close

बन्द भएको स्मार्ट टेलिकमका ग्राहकले क्षतिपूर्ति पाउलान् कि नपाउलान् ?

टेकपाना टेकपाना

चैत १६, २०७९ १६:५९

बन्द भएको स्मार्ट टेलिकमका ग्राहकले क्षतिपूर्ति पाउलान् कि नपाउलान् ?

काठमाडौं । स्मार्ट टेलिकमले अघोषित रुपमा आफ्नो मोबाइल सेवा बन्द गरिसकेको छ । यस्तोमा कम्पनीका ग्राहक एनसेल र नेपाल टेलिकमको सेवा लिन बाध्य भएका छन् । 

सेवा लिइरहेका २४ लाख १८ हजार २११ ग्राहक कम्पनीको दूरसञ्चार सेवाबाट बञ्जित हुँदा उनीहरूले आफ्नो मोबाइलमा रहेको ब्यालेन्स रकम समेत गुमाउनु परेको छ । 

अर्कोतर्फ नवीकरण गर्न नसक्दा यही चैत मसान्त कम्पनीको लाइसेन्स स्वतः रद्द हुँदैछ । यस्तोमा सरकारी राजस्व, रोयल्टी, फ्रिक्वेन्सी लगायतको दायित्व भुक्तान र ग्राहक व्यवस्थापनका लागि नियामक नेपाल दूरसञ्चार प्राधिकरणले स्मार्ट टेलिकम आफ्नो नियन्त्रणमा लिने तयारी थालिसकेको छ ।

अनुमतिपत्र बहाल नरहेका दूरसञ्चार सेवा प्रदायकको सम्पत्ति व्यवस्थापन नियमावलीको व्यवस्था अनुसार कम्पनीले चालू अवस्थामा सरकारलाई हस्तान्तरण गर्नुपर्ने हुन्छ ।​

नियमावलीको नियम ९ मा "जम्मा पूँजी लगानीको ५० प्रतिशतभन्दा बढी विदेशी व्यक्ति वा सङ्गठित संस्थाको लगानी भएको अनुमतिपत्र बहाल नरहेको सेवा प्रदायकले नेपाल सरकारको स्वामित्व कायम हुने सम्पत्ति र त्यससँग सम्बन्धित दूरसञ्चार पूर्वाधार, संरचना, दूरसञ्चार प्रणाली र दूरसञ्चार सञ्जाल चालू अवस्थामा प्राधिकरणलाई हस्तान्तरण गर्नु पर्नेछ ।"

यो कानूनी व्यवस्था विपरीत कम्पनीले आफ्नो सेवा बन्द गराएको हो । यस्तोमा ती ग्राहकको भविष्य के हुन्छ ? क्षतिपूर्ति पाउँछन् कि पाउँदैनन् ? पाउँछन् भने कहाँबाट कसरी पाइन्छ ? आदि विभिन्न प्रश्न यथावतै छन् । 

अनुमतिपत्र स्वतः रद्द भएपछि स्मार्ट टेलिकमको सम्पूर्ण सम्पत्ति र दूरसञ्चार पूर्वाधार, संरचना, दूरसञ्चार प्रणाली र दूरसञ्चार सञ्जाल प्राधिकरणले नियन्त्रणमा लिनेछ र लिलामीमार्फत बिक्रीको प्रक्रिया अगाडि बढाउनेछ ।

यसरी नियन्त्रणमा लिइसकेपछि प्राधिकरणले व्यवस्थापन समूह मार्फत कम्पनीको सेवा नियमित रुपमा सञ्चालनमा ल्याउनेछ । तर कम्पनीको नियमित आयबाट स्मार्ट टेलिकमको सेवा सञ्चालन हुन सक्ने सम्भावना देखिँदैन ।

यस्तोमा प्राधिकरणले नै सेवा सञ्चालनका लागि आवश्यक रकम व्यवस्था गर्नेछ । वैशाखदेखि स्मार्ट टेलिकमको सेवा सञ्चालन गर्न आवश्यक व्यवस्थापन समूह प्राधिकरणले गठन गरिसकेको छ ।

सोही समूहले स्मार्ट टेलिकमको पूर्वाधार, संरचना, दूरसञ्चार प्रणाली, दूरसञ्चार सञ्जाल तथा बहालमा रहेका कर्मचारीबाट दूरसञ्चार सेवा सञ्चालनमा ल्याउने बताइएको छ । तर व्यवस्थापन समूहले कम्पनीको सेवा नियमित गर्न नसक्ने अवस्थामा प्राधिकरणले स्मार्ट टेलिकमका ग्राहकलाई एनसेल वा नेपाल टेलिकमको सेवामा स्थानान्तरण गर्ने व्यवस्था मिलाउनेछ ।

यदि व्यवस्थापन समूहमार्फत स्मार्ट टेलिकमको सेवा पुनः सञ्चालनमा आइहाले पनि कम्पनीका ग्राहकको मञ्जुरीमा उनीहरूलाई जुनसुकै बखत अर्को सेवाप्रदायकको सेवामा स्थानान्तरण हुने व्यवस्था समेत प्राधिकरणले मिलाउन सक्ने सम्भावना पनि छ । 

लिलाम बिक्री भएको खण्डमा भने प्राप्त गर्ने नयाँ कम्पनीले नयाँ अनुमतिपत्र पाउनेछ र स्मार्ट टेलिकमको सम्पत्ति र सञ्चालनमा रहेको सेवासँगै  ग्राहक पनि सोही कम्पनीमा हस्तान्तरण हुनेछन् । 

पछिल्लो अध्यावधिक: चैत १६, २०७९ १७:०