close

भारतको आफ्नै अपरेटिङ अपरेटिङ 'भार ओएस', के गुगल र एप्पललाई चुनौती देला ?

टेकपाना टेकपाना

माघ १४, २०७९ १४:४४

भारतको आफ्नै अपरेटिङ अपरेटिङ 'भार ओएस', के गुगल र एप्पललाई चुनौती देला ?

काठमाडौँ । भारतको आईआईटी मद्रासले हालै भारओएस (BharOS) नामको एउटा नयाँ अपरेटिङ सिस्टमको विकास गरेको छ, जसले भारतमा स्मार्टफोन प्रयोगकर्तालाई थप सुरक्षित र स्वदेशी निजी मोबाइल अपरेटिङ सिस्टम प्रदान गरेर फाइदा पुर्‍याउने दाबी गरिएको छ ।

तर के भारओएसले गुगलको एन्ड्रोइडसँग प्रतिस्पर्धा गर्न सक्छ र गुगलको एन्ड्रोइडसँग तुलना गर्दा भारओएस कत्तिको फरक छ ? भारओएसको विषयमा उठेका विभिन्न जानकारीहरूको विषयमा यहाँ उल्लेख गरिएको छ । 

के हो भारओएस ?

भारओएस लिनक्स कर्नेलमा आधारित अपरेटिङ सिस्टम हो, जुन कुनै पनि गुगल एप अथवा अन्य सेवाबिना प्रयोग गर्न सकिन्छ । यो 'जन्डके अपरेसन प्राइभेट लिमिटेड' (JandKops)ले विकास गरेको उत्पादन हो, जुन आईआईटी मद्रास अन्तर्गतको इन्क्युबेटेड गैर-नाफामूलक संस्था हो ।

यस कम्पनीलाई आईआईटी मद्रास प्रवर्तक टेक्नोलोजी फाउन्डेसन अन्तर्गत इन्क्युबेटेड गरिएको छ, जुन प्रिमियर क्याम्पसमा स्थापित गैर-नाफामूलक कम्पनी हो । ​फाउन्डेसनलाई विज्ञान र प्रविधि विभाग, भारत सरकार, यसको राष्ट्रिय मिसन अन्तर्गत इन्टरडिसिप्लिनरी साइबर-फिजिकल सिस्टम्स (NMICPS) फन्डिङ गरेको हो । 

भारओएस एन्ड्रोइडभन्दा कति फरक छ?

प्राविधिक रूपमा, भारओएस गुगलको एन्ड्रोइडभन्दा धेरै फरक छैन । वास्तवमा, यो एन्ड्रोइड ओएस पनि ओपन सोर्स प्रोजेक्ट प्रयोग गरेर लिनक्स कर्नेलमा आधारित छ । भारओएस र गुगलको एन्ड्रोइड ओएस बीचको मुख्य भिन्नता भनेको भार ओएसमा गुगल सर्भिसेसहरू हुँदैन ।

यो एक अपरेटिङ सिस्टम हुनेछ, जसले प्रयोगकर्तालाई आफ्नो रुचिका एपहरू इन्स्टल गर्न अनुमति दिनेछ । यसको मुख्य काम भनेको एपहरू नियन्त्रण गर्ने हो । 

यो एक नेटिभ ओभर-द-एयर अपडेट (NOTA) सुविधाको साथ पनि आउँछ, जसले उपकरणहरूलाई सुरक्षित राख्छ र जुन स्वचालित रूपमा उपकरणमा डाउनलोड र इन्स्टल हुन्छ । भारओएसले प्रयोगकर्तालाई आफ्नो रोजाइको एप साइडलोड गर्न अनुमति दिनेछ । 

भारओएस कसरी इन्स्टल गर्न सकिन्छ ?

अहिले सम्म, भारओएस प्रयोगकर्ताको लागि उपलब्ध भइसकेको छैन । यसलाई प्रयोग गर्ने छन् अथवा डाउनलोड गरी कसरी इन्स्टल गर्नेछन् भन्ने लगायतका विषयमा कुनै पनि जानकारी बाहिर आइसकेको छैन । यो सबै एन्ड्रोइड फोनहरूका लागि भने उपलब्ध नहुन पनि सक्ने बताइएको छ । यसको अर्थ भारओएस केही सीमित फोनसँगै चिपसेटको लागी मात्र उपलब्ध हुनसक्छ ।

कहिले सार्वजनिक हुन्छ भारओएस ? 

यस विषयमा हाल कुनै पनि जानकारी बाहिर आएको छैन । यसको प्रोटोटाइप मात्र अहिले सार्वजनिक भएका कारण प्रयोगकर्ताले भने यसको लागि केही समय कुर्नपर्ने हुनसक्छ । 

के नयाँ स्मार्टफोनमा उपलब्ध हुनेछ भारओएस ? 

कम्पनीले स्मार्टफोनसँगै भारओएस उपलब्ध गराउनको लागि केही एन्ड्रोइड मोबाइल निर्मातासँग छलफल भइरहेको जनाएको छ । यद्यपि कोसँग छलफल भइरहेको छ कुन-कुन स्मार्टफोनमा उपलब्ध हुनेछ भन्ने विषयमा केही पनि जानकारी छैन ।

यो ओएस गुगलको पिक्सेल स्मार्टफोनको लागि बढी उपयोगी हुने पनि बताइएको छ । 

के भारओएस एन्ड्रोइडभन्दा राम्रो छ ?

भारओएसका डेभलपरहरूले यसका सुविधा र सुरक्षाका हिसाबले एन्ड्रोइड र आईओएस दुवैभन्दा यो राम्रो भएको दाबी गर्छन् । यसले प्रयोगकर्ताको सुरक्षाको लागि मात्र नभई डिभाइसको ब्याट्री क्षमतालाई सुधार गर्नको लागि पनि काम गर्ने कम्पनीको दाबी छ ।

यसले प्रयोगकर्तालाई उनीहरूको रुचिका एपहरू इन्स्टल गर्न अनुमति दिनेछ । यद्यपि यो कतिको राम्रो वा नराम्रो भन्ने विषय भने सार्वजनिक भएर प्रयोगमा आइसकेपछि थाहा हुनेछ । 

भारओएसमा एन्ड्रोइड एपहरू चलाउन सकिन्छ ?

यो एन्ड्रोइड कर्नेलमा आधारित भएका कारण यसले एन्ड्रोइड एपहरू चल्न अनुमति दिन्छ । तर गुगल प्ले सर्भिस आवश्यक पर्ने केही एपहरू भने भारओएसमा नचल्न सक्छ । 

भारओएसले गुगल प्ले सर्भिस सपोर्ट गर्छ कि गर्दैन ? 

गर्दैन, किनभने भारओएस विकास गर्नुको मुख्य कारण भनेको नै गुगल प्ले स्टोर वा गुगल प्ले सर्भिसेसबिना नै स्मार्टफोनमा ओएस प्रयोग गर्न सक्नु हो । त्यसैले भारओएसले गुगल प्ले स्टोरलाई सपोर्ट गर्ने छैन ।

पछिल्लो अध्यावधिक: माघ १४, २०७९ १४:४४