close

सरकारी उदासीनताले नेपालमा स्टारलिङ्क इन्टरनेट आउन सकेनः कांग्रेस सांसद

टेकपाना टेकपाना

बैशाख २२, २०८२ १५:४५

सरकारी उदासीनताले नेपालमा स्टारलिङ्क इन्टरनेट आउन सकेनः कांग्रेस सांसद

काठमाडौँ । नेपालमा स्याटलाइट इन्टरनेट सेवा स्टारलिङ्क भित्र्याउने प्रयास अघि बढ्न नसकेकोमा सांसद राजेन्द्र बजगाईंले असन्तुष्टि जनाएका छन् । सोमबार प्रतिनिधि सभा बैठकमा बोल्दै उनले सरकारको उदासीनताकै कारण यो प्रक्रिया अगाडि नबढेको गुनासो गरे ।

सत्तासीन नेपाली कांग्रेसका नेतासमेत रहेका बजगाईंले आफूले ०८१ कात्तिक २ गते स्टारलिङ्कलाई नेपालमा ल्याउने विषयमा उक्त कम्पनीका प्रतिनिधिसँग भेट गरेको सुनाए । त्यसैगरी, गत मङ्सिरमा प्रधानमन्त्री केपी शर्मा ओली र स्पेसएक्सका मालिक एलन मस्कबिच यस विषयमा कुराकानी भएपनि त्यसलाई कार्यान्वयनमा लैजान सरकारले कुनै ठोस कदम नचालेको उनले आरोप लगाए ।

सैनिक प्रयोजनका लागि पनि स्टारलिङ्क प्रयोग भएको भन्ने आरोपमा सत्यता नरहेको दाबी गर्दै बजगाईंले छिमेकी मुलुकहरूले समेत यसको प्रयोग सुरु गरिसकेको बताए । उनले शिक्षा क्षेत्रलाई स्टारलिङ्कसँग जोड्ने सरकारी योजना नहुनु चिन्ताजनक रहेको उल्लेख गरे । आगामी आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रममा पनि यस सम्बन्धी कुनै योजना नसमेटिएको उनको भनाइ छ।

यसअघि आफूले गोरखाको लाप्राक डाँडामा माइक्रोसफ्टलाई सेल्टर खोल्न दिने प्रस्ताव गरेपनि सरकारले त्यसमा समेत चासो नदेखाएको उनको गुनासो छ । यसरी उच्चस्तरीय पहल र सम्भावना हुँदाहुँदै पनि सरकारले स्याटलाइट इन्टरनेट सेवा भित्र्याउने विषयलाई प्राथमिकता नदिएको सांसद बजगाईंको आरोप छ । यसले दुर्गम क्षेत्रमा इन्टरनेटको पहुँच पुर्‍याउने र शिक्षा लगायत विभिन्न क्षेत्रमा सुधार ल्याउने अवसर गुम्न सक्ने उनको भनाइ छ ।

पछिल्लो अध्यावधिक: बैशाख २२, २०८२ १६:९