काठमाडौँ । ह्वावेले सामाजिक उत्तरदायित्वअन्तर्गत सञ्चालन गर्दै आएको फ्लागशिप कार्यक्रम ‘सिड्स फर द फ्युचर, २०२५’ मा नेपालका तर्फबाट सहभागी हुने विद्यार्थीका लागि आवेदन खुला गरेको छ ।
‘बिल्डिङ अ फुल्ली कनेक्टेड, इन्टेलिजेन्ट वर्ल्ड बाई कल्टिभेटिङ डिजिटल ट्यालेन्ट’ नारासहित सुरु भएको उक्त कार्यक्रममा नेपालका विभिन्न कलेज तथा विश्वविद्यालयमा सूचना प्रविधि विषयमा स्नातक तह अध्ययनरत विद्यार्थीलाई लक्षित गरिएको कम्पनीले जनाएको छ ।
आवेदकहरुमध्येबाट निर्णायक मण्डलले विभिन्न चरणमार्फत सहभागी छनोट गर्नेछ । छनोट भएका विद्यार्थीहरू नेपालमा आयोजना हुने विभिन्न कार्यक्रममा सक्रिय रुपमा सहभागी हुनेछन् । सो अवधिमा विद्यार्थीहरूलाई वर्कसप, एक्सपोजर भिजिट, अन्तरवार्ता, असाइनमेन्ट र प्रस्तुतिकरणलगायतका चरणमा सहभागी गराइनेछ ।
विभिन्न चरणपछि छनोट हुने उत्कृष्ट विद्यार्थीले चीनमा आयोजना हुने प्रशिक्षण तथा क्षेत्रीय प्रतिस्पर्धामा भाग लिने अवसर प्राप्त गर्नेछन् भने क्षेत्रीय प्रतिस्पर्धामा उत्कृष्ट हुने विश्वव्यापी प्रतिस्पर्धामा सहभागी हुन पाउनेछन् । चीनमा रहँदा उनीहरुले अत्याधुनिक प्रविधि इनोभेसनसम्बन्धी कार्यशालामा भाग लिने कम्पनीले जनाएको छ ।
सहभागीहरूले आफ्नो उद्यमशीलतासम्बन्धी अवधारणा सुनाउने अवसरका साथै ह्वावेका तथा अन्य अन्तर्राष्ट्रिय विज्ञमार्फत मेन्टरसिप पनि प्राप्त गर्नेछन् । चीनमा आयोजना हुने कार्यक्रममा १०० भन्दा बढी देशका सूचना प्रविधिमा रुचि राख्ने व्यक्तिहरुसँग विद्यार्थीहरुले साक्षातकार गर्ने अवसर प्राप्त गर्ने कम्पनीको भनाइ छ ।
कार्यक्रममा सहभागीहरुले अन्तर्राष्ट्रिय ब्राण्डसँग काम गर्न पाउने अवसर पनि प्राप्त गर्नेछन् । ह्वावेका अनुसार सहभागीहरूले आर्टिफिसियल इन्टेलिजेन्स, फाइभजी, ग्रीन टेक र पछिल्लो समय सूचना प्रविधिमा भइरहेका गतिविधि लगायतका विषयमा जानकारी लिन तथा छलफल गर्ने मौका पाउनेछन् ।
इच्छुक विद्यार्थीले यही वैशाख २५ गतेदेखि जेठ ११ गते (मे ७ तारिखदेखि मे २५) सम्म आवेदन दिनसक्ने ह्वावे नेपालले जनाएको छ । ह्वावे नेपालको फेसबुक पेजमा रहेको क्यूआर कोड स्क्यान गरी आवेदन दिन सकिनेछ भने [email protected] मा ईमेल मार्फत थप जानकारी लिन सकिनेछ ।
नेपालमा आयोजना हुन लागेको यो छैटौँ संस्करणको कार्यक्रम हो । कम्पनीले सन् २०१९ देखि नेपालमा यो कार्यक्रम सञ्चालन गर्दै आइरहेको छ । नेपालबाट हालसम्म यस कार्यक्रममा १५० जना सहभागी भइसकेका छन् ।