close

क्यान इन्फोटेकमा नेपालमै विकास भएका प्रविधि र प्रतिभालाई प्रवर्द्धन गर्दैछौँ- अध्यक्ष पोदार

टेकपाना टेकपाना

माघ १४, २०७९ १२:३३

क्यान इन्फोटेकमा नेपालमै विकास भएका प्रविधि र प्रतिभालाई प्रवर्द्धन गर्दैछौँ- अध्यक्ष पोदार

सूचना प्रविधिको बृहत् प्रदर्शनीका रुपमा कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान महासंघ)ले आउँदो माघ २४ देखि क्यान इन्फोटेक २०२३ गर्दैछ । कुल १८० स्टल रहने बताइएको यो मेलाको तयारी र संगठनका अन्य गतिविधिबारे क्यान महासंघका अध्यक्ष रणजीत पोदारसँग गरिएको संक्षिप्त कुराकानी यहाँ प्रस्तुत गरेका छौँ ।

२८औँ संस्करणको क्यान इन्फोटेकको तयारी कसरी अगाडि बढिरहेको छ ?
सूचना तथा सञ्चार प्रविधि क्षेत्रको अभिभावक संस्था हो, क्यान महासंघ । निजी क्षेत्रबाट पहल भएपनि क्यानमार्फत देशको प्रविधि क्षेत्रको विकास र प्रवर्द्धनमा धेरै काम भइरहेको छ । यसको एउटा हिस्सा क्यान इन्फोटेक हो ।

क्यान इन्फोटेक हाम्रो नियमित र ठूलो कार्यक्रम हो । यसपटक माघ २४ देखि ६ दिनसम्म भृकृटीमण्डपमा इन्फोटेक मेला गर्दैछौं । सबै प्रायोजक टुङ्गिएको अवस्था छ । अब स्टल केही संख्यामा मात्रै खाली छ । हामी मेलाको तीव्र तयारीमा जुटेका छौं ।

यसपटक नयाँ र विशेष आकर्षण के देख्न पाइएला ?
सूचना सञ्चार प्रविधि क्षेत्रमा नेपाल भित्रिएका नवीनतम प्रविधि तथा सेवा नै विशेष आकर्षण हुन् । यो क्षेत्र परिवर्तनशील भएकाले एउटै प्रविधि पनि परिमार्जन भइराख्छ । अपग्रेड भइराख्छ । यसकारण इन्फोटेक मेलामा सधै नयाँ प्रविधि र सोलुसन्स नै पाइन्छ । हाम्रा प्रदर्शनीकर्ताले आफ्ना पछिल्ला उत्पादन तथा सेवा मेला राख्नुहुनेछ ।

ब्रान्डिङ, आईसीटी एक्ससरिज, प्रडक्ट लञ्चिङसँगै इन्फाेटेकमा सफ्टवेयर पेभिलियन, स्टार्टअप पेभिलियन, स्टुडेन्ट पेभिलियन र कलेज पेभिलियनको छुट्टै व्यवस्था गरेका छौं । हामी यसपटक नेपालमै विकास भएका प्रविधि, इनाेभेसन र प्रतिभालाई प्रवर्द्धन गर्ने जमर्कोमा छौँ ।

क्यान इन्फोटेकका मुख्य प्रायोजकहरूमा सफ्टवेयर कम्पनी नै आउनाले पनि हामी उत्साहित छौं । देशको उत्पादन प्रवर्द्धन गर्ने यो सुनौलो अवसर हो । साथै इन्फोटेककै दौरान विश्वमा विकास भएका नवीनतम प्रविधि र यसको नेपालमा अभ्यासका बारेमा कन्फ्रेन्स पनि गर्दैछौं । 

तपाईँको नेतृत्वमा एक महिनाअघि मात्रै क्यान महासंघमा नयाँ कार्यसमिति आएको छ । आफ्नो कार्यकालमा सबैभन्दा चुनौती र अवसर केलाई मान्नुहुन्छ ?
अहिलेको अवस्था हेर्ने हो भने अर्थतन्त्र डामाडोल छ । नेपालको मात्रै होइन विश्वकै हाल राम्रो छैन । सूचना प्रविधिको बजार व्यवस्थित गर्न सके अर्थतन्त्रमा सुधार ल्याउन सकिन्छ भन्ने जोड मेरो छ । यसअन्तर्गत क्यान महासंघले कार्ययोजना तयार पार्दैछ । अहिलेलाई हाम्रो मुख्य इभेन्ट क्यान इन्फोटेके भएकाले यसको भव्य आयोजना गर्न लागिपरेका छौं ।

