close

ह्वाट्सएप अकाउन्ट डिलिट भएपछि पनि बाँकी रहन्छ तपाईँले पठाएको मेसेज ?

टेकपाना टेकपाना

फागुन ७, २०७९ १४:२१

ह्वाट्सएप अकाउन्ट डिलिट भएपछि पनि बाँकी रहन्छ तपाईँले पठाएको मेसेज ?

काठमाडौं । ह्वाट्सएप इन्टरनेटमा सर्वाधिक प्रयोग हुने मेसेजिङ एप हो । हरेक महिना २० लाख बढी सक्रिय प्रयोगकर्ता हुने यो सेवामा २ अर्ब बढी प्रयोगकर्ता जोडिएका छन् ।

विभिन्न काम, स्कुल, सरकारी कार्यालय तथा विभिन्न स्थानमा ह्वाट्सएपको प्रयोग अपरिहार्य जस्तै बनिसकेको छ । फोटो, भिडिओ, लिङ्क तथा टेक्स्ट पठाउन प्रयोग गरिने यो एप व्यावसायमा पनि अत्यधिक बढी प्रयोग हुन्छ । यद्यपि विविध कारणले हामी ह्वास्टएप अकाउन्ट डिलिट गर्ने गर्छौं । तर के हामीले हाम्रो ह्वाट्सएप अकाउन्ट डिलिट गरिसकेपछि पनि हाम्रो च्याटहरू रहिरहन्छ त ?

तपाईँले ह्वाट्सएप अकाउन्ट डिलिट गरे पनि उक्त प्लेटफर्मबाट गरेको कुराकानी भने रहिरहन्छ । यसको अर्थ तपाईँले अकाउन्ट डिलिट गरेर सबैसँग भएका कुराकानी हटाउन सक्नुहुन्न । अकाउन्ट डिलिट भइसकेपछि पनि च्याट यथावत् रहिरहने भएकाले मेसेज हटाउन अकाउन्ट डिलिट गर्ने उपाय गलत हुनसक्छ ।

आखिर किन यस्तो हुन्छ त ? ह्वाट्सएप वा त्यस्तै मेसेजिङ प्लेटफर्मबाट गरिएका कुराकानी एकोहोरो हुँदैनन् । अर्थात् तपाईँले पठाएका मेसेज अर्को व्यक्तिको डिभाइसमा जान्छ भने उसले पठाएको मेसेज तपाईँको डिभाइसमा आउँछ । त्यसैले तपाईँले ह्वाट्सएप अकाउन्ट डिलिट गर्नु भनेको तपाईँको अकाउन्टबाट मात्रा मेसेज हट्नु हो । तपाईँले मेसेज पठाएको व्यक्तिको डिभाइसमा मेसेज सेभ भएर बसेको हुन्छ ।

यदि अन्य व्यक्तिले केही गरी आफ्नो अकाउन्ट पनि डिलिट गरे वा च्याट डिलिट गरे भने मात्र तपाईँले गरेका कुराकानी सो व्यक्तिको डिभाइसबाट हराउँछ ।

त्यसैले यदि कुनै मेसेज तत्कालै हटाउन पर्‍‍यो भने ह्वाट्सएपले 'डिलिट फर एभ्रिवान' (Delete For Everyone) को फिचर उपलब्ध गराएको छ ।

आफूले पठाएका मेसेज तत्कालै हटाउन तलको प्रक्रिया अपनाउनुहोस्:

याद गर्नुहोस् ह्वाट्सएपमा मेसेज पठाइसकेको एक घण्टाभित्र मात्र सबैका लागि हटाउन सकिन्छ ।

- सबैभन्दा पहिले ह्वाट्सएप खोल्नुहोस् ।

- त्यसपछि आफूले एक घन्टाभित्र मेसेज पठाएको व्यक्तिको अकाउन्ट छान्नुहोस् ।

- अनि, आफूले डिलिट गर्नुपर्ने च्याटलाई ट्याप गरेर केही समय होल्ड गर्नुहोस् ।

- र, माथि रहेको डिलिटको आइकनमा क्लिक गर्नुहोस् ।

- अनि 'डिलिट फर एभ्रिवान' (Delete For Everyone)को अप्सनमा क्लिक गर्नुहोस् ।

- यति गरेपछि उक्त मेसेज दुबै डिभाइसबाट हट्छ । तर, याद गर्नुहोस् सो व्यक्तिले तपाईँले मेसेज हटाउनुअघि नै मेसेज हेरिसकेको पनि हुन सक्छ ।

 

 

पछिल्लो अध्यावधिक: फागुन ७, २०७९ १४:३२