close

एप्पलले पुन: बढायो ब्याट्रीको मूल्य, अब कति महँगो होला आईफोन मर्मत ?

टेकपाना टेकपाना

पुस २०, २०७९ १०:९

एप्पलले पुन: बढायो ब्याट्रीको मूल्य, अब कति महँगो होला आईफोन मर्मत ?

काठमाडौं । यदि तपाईंको आईफोनको वारेन्टी सकिएको छ र तपाईँको फोनमा ब्याट्री परिवर्तन गर्ने बेला भएको छ भने यो मर्मत तपाईँको लागि महँगो हुने भएको छ । एप्पलले आईफोनको ब्याट्रीको मूल्य पुन: बढाएको छ । अन्तर्राष्ट्रिय बजारमा वृद्धि भएको यो मूल्यले नेपाली उपभोक्तालाई पनि मारमा पार्ने भएको छ । 

कम्पनीले एक सूचना जारी गर्दै २०२२ को मार्च भन्दा अगाडि सार्वजनिक भएका सबै पुराना आईफोनको ब्याट्रीको मूल्य २० डलरले बढेको जानकारी दिएको छ । साथै यो ब्याट्रीको मूल्य वृद्धि पुराना आईफोन, केही आईप्याड, म्याकबुक र केही अन्तर्राष्ट्रिय बजारमा पनि लागू हुने कम्पनीले जनाएको छ ।

अमेरिकी डलरको आजको विनिमय दर अनुसार २० डलरको नेपाली रकम दुई हजार ६४६ रुपैयाँ हुन्छ । 

यसको अर्थ हो, गत मार्चअघि खरिद गरिएका आईफोनको ब्याट्री परिवर्तन गर्नुपर्नेमा अहिले लागिरहेको रकमभन्दा करिब तीन हजार रुपैयाँ बढी तिर्नुपर्ने छ । उदाहरणका लागि अहिले आईफोन १३ को ब्याट्री परिवर्तन गर्न करिब १० हजार लाग्छ भने अब यसको ब्याट्री परिवर्तन गर्न १३ हजार रुपैयाँ लाग्नेछ ।   

हाल आईफोन १४ का सबै मोडलहरू वारेन्टी अन्तर्गत नै पर्दछन् । तर सोभन्दा पुराना फोनहरूको ब्याट्री प्रतिस्थापन गर्न भने ग्राहकलाई महँगो पर्ने भएको छ ।

पछिल्लो अध्यावधिक: पुस २०, २०७९ १३:४९