close

बजारका लागि कत्तिको सुहाउँदो छ नेपालको आईटी शिक्षा ?

सञ्जीवन राई सञ्जीवन राई

फागुन ९, २०७९ १५:०

बजारका लागि कत्तिको सुहाउँदो छ नेपालको आईटी शिक्षा ?

काठमाडौं । नेपालमा सूचना प्रविधि (आईटी) अध्ययनका लागि विभिन्न विकल्प उपलब्ध छन् । स्थानीयदेखि विदेशी विश्वविद्यालयले उच्च शिक्षामा आईटीसम्बन्धी शैक्षिक कार्यक्रम सञ्चालन गरिरहेका छन् ।

वर्षेनि हजारौंकाे संख्यामा आईटी जनशक्ति उत्तीर्ण हुने चर्चा भएपनि यसकाे यकिन आँकडा भने कसैसँग छैन । अर्काेतर्फ नेपालकाे आईटी उद्योग कत्राे छ ? उद्याेगकाे आवश्यकता के छ ? उत्तीर्ण विद्यार्थी अध्ययनलगत्तै राेजगार बनेका छन् त ? के आईटी उद्योगलाई आवश्यक जनशक्ति उत्पादन गर्ने कोर्षहरु छन् ? यी यावत् प्रश्नहरु आउनु स्वाभाविक रहेको छ ।

किन कि एकातिर विद्यार्थी उत्पादन भइरहेका हुन्छन्, अर्कोतिर उद्योगमा दक्ष जनशक्ति अभाव भयो भनेर गुनासा आइरहेका हुन्छन् । यस्ता प्रश्नले नेपालमा शैक्षिक क्षेत्र (एकेडेमिया) र उद्योगमा अन्तर भएको हो कि भन्ने देखाउँछ । नेपालमा यी दुई क्षेत्रबीच खाँडल भएकोमा सरोकारवालाहरू पनि सहमत नै छन् ।

उद्योग र एकेडेमियामा अन्तर

नेपालमा आईटी अध्यापन गराउने विश्वविद्यालय र कलेज धेरै भएपनि उद्योग र एकेडेमियामा अन्तर भएको काठमाडौं विश्वविद्यालयका स्कुल अफ इन्जिनियरिङका डीन प्रा.डा. मनिष पोखरेल बताउँछन् । 

नेपालमा आईटी शिक्षा र उद्योगबारे पर्याप्त डेटा नहुँदा यो अन्तर भइरहेको उनको बुझाइ छ ।  “नेपालमा कति आईटी कलेज छन् ? कुनकुन कोर्ष छन् ? वार्षिक कति विद्यार्थी उत्पादन भइरहेका छन् ? यहाँको आईटी उद्योग कति ठूलो छ ? कति जनशक्ति चाहिन्छ ? वार्षिक कति विद्यार्थी उद्योगमा जान्छन् ? कति विद्यार्थी विदेश जान्छन् ? यस्ता विषयमा अध्ययन भएको छैन । यो कुराले उद्योग र एकेडेमियाबीचको अन्तर बढाउन भूमिका खेलेको छ,” उनी भन्छन् । 

त्यस्तै कोर्षमा प्रयोगात्मक शिक्षा पर्याप्त मात्रामा नहुँदा उद्योग र एकेडेमियाबीच अन्तर भएको पोखरा विश्वविद्यालयका विज्ञान तथा प्रविधि संकायका डीन प्राध्यापक राजेशकुमार ठगुराथी बताउँछन् । “आईटी उद्योगमा विकास र परिवर्तन भइरहन्छ । तर हाम्रा विश्वविद्यालयका कोर्षहरु लामो समयसम्म परिवर्तन हुँदैनन् । नवीनतम कुरा विद्यार्थीले पढ्न पाउँदैनन्,” उनी अगाडि भन्छन्, “यी कुराले उद्योगलाई चाहिने आवश्यक सीप विद्यार्थी हासिल गर्न सक्दैनन् ।” 

