close

डिशहोम ग्राहकलाई इन्टरनेटको नयाँ प्रविधि 'आईपीभी सिक्स', यस्ता छन् फाइदा

टेकपाना टेकपाना

फागुन १७, २०७९ १४:४८

डिशहोम ग्राहकलाई इन्टरनेटको नयाँ प्रविधि 'आईपीभी सिक्स', यस्ता छन् फाइदा

काठमाडौं । डिशहोम फाइबरनेटले नयाँ इन्टरनेट प्रोटोकल आईपीभी सिक्स (IPV6) कार्यान्वयनमा ल्याएकाे छ । कम्पनीले अङ्ग्रेजी नयाँ वर्ष २०२३ को सुरुवातबाट आईपीभी-सिक्स प्रविधिमार्फत सेवा दिन थालेकाे छ ।

नेपालमा आईपीभीसिक्स प्रयोग गर्नेमा इन्टरनेट सेवाप्रदायककाे सूचीमा डिशहोम फाइबरनेट जाेडिएकाे छ । 

के हो आईपीभी सिक्स ? 

इन्टरनेटले जसरी काम गर्छ, त्यसमा इन्टरनेट प्रोटोकल एड्रेस अथवा आईपी एड्रेसको मुख्य भूमिका हुन्छ । हरेक डिभाइस तथा उपकरणलाई इन्टरनेटमा कनेक्ट गर्न र अन्य कम्प्युटर, नेटवर्क र डिभाइससँग सञ्चार गर्न आईपी एड्रेस जरुरत पर्दछ । इन्टरनेट प्रोटोकल भर्सन सिक्स (IPV6) त्यसैको नयाँ पुस्ता हो । 

विश्वभर भी-फोर (IPV4) मा उपलब्ध सीमित आईपी एड्रेस वितरण भएर सकिएपछि आईपी भी-सिक्स विकास गरिएको थियो । आईपीभी-फोरमा ३.७ अर्ब युनिक आईपी एड्रेस रहेका छन्, जब कि आईपी भी सिक्समा आईपी एड्रेसको सङ्ख्या ३४०० खर्ब रहेकाे बताइन्छ ।

आईपीभी फोर समाप्त भएता पनि अधिकांश इन्टरनेट सेवाप्रदायक अहिले प्राइभेट एड्रेसिङलाई आधार मानेर नेटवर्क एड्रेस ट्रान्सलेसन (एनएएटी) प्रविधिबाट काम चलाइरहेका छन् । विश्वचर्चित जर्नल एमडीपीआईमा प्रकाशित अनुसन्धान प्रतिवेदनले पनि नेपालको ब्रोडब्यान्ड विस्तारका लागि चालू सरकारी परियोजना तथा सेवाप्रदायकले पुराना उपकरण तथा प्रविधि प्रयोग गरिरहेको तथ्य बाहिर ल्याएको थियो । 

अनुसन्धानले परियोजना कार्यान्वयनका सन्दर्भमा आईपीभी सिक्स प्रविधि आत्मसाथ गर्नु मुलुक, जनता र सेवाप्रदायक सबैको हितमा हुने उल्लेख गरेको छ । आईपीभी सिक्सले संसारभर जोडिएका हरेक उपकरणको सञ्चारका लागि 'युनिक राउटेबल पब्लिक एड्रेस असाइन' गर्न अनुमति दिने भएकाले पनि यसको प्रयोग आवश्यक भएको हो ।

त्यतिमात्रै नभएर एनएटी प्रविधि आवश्यक नपर्ने हुँदा आईपीभी सिक्समा आईपीभी फोरको तुलनामा इन्टरनेट एक्सेस राम्रो हुन्छ । साथै सुरक्षाका दृष्टिकोणले समेत यसलाई बढी प्रभावकारी मानिन्छ । 

त्यसैले अबका दिनमा आईपीभी सिक्स प्रविधि आत्मसाथ गर्नुको विकल्प नभएको विभिन्न अध्ययन प्रतिवेदनले उल्लेख गरेका छन् । त्यसैअनुसार नेपालका इन्टरनेट सेवा प्रदायक विस्तारै आईपीभी सिक्समा जान थालेका हुन् । 

आईपीभी-सिक्सका फाइदा

बढेको एड्रेस स्पेस: आईपीभी सिक्ससँग आईपीभी फोरभन्दा धेरै ठूलो एड्रेस स्पेस हुन्छ । यसले इन्टरनेटमा असीमित संख्यामा डिभाइसलाई सपोर्ट गर्न सक्छ ।

सुधारिएको सुरक्षा: आईपीभीसिक्ससँग 'आईपीसेक' जस्ता बिल्ट-इन सुरक्षा सुविधा हन्छन्, जसले म्यान-इन-द-मिडल र इभड्रपिङ जस्ता आक्रमणबाट जोगाउन मद्दत गर्छ ।

राम्रो पर्मर्फेन्स: आईपीभी-सिक्सले नेटवर्क पर्फर्मेन्स सुधार गर्न सघाउँछ । जस्तै; ट्राफिकलाई प्राथमिकता दिने र प्याकेट खण्डीकरण कम गर्ने क्षमता आईपीभीसिक्समा हुन्छ ।

सरलीकृत नेटवर्क व्यवस्थापन: आईपीभी-सिक्सले नेटवर्क व्यवस्थापनलाई सजिलो बनाउन सघाउँछ । जस्तै; स्वचालित एड्रेस कन्फिगरेसन गर्न यो प्रविधिको भूमिका अपरिहार्य हुन्छ । 

मोबाइल डिभाइस सपोर्ट: आईपीभी-सिक्स मोबाइल डिभाइस सपोर्ट गर्ने किसिमको हुन्छ । यसमा मोबाइल डिभाइसको कनेक्टिभिटी नगुमाई एक नेटवर्कबाट अर्कोमा जान सक्ने क्षमता हुन्छ ।

विश्वव्यापी पहुँच योग्यता: आईपीभीसिक्सले नेटवर्क एड्रेस ट्रान्सलेट (NAT) गेटवेको आवश्यकता बिना नै इन्टरनेटमा सिधा जडान गर्न डिभाइसलाई सक्षम बनाउँछ । यसले संसारको जुनसुकै ठाउँबाट पहुँचयोग्य सेवाहरू प्रदान गर्न सजिलो बनाउने विभिन्न रिसर्चले देखाएको छ ।

पछिल्लो अध्यावधिक: फागुन १७, २०७९ १५:३३