close

सामाजिक सञ्जालबाटै पैसा कमाउन कसरी बन्ने सफल कन्टेन्ट क्रियटर ?

टेकपाना टेकपाना

बैशाख २७, २०८२ ११:६

सामाजिक सञ्जालबाटै पैसा कमाउन कसरी बन्ने सफल कन्टेन्ट क्रियटर ?

काठमाडौँ । आजको डिजिटल युगमा सामाजिक सञ्जालमा सामग्री सिर्जना गर्नु मनोरञ्जन वा रुचिको विषय मात्र नभई आम्दानीको राम्रो स्रोत पनि बन्न सक्छ । यसका अनेक उदाहरण छन् । विश्वकै सबैभन्दा धेरै सब्सक्राइबर भएका मिस्टर बिस्टले युट्युबबाटै वर्षको १२ अर्ब रुपैयाँभन्दा बढी आम्दानी गर्छन् ।

पछिल्लो तीन वर्षमा भारतका युट्युबरले तीन खर्ब रुपैयाँभन्दा बढी कमाएको विषय पनि चर्चामै छ । नेपालमै पनि गत वर्षको अन्तिम आठ महिनाको तथ्याङ्क हेर्ने हो भने नेपाली कन्टेन्ट क्रियटरले कूल दुई अर्ब रुपैयाँ भित्र्याएको देखिन्छ ।

सामाजिक सञ्जालको प्रभाव बढ्दै जाँदा धेरै व्यक्तिहरू यसबाट लाभान्वित बनिरहेका छन् । एक सफल कन्टेन्ट क्रियटर बनेर सामाजिक सञ्जालबाट कसरी आम्दानी गर्न सकिन्छ भन्ने विषयमा यहाँ चर्चा गर्दैछौँ:

१. आफ्नो निश (Niche) अर्थात् विशेषता पहिचान गर्ने

सफल हुनका लागि तपाईँले कुन विषयमा कन्टेन्ट क्रियट (सिर्जना) गर्ने हो, जुन कुरामा तपाईँको विशेषता छ वा रुचि छ, त्यो निर्धारण गर्नु महत्त्वपूर्ण हुन्छ । त्यसपछि तपाईँले कसका लागि कन्टेन्ट बनाउँदै हुनुहुन्छ भन्ने लक्षित दर्शकहरू चिन्नुपर्ने हुन्छ। उनीहरूको उमेर, लिङ्ग, पेसा, आम्दानी, आकाङ्क्षा र समस्याहरू के हुन् भन्ने बुझ्नुहोस् । साथै तपाईँको कन्टेन्टले उनीहरूलाई कसरी मद्दत गर्न सक्छ भन्ने विचार गर्नुहोस् । दर्शकले तपाईँलाई किन फलो गर्ने भन्ने कुरामा स्पष्ट हुनुपर्छ ।

२. सही सामाजिक सञ्जाल प्लेटफर्म छनौट गर्ने

तपाईँ सबै प्लेटफर्ममा उपस्थित हुन आवश्यक छैन । तपाईँका लक्षित दर्शकहरू सक्रिय भएको र तपाईँको कन्टेन्टको लागि उपयुक्त प्लेटफर्म चयन गर्नुहोस् । नेपालमा फेसबुक, इन्स्टाग्राम, युट्युब र टिकटक पैसा कमाउने माध्यमका रूपमा लोकप्रिय छन् । विभिन्न प्लेटफर्मका सबल र कमजोर पक्षकहरूको मूल्याङ्कन गर्नुहोस् । जस्तै: इन्स्टाग्राम भिजुअलका लागि उत्कृष्ट छ, टिकटकमा ई-कमर्स सेक्सन छ । यो सन्दर्भमा आफ्ना प्रतिस्पर्धीहरूले प्रयोग गरिरहेका प्लेटफर्महरू पनि विचार गर्न सक्नुहुन्छ ।

३. आकर्षक र गुणस्तरीय कन्टेन्ट क्रियट सिर्जना गर्ने

तपाईँले सिर्जना गर्ने कन्टेन्ट आकर्षक र मूल्यवान् हुनुपर्छ । जुन दर्शकले मन पराउने, जानकारी प्रदान गर्ने वा मनोरञ्जन दिने किसिमको होस् । यसमा फोटो, भिडिओ, स्टोरी, लाइभ स्ट्रिमिङ, क्विज, सर्वेक्षण, पोल जस्ता विभिन्न प्रकारका कन्टेन्ट हुन सक्छन् । प्रयोगकर्ताले सिर्जना गरेका कन्टेन्ट (UGC) वा रिभ्यु तथा टेस्टिमोनियल पनि प्रभावकारी हुन्छ । कन्टेन्टमा फोटो र भिडिओ सहितका विवरण पोस्ट गर्नुहोस् ।

