close

‘अर्को मास प्रिन्टर ल्याउँदै छौँ, सेवाग्राहीले एक साताभित्रै ड्राइभिङ लाइसेन्स पाउँछन्’

टेकपाना टेकपाना

चैत १३, २०७९ १७:१३

‘अर्को मास प्रिन्टर ल्याउँदै छौँ, सेवाग्राहीले एक साताभित्रै ड्राइभिङ लाइसेन्स पाउँछन्’

काठमाडौं । उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ ले अबको आठ महिनापछि बढीमा एक साताभित्र सेवाग्राहीले सवारी चालक अनुमतिपत्र (स्मार्ट लाइसेन्स) पाउने बताएका छन् ।

सोमबार मन्त्रालयको प्रगति विवरण सुनाउन आयोजित पत्रकार सम्मेलनमा उपप्रधानमन्त्री श्रेष्ठले कार्ड छपाई कार्य सहज बनाउन अर्काे मास प्रिन्टर (प्रिन्टिङ मसिन) ल्याउने प्रक्रिया भइरहेकाे जानकारी दिए ।

''अहिले हामीसँग एउटा मास प्रिन्टर छ । दिनमा चार हजार कार्ड प्रिन्ट हुन्छ । अर्को मास प्रिन्टरका लागि सूचना जारी गर्दा एउटा पनि टेन्डर परेन । अर्को सूचना जारी गर्ने तयारी गर्दा अख्तियारले मास प्रिन्टरबारे बुझ्न हाम्रा साथीहरूलाई बोलायो । अहिले बल्लबल्ल अर्को सूचना निकालेका छौँ,'' उनले भने ।

अर्को प्रिन्टर आउन पाँच महिना लाग्ने र छाप्न बाँकी कार्डहरूकाे काम सक्न तीन महिना लाग्ने बताउँदै उनले आठ महिनापछि कार्ड छपाइ र वितरण कार्य सहज हुने दाबी गरे ।

''आठ महिनापछि अवस्था सहज हुन्छ । तीन दिनदेखि एक सातासम्ममा ड्राइभिङ लाइसेन्स सेवाग्राहीकै घरमा पुर्‍याउने वा उपलब्ध गराउने स्थितिमा पुग्छौँ,'' उनले भने ।

 साथै उनले प्रदेश सरकारले पनि आफ्नो आवश्यकता र क्षमता अनुसार मास प्रिन्टर खरिद गर्न सक्ने व्यवस्था ल्याइएको जानकारी दिए ।

पछिल्लो अध्यावधिक: चैत १३, २०७९ १७:१३