close

बहुविवाहलाई प्रोत्साहन गरेको भन्दै पठाओको विज्ञापन रोक्न निर्देशन

टेकपाना टेकपाना

फागुन २३, २०७९ १२:२७

बहुविवाहलाई प्रोत्साहन गरेको भन्दै पठाओको विज्ञापन रोक्न निर्देशन

काठमाडौं । बहुविवाहलाई प्रोत्साहन गर्ने पठाओको विज्ञापन रोक्न विज्ञापन बोर्डले निर्देशन दिएको छ । 

राइड शेयरिङ कम्पनी पठाओको फुड डेलिभरी सेवाको प्रचार लागि कम्पनीले बनाएको भिडिओमा भएका पात्रले बहुविवाह गरेको देखाइएको  छ । 

सो विज्ञापनले बहुविवाहलाई प्रोत्साहन गरेकोले रोक्न निर्देशन दिइएको बोर्डका अध्यक्ष लक्ष्मण हुमागाईँले बताए । 

"बहुविवाहलाई प्रोत्साहन गर्ने पठाओ फुड एप डाउनलोडको विज्ञापन तत्काल रोक्न र तीन दिनभित्र प्रसारण अनुमतिपत्र सहित विज्ञापन बोर्डमा उपस्थित हुन निर्देशन दिइएको छ," उनले बताए ।  

विज्ञापनमा मुख्य पात्रले विवाह गर्न लाग्दा पुरानो प्रेमिका आएपछि उक्त पुरानो प्रेमिकालाई पनि विवाह गर्न राजी भएको देखाइएको छ । साथमा दुलही र दुलहीका बुवाले पनि सो प्रेमिकालाई पनि विवाह गर्न सहमति दिएको देखाइएको छ ।

यो समाचार तयार गर्दासम्म कम्पनीले आफ्नो आधिकारिक युट्युब च्यानलबाट भने उक्त विज्ञापन हटाएको छ भने फेसबुकमा भने अझै पनि उक्त विज्ञापन देख्न सकिन्छ जसलाई याे समाचार तयार पार्दासम्म छ लाख बढीले हेरिसकेका छन् । 

पछिल्लो अध्यावधिक: फागुन २३, २०७९ १४:१०