४. नियमित पोस्ट गर्ने

नियमित कन्टेन्ट पोस्ट गर्ने एउटा तालिका बनाउनु होस् । र तोकिएको समय तालिका अनुसार नियमित रूपमा कन्टेन्ट पोस्ट गर्नुहोस् । यसबाट आधिकारिक स्रोतको रूपमा तपाईँमाथि दर्शकलाई विश्वास गर्न मद्‍दत गर्छ र तपाईँको अपडेट हेर्ने सम्भावना बढाउँछ ।

५. दर्शकहरूसँग इङ्गेज हुने

आफ्ना लक्षित दर्शकहरूसँग अन्तरक्रिया गर्नुहोस् र इङ्गेज हुनु होस् । कमेन्टहरूको जवाफ दिने, प्रश्नहरू सोध्ने र प्रयोगकर्ताहरूलाई स्वीकार गर्नु नै कम्युनिटीलाई बढावा दिने र सम्बन्ध बनाउने तरिका हुन् । कमेन्ट र फिडब्याकलाई प्रोत्साहन गर्नुहोस् र छिटो वा समयमै रिप्लाई दिने प्रयास गर्नु होस् ।

६. प्रभावकारी ह्याशट्याग र किवर्ड प्रयोग गर्ने

तपाईँ र तपाईँका कन्टेन्ट खोज्न सजिलो बनाउनका लागि आफ्नो प्रोफाइलको प्रत्येक खण्डमा सान्दर्भिक किवर्डहरू प्रयोग गर्नुहोस् । यस्तै तपाईँको कन्टेन्टको प्रकार वा उत्पादनसँग सम्बन्धित लोकप्रिय ह्याशट्याग प्रयोग गर्न सक्नु हुन्छ । सही ह्याशट्यागले तपाईँको कन्टेन्टलाई धेरै प्रयोगकर्ताहरूसम्म पुग्न मद्दत गर्छ ।

७. आम्दानीका विभिन्न स्रोतहरू खोजी गर्ने

सामाजिक सञ्जालबाट विभिन्न तरिकाले आम्दानी गर्न सकिन्छ । त्यसमध्ये विज्ञापन एउटा महत्त्वपूर्ण स्रोत हो । युट्युब जस्ता प्लेटफर्ममा भिडिओहरूमा विज्ञापन देखाएर पैसा कमाउन सकिन्छ । च्यानल मनिटाइज गर्न युट्युबको नियम (१ हजार सब्सक्राइबर र पछिल्लो १२ महिनामा ४ हजार घण्टा वाच टाइम) पूरा भएको हुनुपर्छ । यसबाट हुने आम्दानी भ्युज, लोकेसन र विज्ञापन जस्ता विभिन्न पक्षमा निर्भर हुन्छ ।

त्यस्तै ब्रान्ड डिल र स्पोन्सरशिप मार्फत पनि तपाईँले आम्दानी गर्न सक्नु हुन्छ । आफ्नो कन्टेन्टमा विभिन्न ब्रान्डका उत्पादन वा सेवाहरूको प्रचार गरेर त्यसबापत पैसा लिन सकिन्छ । ठुला ब्रान्डले पनि टिकटक प्रयोग गर्न थालेका छन् । फलोअर सङ्ख्या । भ्युजको आधारमा बार्गेनिङ गर्न सकिन्छ । यद्यपि, स्पोन्सरबाट लिइएका कन्टेन्टले तपाईँको विश्वसनीयतामाथि प्रश्न भने उठाउन सक्छ । त्यसैले यसमा ध्यान दिनुपर्छ ।

सामाजिक सञ्जालमार्फत आम्दानी गर्ने अर्को उपाय हो, एफिलियट मार्केटिङ । तपाईँले सिफारिस वा सल्लाह दिएको लिङ्कबाट तपाईँका दर्शकले उत्पादन खरिद गरेमा निश्चित कमिसन प्राप्त गर्न सक्नु हुन्छ । यसका लागि धेरै सब्सक्राइबर वा वाच टाइम आवश्यक पर्दैन । नेपालमा दराजले २०२१ बाट यस किसिमको सुविधा सुरु गरेको छ । यद्यपि यो त्यति धेरै प्रचलनमा भने छैन ।