नेपालमा उद्योग र एकेडेमियाबीच अन्तर भएको कुरा सफ्टवेरिका कलेजका प्रिन्सिपल प्रमोद पौडेल पनि स्वीकार गर्छन् । “एकेडेमियाको काम कुनै पनि विद्यार्थीको आधारभूत तह बलियो बनाउने हो । विद्यार्थीलाई ठ्याक्कै उद्योगको आवश्यकताअनुसार तयार पार्ने काम एकेडेमियाको होइन,” उनी भन्छन्, “एकेडेमियाले विद्यार्थीलाई सिक्नका लागि वातावरण तयार पार्ने काम गर्छ । आईटी क्षेत्रमा कुनै नयाँ प्रविधि आए, ती सिक्नसक्ने, अध्ययन गर्नसक्ने बनाउन कोशिश गर्छ ।” 

प्रविधिमा चाँडो चाँडो परिवर्तन आइरहेको हुन्छ । ती सबै प्रविधिबारे एकेडेमियाले विद्यार्थीलाई अध्यापन गराउन नसक्ने प्रिन्सिपल पौडेलकाे धारणा छ । यो कारण पनि यी दुई क्षेत्रमा अन्तर भइरहेकाे उनको बुझाइ छ । 

यता नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा-प्रतिष्ठान (नास्ट)का प्रविधि सङ्काय प्रमुख डा. रविन्द्रप्रसाद ढकाल नेपालमा उद्योग र एकेडेमियाबीच पर्याप्त छलफल तथा बहस नभएर अन्तर भएको बताउँछन् । 

“उद्योगको आवश्यकता के हो ? समस्याहरू के के छन् ? यस्ता विषय लिएर उद्योगका व्यक्तिहरु एकेडेमियामा कमै जानुभएको छ,” उनी अगाडि भन्छन्, “त्यस्तै विद्यार्थीको रोजगारी छैन, यहाँ बस्ने ठेगान छैन, आईटी त विश्वबजार हो भनेर शिक्षाका व्यक्तिहरुले बजारलाई खुल्ला छाडिदिँदा समस्या देखिएको छ । यी कुराले अन्तरलाई बढाउन भूमिका खेलेको छ ।” 

कलेज र विश्वविद्यालय सधैं प्रमाणपत्रमा ध्यान दिने र उद्योगले सधैं सीप खोज्ने भएकाले यो अन्तर अझ बढेको कम्प्युटर एसाेसिएसन नेपाल महासंघ (क्यान महासंघ)का महासचिव चिरञ्जीवी अधिकारी बताउँछन् । एकअर्काको कुरा सबै थाहा भएपनि ‘अपडेट र अपग्रेड’ गर्ने काममा एकदमै ढिलाइ भएको उनको गुनासाे छ । त्यस्तै उनी यस्तो हुनुमा नीतिको दोष रहेको दाबी गर्छन् । “यसबारे नेपालमा स्पष्ट नीति छैन,” उनी भन्छन्, “छलफलका लागि ठाउँ छैन । यी कुराले अन्तरलाई अझ बढाएको छ ।” 

एकेडेमिया र उद्योगको सम्बन्ध

पछिल्लो केही समय उद्योग र एकेडेमियाबीच सहकार्य बढ्दै गएको देख्न सकिन्छ । प्राय: तालिम, इन्टर्नशिप र जागिरका लागि यी दुई क्षेत्रबीच सहकार्य भइरहेको देखिएको छ । हालैमात्र काठमाडौं विश्वविद्यालयफ्यूजमशिनले विद्यार्थीलाई एआई शिक्षाका दिन सम्झौता गरेका छन् । यसबाट विद्यार्थीलाई उद्योगका मान्छेसँग जोडिन सजिलो हुने डीन प्रा.डा. पोखरेल सुनाउँछन् । 

योसँगै अन्य कलेजहरूसँग आफूहरुले सहकार्य गरिरहेको नेपाली बहुराष्ट्रिय प्रविधि कम्पनी फ्युजमशिन इन्ककी सिनियर पब्लिक रिलेसन्स डाइरेक्टर रुचि पाण्डे बताउँछिन् । उनका अनुसार तालिमदेखि पाठ्यक्रम निर्माणमा फ्युजमसिनले एकेडेमियासँग सहकार्य गरेको छ । त्यस्तै फ्युजमेशिन आफैंले एआई शिक्षा प्रदान गरिरहेको उनले जानकारी दिइन् । “हामीले नेपालीहरू पनि एआईमा अगाडि छन् भनेर विश्वलाई देखाउन काम गरिरहेका छौं,” उनी अगाडि भन्छिन्, “यसैका लागि हामी आफैंले एआई शिक्षा दिन थालेका हौं । योसँगै एकेडेमियासँगको सहकार्यलाई अगाडि बढाएका छाैँ ।” 

