close

कनेक्ट आईपीएस मार्फत फागुन महिनामा ३ खर्ब बढीको कारोबार

टेकपाना टेकपाना

चैत १५, २०७९ ८:४६

कनेक्ट आईपीएस मार्फत फागुन महिनामा ३ खर्ब बढीको कारोबार

काठमाडौं । यो वर्षको फागुन महिनामा मात्र नेपाल क्लियरेन्स हाउस लिमिटेडको कनेक्ट आइपीएस प्लेटफर्म मार्फत तीन खर्ब ४० अर्ब रुपैयाँ बराबरको कारोबार भएको छ । 

कम्पनीले मंगलबार सार्वजनिक गरेको 'गैर-नगद करोबार –फागुन २०७९' (NCHL Non-Profit transaction –Falgun 2079) को रिपोर्टमा यस्तो तथ्याङ्क देखिएको हो ।

कम्पनीले सार्वजनिक गरेको रिपोर्ट अनुसार यो फागुन महिनामा कनेक्ट आईपीएसबाट ४१ लाख पटक कारोबार हुँदा तीन खर्ब ४० अर्ब रुपैयाँ बराबरको लेनदेन भएको छ । 

यो रकम माघ महिनाको तुलनामा १० अर्बले बढी हो । यद्यपि फागुन महिनाको तुलनामा माघ महिनामा कारोबारको सङ्ख्या भने दुई लाखले बढी थियो । त्यस्तै गत वर्ष फागुन महिनामा ३४ लाख पटकको कारोबारबाट दुई अर्ब ७५ करोड बराबरको लेनदेन भएको थियो । जुन गत वर्ष सोही महिनाको तुलनामा २३.६३ प्रतिशतले कम रकम हो ।

कनेक्ट आईपीएसमा पनि सबैभन्दा बढी नेपाल पेमेन्ट इन्टरफेस (एनपीआई) बाट कारोबार भएको देखिन्छ । उक्त माध्यमबाट कूल कारोबारको ५८ प्रतिशत कारोबार भएको छ । 

त्यस्तै दोस्रोमा सबैभन्दा बढी वेब प्रयोग गरी २० प्रतिशत कारोबार भएको देखिएको छ । त्यसपछि ११ प्रतिशतका साथ सबैभन्दा बढी कारोबार मोबाइल एपका माध्यमबाट भएको छ । 

गेटवेका रूपमा भने कनेक्ट आईपीएसबाट सात प्रतिशत कारोबार भएको छ भने बैंक शाखाबाट तीन प्रतिशत कारोबार भएको छ । यसैगरी कनेक्ट आईपीएसमा कर्पोरेट पेका माध्यमबाट दुई प्रतिशतको कारोबार मात्र भएको छ ।

 

 

पछिल्लो अध्यावधिक: चैत १५, २०७९ ८:५३