तपाईँ सामाजिक सञ्जालमार्फत आफ्नै सामान र सेवा पनि बेच्न सक्नु हुन्छ । यसमा आफ्नै ब्रान्डका सामान, कोर्स, ई-बुक जस्ता डिजिटल उत्पादनहरू बिक्री गर्न सकिन्छ । इन्स्टाग्रामलाई बिजनेस कार्ड जस्तै प्रयोग गर्न सकिन्छ, जसलाई प्रोफाइल कार्ड नाम दिइएको छ । टिकटकमा अनलाइन स्टोरको लिंक राख्न सकिन्छ । युट्युबमा सामान बेच्ने सुविधाका लागि १० हजार सब्सक्राइबर चाहिन्छ, नत्र अन्य एप प्रयोग गरेर लिंक डिस्क्रिप्सनमा राख्न सकिन्छ । भाषा कक्षा वा अन्य ज्ञानका कक्षाहरू दिएर पनि कमाइ गर्न सकिन्छ।

सामाजिक सञ्जालमार्फत आम्दानी गर्न फ्यान फन्डिङ र डोनेसन लिन पनि सकिन्छ । युट्युबको सुपर च्याट, सुपर स्टिकर (लाइभ/प्रिमियरमा) र सुपर थ्याङ्क्स (शर्ट्स/भिडिओमा) वा टिकटकमा लाइभस्ट्रीम गर्दा दर्शकले दिने कोइन (डिजिटल गिफ्ट) यसमा पर्छन् । पे पाल, भेन्मो, ई-सेवा जस्ता एपको खाताको लिङ्क प्रोफाइलमा राखेर पनि डोनेसन माग्न सकिन्छ । च्यानल मेम्बरशिप मार्फत मासिक शुल्क लिएर विशेष सुविधा दिने उपाउ पनि अपनाउन सक्नु हुन्छ । यसबाहेक कतिपयले ग्रुप वा पेज बेचेर तथा भाडामा लगाएर पनि आम्दानी गरिरहेका हुन्छन् ।

८. आफ्नो प्रर्फर्मेन्स ट्य्राक गर्ने

आफ्ना पोस्ट र भिडिओहरूको पर्फर्मेन्स (सब्सक्राइबर, भ्युज, इङ्गेजमेन्ट, वाच टाइम) ट्य्राक गर्नुहोस् र विश्लेषण गर्नुहोस् । कुन कुराले राम्रो काम गरिरहेको छ र कहाँ सुधार आवश्यक छ भन्ने बुझ्न एनालिटिक्स उपकरणहरू जस्तै: युट्युब एनालिटिक्स, फ्यानपेज कर्मा) प्रयोग गर्न सक्नु हुन्छ । यसरी प्राप्त डेटाको आधारमा आफ्नो रणनीति व्यवस्थापन गर्नुहोस् ।

९. स्रोत र बजेट व्यवस्थापन गर्ने

कन्टेन्ट सिर्जनाका लागि समय, डिभाइस, सफ्टवेयर, बजेट जस्ता आवश्यक स्रोत व्यवस्थापन गर्नुपर्ने हुन्छ । विज्ञापन, बुस्टेड पोस्टमा खर्च गर्नुपर्ने हुन सक्छ । आरओआई (लगानीको प्रतिफल) ट्य्राक गर्ने बानी बसाल्नु होस् । क्यामेरा, माइक्रोफोन, एडिटिङ सफ्टवेयर, मार्केटिङ खर्च र यात्रा आदिमा तपाईँको खर्च हुन सक्छ ।

१०. कर दायित्वबारे सचेत हुने

कन्टेन्ट तयार पारेर हुने आम्दानीमा कर तिर्नुपर्ने हुन सक्छ । विज्ञापन आय, प्रायोजन, एफिलियट कमिसन, डिजिटल उत्पादन बिक्री, फन्डिङ तथा डोनेसन आदि सबै आम्दानी कर योग्य मानिन सक्छन् । व्यवसायसँग सम्बन्धित खर्चहरूमा पनि त्यसको हिसाब गर्नुपर्ने हुन सक्छ । करको लागि विस्तृत अभिलेख राख्नु महत्त्वपूर्ण हुन्छ । सबै आम्दानी र खर्चको रसिद तथा इनभ्वाइसहरू व्यवस्थित गर्नुहोस् । आवश्यक पर्दा सीए तथा अडिट फर्महरूसँग परामर्श लिन पनि सक्नु हुन्छ ।

यति सबै कुरा गर्दैगर्दा अन्त्यमा एउटा सफल कन्टेन्ट क्रियटर बन्नका लागि तपाईँमा धैर्ययता र निरन्तरता भने चाहिन्छ । साथै दर्शकको रुचिलाई ध्यानमा राख्नुपर्छ र गुणस्तरीय कन्टेन्ट निर्माणमा केन्द्रित हुनुपर्छ । डिजिटल प्रविधिको फाइदा लिँदै गर्दा सम्भावित दुरुपयोग प्रति सचेत हुन र जोगिन पनि उत्तिकै महत्त्वपूर्ण छ ।

पछिल्लो अध्यावधिक: बैशाख २७, २०८२ ११:६