सफ्टवेरिका कलेजका प्रिन्सिपल पौडेल आफूहरु पनि उद्योगसँग सहकार्य गरिरहेको बताउँछन् । “हामीले २० भन्दा धेरै आईटी कम्पनीसँग सम्झौता गरेका छौं,” उनी भन्छन्, “यसले उद्योगका मान्छेसँग निरन्तर छलफल तथा सहकार्य गर्ने वातावरण सिर्जना भएको छ ।” उनी पछिल्लो समय उद्योग र एकेडेमियाबीचको सहकार्य बढ्दै गइरहेको सुनाउँछन् ।

भूमिकाविहीन सरकार !

यी दुईबीच अन्तर कम गर्नमा सरकार चुकेको काठमाडौं विश्वविद्यालयका डीन प्रा.डा. पोखरेलको बुझाइ छ । अर्थात् उद्योग, एकेडेमिया र सरकार तीनै पक्षमा नै अन्तर भएको उनी सुनाउँछन् । “सरकारको प्राथमिकतामा यो विषय परेको छैन । हुन त विभिन्न सेमिनारतिर यो कुरा उठेपनि काम गर्ने बेलामा भएको छैन,” उनी अगाडि भन्छन्, “अनुसन्धान गर्दा आवश्यक पर्ने प्रविधिको आयातमा कर छुट दिने, प्रोत्साहान गर्नेजस्ता काममा सरकारले भूमिका खेल्नुपर्ने हुन्छ । तर त्यस्तो भएको छैन ।” 

उद्योग र एकेडेमियाको सहकार्यबारे धेरै पहिलेदेखि बहस भएको बताउँदै नास्टका प्रविधि संकाय प्रमुख डा. ढकाल काम भने खासै नभएको गुनासो गर्छन् । थुप्रै विषयमा उद्योग र एकेडेमियाबीच सहकार्य गर्न सकिने भएता पनि साकार नभइरहेको उनको भनाइ छ । यस कुरामा उनी सरकारी नीति दोषी भएको देख्छन् । 

“उद्योगलाई सधै अपजस दिएर मात्र हुँदैन । नीतिमा नै समस्या भएर सहकार्य नभएको हो,” उनी अगाडि भन्छन्, “यदि सरकारले उद्योगहरूलाई रिसर्च एन्ड डेभलपमेन्ट (आरएन्डडी)मा लगानी गर्दा सहुलियतहरु दिएको भए र त्यसका लागि समन्वयकारी भूमिका खेलेको भए यस्तो हुँदैन थियो ।” 

त्यस्तै क्यान महासंघका महासचिव अधिकारी नीतिगत रुपमा नेपाल धेरै पछि परेको बताउँछन् । “आईटी विधयेक २०७५ बनेको नै चार वर्ष बढी भइसकेको छ । तर अझै पास भएको छैन । त्यो विधेयक बनाउँदाको प्रविधि र अहिलेकोमा धेरै अन्तर भइसकेको छ । जुन गतिमा प्रविधिको विकास र परिवर्तन भइरहेको छ, त्यसको तुलनामा हामी धेरै पछि छौं,” उनी थप्छन्, “प्रविधि धेरै परिवर्तन भएपछि मात्र नेपालमा नीति ल्याइन्छ । जुन समयानुकूल नुहन सक्छ । यसकारण बलियो राजनीतिक प्रतिबद्धता बिना यो कुरालाई अर्को चरणमा लान सक्दैनौं ।” 

उद्योग र एकेडेमियाबीचको अन्तर कम गर्नमा सरकरले धेरै भूमिका खेल्नसक्ने भएता पनि त्यो देखिएको छैन । नाम नखुलाउने सर्तमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका एक उच्च अधिकारी मन्त्रालयबाट आईटीका विद्यार्थीलाई कुनै पनि सहयोग प्राप्त नहुने बताउँछन् । अहिलेसम्म त्यस्तो व्यवस्था नभएकाले इच्छा भएर पनि सहयोग गर्न नसकेको उनी सुनाउँछन् । तर त्यस सम्बन्धी आन्तरिक तयारी भने भइरहेको उनको भनाइ छ । 

“सरकारी छात्रवृत्तिमा विद्यार्थीलाई आईटी अध्ययन गराउने व्यवस्था भएको निर्देशिका ल्याउने तयारीमा छौं,” उनी भन्छन्, “तर यसको काम विविद कारणले अगाडि बढ्न सकेको छैन । सूचना प्रविधि भविष्य हो भनेर थाहा पाए पनि आईटी शिक्षामा केही गर्न सकेका छैनाैँ ।” 

के पाठ्यक्रममा समस्या हो ?

