काठमाडौं । आईओएस १८.२ सँगै एप्पलले एउटा नयाँ र उपयोगी फिचर ल्याएको छ । यसमार्फत तपाईंले आफ्नो हराएको एयरट्याग फेला पार्न सक्नुहुन्छ ।
एप्पलले आफ्नो फाइन्ड माई एपमा ल्याएको सुविधाले हराएको एयरट्यागको लोकेसन एयरलाइन वा कुनै विश्वासिला व्यक्तिहरूसँग शेयर गर्न सकिने छ । यस सुविधाले हवाईयात्रा गर्दा हराएको झोला वा अन्य महत्त्वपूर्ण सामान फेला पार्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
Huge update to Find My in iOS 18.2 beta 2
Get help finding a lost item by sharing its location with an airline or trusted person. They will be able to see the location of your item on a map. pic.twitter.com/lHckNRfZbj
यो नयाँ सुविधा आईओएस १८.२ अपडेटमा उपलब्ध हुनेछ, जसलाई म्याकर्युमर्सले दोस्रो डेभेलपर बीटा संस्करणमा परीक्षण गर्दैछ । अब चाँडै नै सबै प्रयोगकर्तामाझ यो सुविधा उपलब्ध हुने बताइएको छ ।
हराएको एयरट्यागको लोकेसन शेयर गर्ने ‘Share Item Location’ विकल्प
आईओएस १८.२ को नयाँ अपडेटपछि फाइन्ड माई एपमा ‘Share Item Location’ नामको नयाँ अप्सन थपिएको छ । यसले एउटा लिंक बनाउँछ, जसलाई तपाईंले आफ्नो ट्रस्टेड कन्ट्याक्ट मात्र नभई अन्य व्यक्तिलाई पनि पठाउन सक्नुहुन्छ ।
यो लिंक खोल्दा एप्पल डिभाइसमा फाइन्ड माई एपमार्फत सो एयरट्यागको लोकेसन देख्न सकिन्छ भने गैर-एप्पल डिभाइसमा लिंकले वेबपेज खोलेर हराएको वस्तुको अन्तिम लोकेसन म्यापमा देखाउँछ ।
नयाँ फिचरले कसरी गर्छ काम ?
आफ्नो एयरट्याग हराए तपाईंले फाइन्ड माई एपमा गई एउटा लिंक बनाउन सक्नुहुन्छ ।
तपाईंले कसैलाई पनि यो लिंक पठाउन सक्नुहुन्छ, चाहे त्यो तपाईंका विश्वासिला साथी हुन् वा एयरलाइन्सका कर्मचारी।
लिंक प्राप्त गर्ने व्यक्तिले लिंक क्लिक गरेर म्यापमा एयरट्यागको हालको लोकेसन देख्न सक्छन् ।
यो लिंक अस्थायी हुन्छ र एक हप्तापछि आफैँ बन्द हुन्छ वा तपाईंको एयरट्याग फेला परेपछि निष्क्रिय हुन्छ ।
कति जनाले तपाईंको लिंक खोलेका छन् भनेर पनि हेर्न सकिन्छ । तपाईंले आफ्नो फोन नम्बर र ईमेल ठेगाना पनि शेयर गर्न सक्नुहुन्छ, ताकि तपाईंको एयरट्याग फेला पार्ने व्यक्तिले तपाईंसँग सम्पर्क गर्न सकोस् ।
यो फिचरबाट हराएको सामान फेला पार्न सजिलो हुने तथा समयको बचत हुने अनुमान छ । एप्पलले पहिले नै एउटा फिचर दिएको थियो, जसअनुसार तपाईं आफ्नो एयरट्यागको लोकेसन पाँच जनासँग निरन्तर शेयर गर्न सक्नुहुन्थ्यो । तर, नयाँ फिचरले तपाईंलाई अस्थायी रूपमा थप मानिसहरूसँग लोकेसन शेयर गर्न अनुमति दिन्छ ।
साथै एप्पलको फाइन्ड माई नेटवर्क विश्वभर फैलिएको हुनाले हराएको सामान फेला पार्न अझ सजिलो हुने बताइएको छ ।