हाम्रो टिमको सबै फोकस नै इन्फोटेक कसरी सफल बनाउने भन्नेमा रहेको छ । यसपछि क्यानको रणनीतिक बैठक बस्छ, जसले गर्नैपर्ने र गर्न सकिने 'जेन्युन' कामको सूची तयार पार्नेछ । त्यसपछि योजनाबद्ध रुपमा काम गर्नेछौं । हामीले अर्को अन्तर्राष्ट्रिय स्तरको कन्फ्रेन्स पनि गर्न लागेका छौं । स्मार्ट सिटी विषयमा त्यो कन्फ्रेन्स केन्द्रित हुनेछ ।

अरु कुरामा पनि हामी सबै साथी एक ठाउँमा छौँ । काम गर्न खासै गाह्रो नहोला । सूचना प्रविधि क्षेत्रको अभिभावक संगठनका रुपमा स्थापित हुन थप पहल गर्नेछौँ ।  

महासंघीय संरचनामा गएपनि क्यानका अधिकांश जिल्ला शाखा निष्क्रिय रहेको, खासै काम गर्न नसकेको गुनासो आइरहन्छन्, के यो साँचो हो ? 
महासंघमा गइसकेपछि हामीले शाखा विस्तारलाई प्राथमिकता दिएको पक्कै हो । तर जिल्लामा काम भएको छैन भन्ने कुरा साँचो होइन । २-४ ओटा मात्रै होइन, धेरै जिल्लामा काम भइरहेको छ । सबै कुरा मिडियामा आउँदैनन् । मिडियामा आएन भन्दैमा काम भएको छैन भन्न मिल्दैन ।

हामीले कुन-कुन जिल्लामा के काम गरिरहेका छौँ भनेर न्युजलेटर पनि तयार पार्छौँ । त्यहाँको आवश्यकता के छ, जिल्लामा हामीले के गर्दा सजिलो हुन्छ, त्यहाँको सूचना प्रविधिलाई माथि पुर्‍याउन क्यान महासंघ केन्द्रबाट के-के गर्न सकिन्छ भन्ने विषयमा अझ प्रभावकारी रूपमा समन्वय गरी काम गर्न सकिन्छ । यसअघि पनि प्रयास भएको हो, अब बाँकी काम मैले गर्नु छ । कम्तीमा एउटा जिल्लामा वर्षमा तीनओटा परिणाममुखी कार्यक्रम गर्नुपर्छ भन्ने मान्यता राखेका छौं ।

सूचना प्रविधिमा निजी क्षेत्रको ठूलो संगठन भएपनि संघदेखि स्थानीय सरकारसँग क्यानको सहकार्य बलियो देखिएको छैन । यसतर्फ कसरी काम गर्ने सोच्नुभएको छ ?
होइन, हामीले सरकारसँग सहकार्य गरिरहेका छौँ । अझ बढी हुनुपर्ने चैं हो । इनपुट पनि गएको हो । कार्यान्वयन हुन नसकेको होला । अब त्यो लेभललाई 'एग्रेसिभ' रुपमा लान्छौं । क्यान महासंघका लागि मात्रै होइन, देशको सूचना प्रविधिको विकासका लागि पनि उहाँहरूसँग सहकार्य गर्न अपरिहार्य छ ।​ यसकारण हामी राज्यका सबै तह र तप्कासँगै यो क्षेत्रका सरोकारवालासँग नजिक रहेर काम गर्छौँ । 

नेपालमा आईटी क्षेत्रको आकार बढिरहेको त भन्छौँ । तर यहाँको उद्योग कस्तो छ, कसरी काम भइरहेको छ, समस्या कहाँ छ भन्ने कुराको यकिन तथ्याङ्क न सरकारसँग छ, न निजी क्षेत्रसँग छ । यसमा क्यानले किन काम गर्न नसकेको होला ?
यो कुरा साँचो हो । नेपालको आईटी उद्योगको समग्र अनुसन्धान हुन नसकेको कुरालाई स्वीकार्नै पर्छ । क्यानले एक पटक चैं अनुसन्धान थालनी गरेको थियो । आईटी उद्योगको तत्कालीन अवस्थाबारे हामीले अध्ययन गरेका थियौँ । तर 'फुल सक्सेस' पाइएन । बीचमै छोडियो । निजी तवरले अनुसन्धान गरेर मात्रै हुँदो रहेनछ ।

सरकारले यसमा हामीलाई सहयोग गर्नुपर्छ । जस्तो इन्जिनियरिङका लागि इन्जिनियरिङ एसोसियन छ । उहाँहरूसँग इन्जिनियरहरूको पर्याप्त डेटाबेस हुन्छ । सरकारले सहयोग गर्ने हो भने क्यानबाट आजैदेखि पहलकदमी हुन्छ । हामीले यो क्षेत्रको समग्र डेटा तयार पार्न र अद्यावधिक गर्न सक्छौँ । तर यसका लागि सरकारकै सहजीकरण आवश्यक छ । आईटीलाई उद्योगको रुपमा व्यवहार गर्नुपर्‍यो । निजी क्षेत्रलाई विश्वास गर्न सक्नुपर्‍यो ।

पछिल्लो अध्यावधिक: माघ १४, २०७९ २०:४१