पोखरा विश्वविद्यालयको विज्ञान तथा प्रविधि सङ्कायका डीन प्राध्यापक राजेशकुमार ठगुराथीले निश्चित समयको अन्तरमा विश्वविद्यालयमा सञ्चालनमा रहेका आईटी सम्बन्धी कार्यक्रमहरुका पाठ्यक्रम संशोधन कार्य भइरहेको बताउँछन् ।

''पोखरा विश्वविद्यालयको स्थापनाकालदेखि नै स्नातक तथा स्नातकोत्तर तहमा विभिन्न आईटीसम्बन्धी कार्यक्रमहरु सञ्चालन हुदै आएका छन् । गत वर्षदेखि एमएससी बायाे इन्फर्मेटिक्स कार्यक्रम पनि सञ्चालनमा आएको छ । विश्वविद्यालयको स्नातक तहका आईटी लगायत अन्य इन्जिनियरिङ विधाका कार्यक्रमहरूमा यस वर्ष भर्ना भएका विद्यार्थिले परिमार्जित पाठ्यक्रम अध्ययन गर्दैछन्,'' उनी भन्छन् ।

उद्योग र एकेडेमियाको अन्तर हुनुमा पाठ्यक्रम कारक नभएको काठमाडौं विश्वविद्यालयका डीन प्रा.डा. पोखरेलको बुझाइ छ । बरु पाठ्यक्रममा खोट नभएर उद्योग र एकेडेमियाबीचको फरकलाई व्यवस्थापन गर्न नसकेको उनी बताउँछन् । तर उनी नेपालमा एकेडेमियाभन्दा उद्योग पछि नै रहेको सुनाउँछन् ।

“हामी विश्व उद्योगलाई हेरेर पाठ्यक्रम तयार पार्छौं । तर यहाँको उद्योग त्यो अनुसार अपडेडेट नभइदिँदा उत्पादन भएका विद्यार्थीहरु विदेशिन्छन्,” उनी अघि भन्छन्, “यदि उद्योग त्यहीअनुसार परिपक्क भए विद्यार्थीले अवसर पाउँथे । विद्यार्थीहरु यहीँ नै बस्थे । विद्यार्थीले यहाँ एकथरी पढ्छन्, तर त्यो अनुसारको काम भने पाउँदैनन् ।” 

फ्यूजमशिनकी पाण्डे भने नेपाली विश्वविद्यालयको कोर्ष अध्ययन गरेका विद्यार्थीहरू उद्योगमा बिक्नसक्ने बताउँछिन् । “हाम्रो कम्पनीको सबैभन्दा ठूलो हिस्सा नेपालमै छ । यहाँ कार्यरत धेरै इन्जिनियरहरू नेपाली विश्वविद्यालयका उत्पादन हुनुहुन्छ,” उनी थपमा भन्छिन्, “यो कुरालाई मात्र हेर्ने हो भने पनि नेपालमा उत्पादन हुने जनशक्तिले काम दिइरहेको छ । तर थप तालिमहरु भने अपरिहार्य छ ।” 

अझ नेपाली आईटी शिक्षालाई अब्बल बनाउन विश्वविद्यालय तथा काठमाडौं केन्द्रित कलेजहरूको सेवा सुविधा अन्य ठाउँहरुमा पुर्याउनुपर्ने धारणा उनी व्यक्त गर्छिन् । त्यस्तै विद्यालय तहबाट नै आईटी शिक्षा दिनुपर्ने कुरामा उनी जोड दिन्छिन् ।  

