेटवर्क कम ब्याण्डविथ प्रयोग गर्ने प्रयोगकर्तालाई आवश्यकता अनुसार अस्थायी रुपमा अतिरक्त मूल्यमा उपलब्ध गराउन सकिन्छ 

-ब्याण्डविथ अन डिमान्ड अन्तर्गत विभिन्न प्याकेज जस्तै गेमिङ, स्टेडियम अथवा कुनै ठूलो कन्फ्रेन्सको लागि भनेर इन्टनेट उपलब्ध गराउन सकिन्छ  

-भिडियो कन्फ्रेन्स लगायत मौसमी कार्यक्रमको लागि छुट्टै ब्याण्डविथ थप गरेर छिटो इन्टरनेट प्रयोग गर्न सकिन्छ 

-सेवा प्रदायकको प्रमोसनको लागि केही सीमित ग्राहकहरूलाई पिक आवरभन्दा बाहिरको समयमा निश्चित समयको ब्याण्डविथ बुस्ट गर्न पनि सकिन्छ 

-यसले गर्दा नेटवर्क कन्जेसन अर्थात साँघुरोपन नियन्त्रण गर्न सकिन्छ 

-नेटवर्क हाइब्रिड मोडमा प्रयोग हुन्छ 

संसारभर धेरैजसो देशहरूमा यो सेवा प्राथमिकताका साथ लागू भएको पाइन्छ । छिमेकी राष्ट्र भारतमा पनि ब्यान्डविथ अन डिमान्ड सेवा एयरटेल, युब्रोडब्याण्ड लगायतका सेवाप्रदायकले अफर गरिरहेका छन् । 

म्याक्सिमाइज मार्केट रिसर्च ले गरेको एक अध्ययन अनुसार ब्रोडब्राण्ड अन डिमान्ड सबैभन्दा बढी शिक्षा क्षेत्रमा प्रयोग भएको देखिन्छ भने दोस्रोमा गेमिङ र तेस्रोमा सूचना-प्रविधि क्षेत्र रहेको छ । त्यस्तै चौथोमा एरोस्पेस र पाँचौंमा कानूनी क्षेत्र रहेको छ । 

बजारको हिसाबले हेर्दा ब्याण्डविथ अन डिमान्डको सबैभन्दा ठूलो बजार उत्तर अमेरिका हो । युरोप, एसिया-प्यासिफिक, मध्य-पूर्वी तथा अफ्रिका र ल्याटिन अमेरिका क्रमश: दोस्रो, तेस्रो, चौथो र पाँचौं स्थानमा रहेका छन् ।

अध्ययन अनुसार विश्वबजारमा बेलायतको टेलिकम कम्पनी बीटी ग्रुपको सेवा सबैभन्दा राम्रो मानिन्छ । त्यस्तै दोस्रोमा अमेरिकाको सियना कर्पोरेसन र तेस्रोमा क्यानडाको कोर्सा टेक्नोलोजी रहेको छ ।    

पछिल्लो अध्यावधिक: मंसिर २२, २०७९ १७:१३