close

सकुशल भेटियो हप्तादिनसम्म पानीमा डुबेको आईफोन

टेकपाना टेकपाना

फागुन १९, २०७९ १२:२९

सकुशल भेटियो हप्तादिनसम्म पानीमा डुबेको आईफोन

काठमाडौं । आफ्नो फोन टिकाउ, बलियो वा जस्तोसुकै परिवेशमा पनि सकुशल रहिरहोस् भन्ने चाहना धेरैको हुन्छ । मानिसको यही आवश्यकतालाई मध्यनजर गर्दै थुप्रै फोन निर्माता कम्पनीले स्मार्टफोनमा यस्ता विशेषता समावेश गर्न थालेका छन् । 

मिड-रेन्जदेखि हाइ-इन्ड मोबाइल फोनमा पानी, धुलो, तातो वा चिसोबाट बच्न सक्ने क्षमता हुन्छ । यस्ता विशेषता भएका फोनमध्ये सबैभन्दा अगाडि आईफोन आउँछ । पछिल्लो समय एउटा यस्तै घटना बाहिरिएको छ । ब्राजिलको राजधानीस्थित एउटा तालमा एक विद्यार्थीको आईफोन झरेको थियो जुन एक हप्तापछि सकुशल अवस्थामा भेटिएको छ ।

अन्तर्राष्ट्रिय सञ्चार माध्यम म्याक म्यागजिनका अनुसार फेब्रुअरी ११ मा ब्रेनो राफेइल नामका व्यक्ति ब्राजिलको पारानोवा नामक तालमा घुम्न गएका थिए । तालमा डुलिरहँदा उनले एउटा महिलालाई पानीमा डुबिरहेको देखेपछि उनले तालमा हाम फालेर ती महिलाको उद्धार गरे । 

तर उनको साथमा भएको उनको आईफोन भने तालमा खस्यो । उनलाई सो फोन भेटिन्छ भन्ने अलिकति पनि आश थिएन । तर, त्यसको एक हप्तापछि अर्थात् फेब्रुअरी १७ मा एडिन्हो रोचा नाम भएका पौडीवाज व्यक्ति (पानीमा डाइभ गर्ने व्यक्ति) ले उक्त फोन सात मिटर तल भेटाए ।

"फोन भेटाएपछि मैंले आफ्नो शर्टको पकेटमा राखेको थिए," रोचाले भने, "उक्त फोन कहिलेबाट त्यहाँ थियो मलाई केही थाहा थिएन । मलाई सो आईफोन चल्दैन भन्ने लागेको थियो । तर, जब मैले उक्त फोनको लक कि प्रेस गरे म अचम्ममा परेँ । उक्त फोनले मजाले काम गरिरहेको थियो ।"

त्यसपछि रोचाले फोनको इमर्जेन्सी मेन्युमा गएर उक्त फोन कुन व्यक्तिको हो भन्ने कुरा पहिचान गरेँ । फोन हराएका विद्यार्थीले वेबसाइटमा फोन भेटिएको सूचना देखे अनि रोचालाई सम्पर्क गरे । उक्त आईफोन ती विद्यार्थीको हातमा परेपछि सहजै अनलक गरेर चलाउन सकिने भयो । लाग्थो एक हप्तासम्म पानीमा रहँदा पनि सो फोनलाई केही पनि भएको छैन ।

आईपी ६७ बाट प्रमाणित भएको आईफोन ७ पहिलो वाटर रेसिस्टेन्ट आईफोन हो । उक्त फोन एक मिटर गहिराइ भएको पानीमा ३० मिनेटसम्म राख्दा कुनै असर नपर्ने प्रमाणित भएको थियो ।

यो घटनामा भने आईपी ६८ रेटिङ पाएको आईफोन ११ रहेको थियो । सैद्धान्तिक रूपमा यसको अर्थ आईफोन ११ दुई मिटर गहिराइमा ३० मिनेटसम्म पानीमा पर्दा केही असर पर्दैन भन्ने हो । तर, वास्तविकतामा यो फोन धेरै समय सकुशल रहन सफल भयो ।

एप्पलले हालसालै बजारमा ल्याएको आईफोन १४ प्रोले पनि आईपी ६८ प्रमाणीकरण पाएको छ । कम्पनीले भने यो फोन छ मिटर गहिराइ भएको पानीमा पर्दा कुनै समस्या नहुने दाबी गरेको छ । जसका लागि कम्पनीले एक वर्षको वारेन्टी समेत दिएको छ । 

पछिल्लो अध्यावधिक: फागुन १९, २०७९ १२:३५