क्यान महासंघका महासचिव अधिकारी भने कोर्षमा हुने इन्टर्नशिपलाई उत्तीर्ण हुने माध्यमका रुपमा मात्र प्रयोग गर्दा समस्या निम्तिएको हुनसक्ने शंका गर्छन् । “परीक्षा उत्तीर्ण गर्न वा विश्वविद्यालयलाई देखाउन मात्र इन्टर्नशिप गर्दा उद्योग र एकेडेमियाको अन्तर हुनमा सहयोग पुगेको हुन सक्छ,” उनी बताउँछन् । 

साथै नास्टका डा. ढकाल समेत नेपाली विश्वविद्यालय अपडेटेड भएको बताउँछन् । नेपाली विश्वविद्यालयबाट उत्पादन भएका विद्यार्थीहरु विश्वबजारमा खपत भइरहेको उदाहरण दिँदै उनी भन्छन्. “उद्योगको आवश्यकता पूरा गर्ने खालका पाठ्यक्रम विश्वविद्यालयसँग भएनन् भने बजारमा विद्यार्थीमा जाँदैनन्। तर अहिले नेपालको आईटी उद्योगमा त्यस्तो भएको देखिँदैन । यो कुराले विश्वविद्यालय अपडेटेड नै छन् भनेर देखाउँछ ।” 

सहकार्य र संवाद

उद्योग र एकेडेमियाबीचको अन्तर कम गर्न अहिले छलफल र बहस नै उपयुक्त भएको नास्टका डा. ढकालको बुझाइ छ । साथै उनी सरकारले चाहे यी दुईको अन्तर कम गर्ने बारे छलफल र बहस गर्नका लागि वातावरण तयार हुनेमा ढुक्क देखिन्छन् । 

“अहिले उद्योग मन्त्रालय र शिक्षा मन्त्रालय जोडिने माहोल छैन । यसैले यी दुई मन्त्रालयको बीचमा रहेर काम गर्ने संयन्त्र तयार पार्नुपर्छ । यदि मन्त्रालय स्तरमा यो काम गर्न सम्भव छैन भने नास्ट जस्तो संस्थालाई जिम्मा दिन सकिन्छ । यदि यसो गर्न सके अन्तर कम गर्न सकिन्छ,” उनी विचार राख्छन् । 

त्यस्तै उनको कुरामा डीन प्रा.डा. पोखरेल सहमत देखिन्छन् । उनी पनि एकेडेमिया र उद्योगबीचमा छलफल भएमात्र अन्तर कम हुने धारणा राख्छन् । यसका लागि यी दुई क्षेत्रबीच निरन्तर संवाद हुनुपर्ने उनी बताउँछन् । “आफूलाई के चाहिएको हो ? कस्तो जनशक्ति आवश्यक परेको हो ? यी कुरामा उद्योग स्पष्ट हुनुपर्छ । यसका लागि उद्योगले अनुसन्धान पनि गर्नुपर्छ,” उनी थप्छन्, “त्यस्तै एकाडेमियाले पनि अब कसरी पढाउने, केके पढाउने भन्ने विषयमा उद्योगसँग सहकार्य र छलफल गरेर जानुपर्छ ।”

अन्तर कम गर्न विद्यार्थीको भूमिका

उद्योगमा जाने भएकाले यो अन्तर कम गर्न विद्यार्थीले प्रमुख भूमिका खेल्ने पोखरा विश्वविद्यालयका डीन प्राध्यापक ठगुराथी बताउँछन् । आईटी उद्योगभित्र धेरै क्षेत्र हुने भएकाले अध्ययनअघि नै आफू कुनमा जाने भन्ने कुराको निर्णय गर्नुपर्ने उनको विचार छ । यदि कोर्ष अध्ययनपछि मात्र कता जाने भन्ने निर्णय गरे समस्या हुने उनी सुनाउँछन् । 

“अरुले के पढे भनेर भन्दा पनि आफूलाई के मन पर्छ, त्यो कोर्ष अध्ययन गर्नुपर्छ । त्यस कोर्षमा कति सिक्ने भन्ने कुरा विद्यार्थीमा भर पर्छ,” उनी भन्छन्, “यसका लागि विद्यार्थीले शिक्षकहरुसँग सहकार्य गर्ने, कलेजमा भएका स्रोतलाई भरपूर प्रयोग गर्ने, पाठ्यक्रम बाहेक अन्य कोर्ष लिने जस्ता काम गर्न सक्छन् ।”

