close

के हो फेसबुकको लगइन कोड र कसरी प्रयोग गर्न सकिन्छ ?

टेकपाना टेकपाना

फागुन ८, २०७९ ७:२८

के हो फेसबुकको लगइन कोड र कसरी प्रयोग गर्न सकिन्छ ?

काठमाडौं । कुनै नयाँ डिभाइसमा फेसबुक लगइन गर्दा तपाईँलाई लगइन कोड राख्न भनिएको हुन्छ । आखिर के हो लगइन कोड ? अकाउन्ट लगइन गर्दा पनि किन लगइन कोडको आवश्यकता पर्छ ?

फेसबुकले प्रयोगकर्ताको अकाउन्ट सुरक्षित राख्नका लागि टु-फ्याक्टर अथेन्टिकेसन सुविधा दिएको हुन्छ । यसको अर्थ तपाईँले कुनै अन्य डिभाइसमा फेसबुक लगइन गर्दा पासवर्ड बाहेक अन्य केही प्रक्रिया पुरा गर्नुपर्ने हुन्छ । 

यदि तपाईँले ती अन्य प्रक्रिया पुरा गर्न सक्नु भएन भने तपाईँको अकाउन्ट लगइन गर्न गाह्रो हुन्छ । हो त्यही अन्य प्रक्रियाभित्र पर्छ फेसबुकको लगइन कोड । 

अकाउन्ट सुरक्षित राख्न टु-फ्याक्टर अथेन्टिकेसन अप्सन अन गर्दा त्यहाँ विभिन्न विकल्प दिइएको हुन्छ । टु-फ्याक्टर अथेन्टिकेसन सिममा ओटीपी कोड जाने वा अथेन्टिकेसन एप प्रयोग गर्ने सुविधा हुन्छ । तर, फेसबुकले स्वतः रिकभरी कोड (लगइन कोड) को विशेषता अन गरेको हुन्छ । 

यदि प्रयोगकर्ताको सिम हराएको छ भने पनि अकाउन्टमा पहुँच दिन सकियोस् भनेर कम्पनीले यस्तो कोड उपलब्ध गराएको हुन्छ । तर, लगइन कोडका लागि भने तपाईँको डिभाइस पहिले नै अर्को कुनै डिभाइसमा लगइन भएको हुनुपर्छ ।

यदि तपाईँको अकाउन्ट अन्य कुनै डिभाइसमा लगइन भएको छ भने मात्र तपाईँले रिकभरी कोड पाउन सक्नुहुन्छ । अर्को डिभाइसमा आएको रिकभरी कोड नयाँ डिभाइसमा राखेको खण्डमा मात्र अकाउन्ट लगइन गर्न सकिन्छ ।

फोनमा यसरी प्रयोग गर्नुहोस् लगइन कोड: 

एउटा मोबाइल डिभाइसमा तपाईँको फेसबुक अकाउन्ट लगइन छ भने तलको प्रक्रिया अपनाएर रिकभरी कोड (फेसबुक लगइन कोड) पाउन सक्नुहुन्छ ।

-   सबैभन्दा पहिले मोबाइलमा फेसबुक एप खोल्नुहोस् ।

-   त्यसपछि माथि दायाँपट्टि रहेको तीन ओटा लाइनमा ट्याप गर्नुहोस् ।

-   अनि स्क्रोल गर्दै अन्तिममा रहेको 'सेटिङ एण्ड प्राइभेसी' (Setting and privacy) को अप्सन छान्नुहोस् ।

-   र, अन्तिममा रहेको 'कोड जेनेरेटर'को अप्सनमा जानुहोस् । त्यहाँ हरेक मिनेटमा फरक फरक कोड देखाउँछ । तपाईँले अर्को डिभाइसमा अकाउन्ट लगइन गर्दा जुन कोड डिस्प्लेमा देख्नुहुन्छ सो डिभाइसको लगइन कोड सेक्सनमा सोही कोड राख्नुहोस् ।

कम्प्युटरमा यसरी फेला पार्नुहोस् फेसबुक लगइन कोड:

कम्प्युटरको ब्राउजरबाट फेसबुक लगइन कोड थाहा पाउन तलको प्रक्रिया अपनाउनुहोस् ।

-   सबैभन्दा पहिले कुनै ब्राउजरमा गएर फेसबुक खोल्नुहोस् ।

-   त्यसपछि माथि दायाँपट्टि रहेको प्रोफाइल आइकनमा क्लिक गर्नुहोस् ।

-   अनि, 'सेटिङ एण्ड प्राइभेसी' (Setting and Privacy) को अप्सनमा क्लिक गर्नुहोस् ।

-   यति गरेपछि सेटिङको अप्सनमा छान्नुहोस् ।

-   त्यसपछि दायाँपट्टि देखाइएको 'सेक्युरिटी एण्ड लगइन' (Security and login) को अप्सनमा क्लिक गर्नुहोस् ।

-   र, युज टु-फ्याक्टर अथेन्टिकेसनको अप्सनको अन्तिममा रहेको एडिटको अप्सन छान्नुहोस् ।

-   अनि 'रिकभरी कोड्स' अप्सनको छेउमा रहेको 'शो कोड्ड'को अप्सनमा क्लिक गर्नुहोस् ।

-   त्यहाँ रहेका कुनै पनि कोड प्रयोग गरी अकाउन्ट लगइन गर्न सक्नुहुन्छ ।

लगइन कोडको अप्सन टु-फ्याक्ट अथेन्टिकेसन अन गर्दा मात्र देखिन्छ ।

 

 

पछिल्लो अध्यावधिक: फागुन ८, २०७९ ७:२८