त्यस्तै उद्योग र एकेडेमियाको अन्तर कम गर्न विद्यार्थीको ठूलो भूमिका हुनेमा डीन प्रा.डा. पोखरेल समेत विश्वस्त छन् । तर विद्यार्थी स्वयंले भने सबै कुरा गर्न नसक्ने उनी बताउँछन् । “विद्यार्थी त अध्ययन गर्न आएको हुन्छ । यसकारण उसलाई उद्योगको बारे कमै थाहा हुन्छ,” उनी थप्छन्, “तर उनीहरुलाई सही मार्ग देखाउने काम भने विश्वविद्यालय वा एकेडेमियाको हो । यो कुरामा एकेडेमियाले सम्झौता भने गर्नु हुँदैन ।” 

यता क्यान महासंघका अधिकारी प्रविधि अध्ययन गर्ने विद्यार्थीले पाठ्यक्रममा मात्र भर पर्न नहुने विचार राख्छन् । उनका अनुसार स्वअध्ययन गर्ने विद्यार्थीले चाँडो सफलता प्राप्त गर्ने भएकाले पाठ्यक्रममा भएका बाहेक अन्य सीप सिक्नु जरुरी हुन्छ । त्यस्तै उनी विद्यार्थीलाई विविद कुरामा परामर्श दिनु पर्ने सुझाउँछन् ।

उनका अनुसार नेपालमा यो कुराको पनि अभाव भइरहेको छ । “एकदुई वर्ष जागिर गर्ने, एक/दुई वर्ष कम्पनी खोल्ने अनि फेरि अर्को नयाँ काम थाल्ने जुन परिपाटी छ, यसले अस्थिरता निम्त्याएको छ । यसले विकास हुनमा अवरोध खडा गर्छ,” उनी अगाडि भन्छन्, “यसबारे क्यान, उद्योग, एकेडेमिया, सरकार सबै मिलेर विद्यार्थीलाई उपयुक्त परामर्श दिनु पर्छ । यस सम्बन्धी निरन्तर छलफल तथा बहस गर्नुपर्छ ।” 
 

एकेडेमिया र उद्योगको अन्तरको समाधान

यो कुराको अन्तर कम गर्न उद्योग, एकेडेमिया र सरकारले मिलेर काम गर्नु पर्ने डीन प्रा. डा. पोखरेल सुझाउँछन् । “आफूलाई के चाहिन्छ भन्ने कुरामा उद्योग प्रष्ट हुनुपर्छ । यस्तो प्रकारको अध्ययन गरिदेउ भनेर उद्योगले एकेडेमियालाई भन्नुपर्छ,” उनी भन्छन्, “त्यस्तै सरकारले एकेडेमियालाई अध्ययनअनुसन्धान गर्न सहयोग गर्नुपर्छ । यसरी यो अन्तर कम गर्न उद्योग, एकेडेमिया र सरकार तीनै पक्षसँगै जानुपर्छ ।” 

त्यस्तै पोखरा विश्वविद्यालयका डीन प्रा. ठगुराथी पाठ्यक्रममा हुने इलेक्टिभ कोर्षलाई प्राथमिकता दिनु पर्नेमा जोड दिन्छन् । “पाठ्यक्रम परिमार्जन गर्न ढिलो हुन्छ । तर इलेक्टिभ कोर्षलाई आवश्यकताअनुसार परिमार्जन गर्न सकिन्छ,” उनी थप्छन्, “यसबाट पाठ्यक्रममा नभएका तर उद्योगमा आवश्यक पर्ने सीप विद्यार्थीलाई दिन सकिन्छ ।” 

नास्टका डा. ढकाल भने यो अन्तर कम गर्न दुवैले आफ्ना समस्या र कुराहरु शेयर गर्ने संस्कार विकास गर्नु पर्ने बताउँछन् । “त्यसो हुँदा कहाँ के भइरहेको थाहा हुन्छ । जसले अगाडि बढ्न सहज बनाउँछ,” उनी भन्छन्, “तर त्यो नै नहुँदा एकअर्काको कुरा थाहा हुन्न ।” योसँगै अन्तर कम गर्न विश्वविद्यालयका पाठ्यक्रमहरु समयानुकूल परिमार्जन गर्नुपर्ने उनी सुझाउँछन् । 

क्यान महासंघका अधिकारी भने सबैले राष्ट्रिय हित सोचे यो अन्तर कम गर्न सकिनेमा विश्वस्त देखिन्छन् । “यहाँ सबैले आफ्नो मात्र स्वार्थ हेर्ने अवस्था छ । कलेजको आफ्नै स्वार्थ छ । विश्वविद्यालयको आफ्नै स्वार्थ छ । उद्योगको आफ्नै स्वार्थ छ,” उनी भन्छन्, “साझा स्वार्थको लागि को लाग्ने ? यहाँ त नातावाद/कृपावादको पनि समस्या छ । हामी व्यक्तिगत स्वार्थभन्दा माथि उठ्न सकेका छैनौं । यदि राष्ट्रिय हित लागि एकीकृत भएर काम गर्ने हो भने धेरै कुराको समाधान गर्न सकिन्छ ।” 

उद्योग र एकाडेमियाको अन्तर कम गर्न शिक्षकलाई दिने तालिमको मात्रा समेत बढाउनुपर्ने उनी मत राख्छन् । “नेपालमा शिक्षकलाई दिइने तालिमको मात्रा जति हुनुपर्ने हो त्यति भएको छैन । हुन त गरिरेका छौं, तर पर्याप्त मात्रामा छैन, ” उनी भन्छन्, “शिक्षकलाई विभिन्न तालिम दिँदा बजार र नयाँ प्रविधिबारे अप-टु-डेट हुन सकिन्छ ।” 

उद्योग र एकेडेमियाबीचको अन्तर गर्न दुवै पक्ष लाग्नु पर्ने फ्यूजमशिनकी पाण्डे बताउँछिन् । उनी फ्यूजमशिनले ‘एआई फेलोशिप प्रोगाम’ नामक कार्यक्रमबाट एआई कक्षा सञ्चालन गरिरहेकाे बताउँछिन् । उनका अनुसार याे कार्यक्रम उद्योग र एकेडेमियाको अन्तर कम गर्न तयार पारिएको हो । 

“२०१७ मा लञ्च भएको एआई फेलोशिप प्रोगामबाट हालसम्म ८०० बढी जनशक्ति तयार भइसकेका छन्,” उनी अगाडि थप्छिन्, “त्यस फेलोशिप अध्ययन गरेका कतिले फ्यूजमशिनमा नै काम गरिरहेका छन् । त्यस्तै केहीले आफ्नै कम्पनी खोलेका छन् ।” 

सबै प्रकारका कम्पनीले एकेडेमियासँग सहकार्य गर्नुपर्नेमा उनी जोड दिन्छिन् । यसले उद्योग र एकेडेमियाबीचमा भएको अन्तर कम हुने उनी बताउँछिन् । 

यो अन्तर कम गर्न एकेडेमियाले विद्यार्थीको आधारभूत तह एकदम बलियो बनाउनतिर लाग्नुपर्ने सफ्टवेरिका कलेजका पौडेल बताउँछन् । “विद्यार्थीलाई आज पढाएको कुरा दुई वर्षपछि सान्दर्भिक नहुन सक्छ,” उनी थप्छन्, “तर उसको पढ्न/सिक्न सक्ने क्षमता, विश्लेषण गर्ने क्षमता, सञ्चार सीप आदि त जहिल्यै सान्दर्भिक हुन्छन् । यसकारण एकाडेमिया यो कुरामा केन्द्रित हुनुपर्छ ।”  

त्यस्तै उनी यो अन्तर कम गर्न कुनै एउटा तालिम दिएर केही नहुने बताउँछन् । बजारमा जाने बेलासम्ममा नयाँ प्रविधि आइसक्ने र उसको सीप काममा नआउने भएकाले एकै प्रकारको तालिम दिनु नहुने उनी तर्क गर्छन् ।

साथै उद्योगले ‘फलानो कलेजबाट आएको विद्यार्थी हो, उसलाई सबै आउँछ’ भनेर आशा राख्न नहुने उनी बताउँछन् । त्यसको साटो कम्पनीमा नियुक्तिपछि तालिमको व्यवस्था अनिवार्य गर्नुपर्ने उनी सुझाउँछन् ।

पछिल्लो अध्यावधिक: फागुन १०, २०७९ १४:३९